अलपत्र पत्रेपुल : ६ बर्षमा दुई पिल्लर, सुपरस्ट्रक्चर स्वीकृत गराउन काठमाडौ

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, १८ असार । वि.सं. २०७१ सालमा निर्माण सम्झौता भएर दुई बर्षमा सम्पन्न हुनेगरी काम शुरु भएको घोराही–तुलसीपुर सडकखण्डमा निर्माणाधीन पुल ६ बर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । यस अवधिमा दुईवटा पिल्लर मात्र निर्माण सम्पन्न भएर पुल निर्माण प्रक्रिया अवरुद्ध भएको हो । तर सरकारले पुल निर्माण प्रक्रिया किन रोकिएको भन्ने विषयमा कुनै पनि आधिकारिक जानकारी गराएको छैन ।
यस अवधिमा पुल निर्माणको ठेक्का लगाउने विषयगत कार्यालय मध्यपश्चिम डिभिजन सडक कार्यालयमा ४ जना प्रमुखहरु फेरिइसकेका छन् । तर पुल निर्माणलाई गति दिने सवालमा कुनै पनि कार्यालय प्रमुखको अर्थपूर्ण भूमिका देखिएको छैन । नत काममा ढिलासुस्ती भएको भन्दै निर्माणमा संलग्न कम्पनीलाई कारबाही गर्ने प्रक्रिया नै शुरु भएको छ । मूल्य अभिवृद्धि करसहित ४ करोड ३५ लाख रुपैयाँमा वि.सं. २०७१ साल असोज ११ गते निर्माण सम्झौता भएको सो पुल वि.सं. २०७३ साल असोजमा सक्ने तयारी थियो । तर पिल्लर ठड्याइएपछि निर्माणको काम रोकिएको छ । शंकर मालि निर्माण सेवाले सो पुल निर्माणको जिम्मा लिएको थियो । सो कम्पनीका स्थानीय प्रतिनिधिका रुपमा निर्माण व्यवसायी पदमप्रसाद शर्माले पुल निर्माणको जिम्मा लिएका थिए । पिलर निर्माणको कामसँगै ढलान गर्ने अन्तिम तयारी भइरहेको समयमा सरकारले पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै ढलानको काम रोकेको थियो ।
पुल निर्माण अलपत्र परेपछि पछिल्लो समय डिभिजन सडक कार्यालयको डिइको जिम्मेवारीमा आएका निरज शाक्यले पुल निर्माणमा विशेष चासो लिएको बताएका छन् । ‘पुलको सुपरस्ट्रक्चर डिजाइन फाइनल गर्न काठमाडौं आएको छु, सम्भवतः बर्षा सकिनेबित्तिकै पुल निर्माणको काम शुरु हुनेछ’, शाक्यले भने । यसअघि सरकारी तहबाट भएका कमी–कमजोरीलाई सच्याएर जसरी पनि पुलको सुपरस्ट्रक्चर डिजाइन स्वीकृत गराएर काम शुरु गर्ने पनि डिभिजन प्रमुख शाक्यको अभिव्यक्ति थियो । कम्पनीले दिएको डिजाइनलाई केही परिमार्जन गरी चाँडै नै डिजाइन स्वीकृत गराएर आफू दाङ आउने भन्दै अर्को बर्षा अगावै पत्रेखोलामा पुल निर्माण सम्पन्न भैसक्ने पनि उनको अभिव्यक्ति थियो ।
पुल निर्माणका क्रममा हालसम्म निर्माण सम्पन्न भएका पिल्लरहरु यथावत रहनेगरी माथिल्लो भागको काम मात्र नयाँ डिजाइन अनुसार हुने पनि उनको अभिव्यक्ति थियो । आधा काम गरिसकेको कम्पनीलाई ठेक्का तोडेर अर्कोलाई ठेक्का दिँदा विभिन्न कानुनी समस्या आउने तथा काममा पनि ढिलाइ हुने भएकाले पुरानै निर्माण कम्पनीलाई ठेक्का यथावत राखिने पनि उनले बताएका छन् । ‘निर्माण कम्पनीले बनाएकै स्ट्रक्चरलाई अनुमोदन गरी पुलको फाइनल डिजाइन नक्सा दिइनेछ, काम शुरु भएको ४÷५ महिनामै काम सकिने छ’, डिभिजन प्रमुख श्रेष्ठले भने । काममा ढिलासुस्ती हुँदा ठेक्का तोड्ने सवालमा धेरै कुरा उठे पनि सडक विभागबाटै पुलको फाइनल डिजाइन स्वीकृति प्रक्रियामा ढिलाइ भएपछि पुल निर्माणको काम रोकिएको हो ।

फाइनल डिजाइन पाए ५ महिनामै पुल तयार : निर्माण कम्पनी
यसैबीच पुल निर्माणको जिम्मा लिएको शंकरमाली निर्माण कम्पनीले एकैपटक फाइनल डिजाइन दिएको अवस्थामा ५ महिनाभित्रै पुल सञ्चालनमा ल्याउने जनाएको छ । आफूले ५ पटक सुपरस्ट्रक्चर डिजाइन सडक विभागमा पेश गरेको भए पनि विभागले स्वीकृत नगरेको निर्माण कम्पनीले जनाएको छ । ‘एकपटक होइन, ५ पटकसम्म दिएको सुपरस्ट्रक्चर डिजाइन पनि विभागले स्वीकृत नगर्दा काम रोकिएको हो’, शंकरमाली निर्माण सेवाका स्थानीय प्रतिनिधि पदम शर्माले गोरक्षलाई भने । पछिल्लो समयमा दाङकै सडक डिभिजन कार्यालयले विभागमा अर्थपूर्ण पहल गरेको बताउँदै अब पुल निर्माण प्रक्रियाले गति लिने पनि बताए । ‘अहिले डिभिजन प्रमुखले जसरी निर्माण प्रक्रियालाई गति दिने सन्दर्भमा लागिरहनुभएको छ, त्यसले हामीलाई आशावादी बनाएको छ, अन्तिम नक्सा स्वीकृत गरेर दिएको ५ महिनामा यसअघि ठेक्का सम्झौता भएकै रकमबाट पुल निर्माणको काम सम्पन्न हुनेछ’, निर्माण कम्पनीका प्रतिनिधि शर्माले भने । घोराही–लमही सडक खण्डको कटुवाखोला पुल निर्माण पनि निकै आलोचित बनेको थियो । तोकिएको समयमा पुल निर्माण हुन नसक्दा स्थानीयवासीले निर्माण कम्पनीको कडा आलोचना समेत गरेका थिए । तर निर्माण कम्पनीले भने सडक विभागले नै पार्ट–पार्ट गरेर डिजाइन फेरिरहेकाले निर्माणमा ढिलाइ भएको जनाएको थियो ।
लमही–घोराही–तुलसीपुरका सबै खोलाहरुमा पक्की पुल निर्माण सम्पन्न भए पनि पत्रेखोला, हापुर खोला, सेवार खोलामा पुल निर्माण भएको छैन । जसका कारण सबै खोलामा पक्की पुल निर्माण भए पनि एउटा खोलामा मात्रै पनि बाढी आएको अवस्थामा सबै खोलामा बनेका पुलको पनि कुनै अर्थ नहुने स्थानीयबासीहरुले बताउँदै आएका छन् । यस बर्ष पनि असार १५ देखि नै बर्षातले पत्रेखोलामा आएको बाढीले केही घण्टा सबै सवारी साधनलाई रोकेको थियो ।