सलहबाट बाली जोगाउन स्थानीय नै सक्रिय

  •   
  •  

दाङ, १८ असार । जिल्लामा स्थानीय बासिन्दाको सक्रियताको कारण सलहबाट बालीमा धेरै क्षति हुन पाएन । सलहबाट बाली जोगाउन स्थानीयहरुले उत्साहपूर्णरुपमा काम गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । ‘स्थानीय बासिन्दाहरु जागरुक भएर सक्रियताका साथ काम गर्नुभएको छ’ कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले भने । स्थानीय बासिन्दाहरुको सहयोगले नै धेरै क्षति हुन नपाएको उनको भनाइ रहेको छ ।

सलहबाट बाली जोगाउन स्थानीय बासिन्दाहरूले मकैबाली तथा धानको व्याड राखेको स्थानमा धुँवा बनाउने, भाँडा बजाएर ध्वनि निकाल्ने, सलह समाउनेजस्ता कार्य गरेका थिए । बजार क्षेत्रबाट मानिसहरु सलह समाउन गाउँ–गाउँसम्म पुगेका थिए । यसरी समाएर ल्याएको सलह भुटेरसमेत खाएको पाइयो ।

जिल्लाको ५ सय ९० हेक्टरमा सलह बसेको प्रमुख धितालले बताए । घोराही, शान्तिनगर, तुलसीपुर तथा देउखुरी क्षेत्रमा सलह बसेको ज्ञान केन्द्रले जनाएको छ । ‘सलह बसेको स्थानमा सामान्य देखि धेरै क्षति गरेको जानकारी आएको’ प्रमुख धितालले भने । कार्यालयले जिल्लामा के कति क्षति पु¥याएको छ भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको उनको भनाइ रहेको छ । ‘स्थानीय तहहरुसँग क्षतिको तथ्यांक संकलन गर्ने काम भइरहेको छ अहिले नै यति क्षति पु¥याएको भनेर भन्न सकिने अवस्था छैन’, प्रमुख धितालले भने । स्थानीय तहहरुबाट क्षतिको विवरण आएपछि मात्र यथार्थ जानकारी आउने धितालले बताए । धेरै सलह मकैमा बसेको पाइएको उनको भनाइ रहेको छ ।

त्यसैगरेर तरकारी बाली, फलफूल, धानमा समेत बसेको स्थानीयहरुले जानकारी दिएको ज्ञान केन्द्रले जनाएको छ । सलहबाट बाली बचाउनका लागि सचेत हुन जरुरी रहेको प्रमुख धितालले बताए । ‘अझै पनि ढुक्क हुने अवस्था छैन त्यसैले सचेत हुन जरुरी छ’, प्रमुख धितालले भने । सबैको सहयोगले मात्र सलहबाट हुने क्षति बचाउन सकिने उनको भनाइ रहेको छ ।

सलह व्यवस्थापन गर : मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहहरुलाई परिपत्र गरी सलह किरा व्यवस्थापन गर्न भनेको छ । मन्त्रालयले सलह फोकल विन्दु तोकी केन्द्र तथा प्रदेशमा जानकारी गराउन, स्थानीय तहहरुमा रहेका कृषि शाखाहरुमार्फत कृषकहरुलाई सुसूचित राख्न सहयोग गर्न भनेको छ ।

त्यसैगरेर पावर स्प्रे र विषादिलगायतका वस्तुहरु तयारीमा राख्ने, विषादि छर्ने व्यक्तिलाई पिपिई को व्यवस्था गराउने, विभिन्न सञ्चार माध्यमबाट कृषकहरुलाई सजग रहन र व्यवस्थापन विधिबारे जानकारी गराउने, सलहको सम्भावित प्रवेशका विन्दुहरु साथै उडानको दिशाबारेमा जानकारी लिने र सचेत गराउने, धेरै प्रोटिनयुक्त किरा भएकाले झुण्डहरुलाई जालोको पासोमा संकलन गरी पशुको आहारा बनाउन सकिने, यदि त्यस क्षेत्रमा बस्ने सम्भावना देखिएमा सामूहिकरुपमा कुनै पनि माध्यम (आवाज, धँुवा) आदिबाट बस्न बाधा पु¥याई झुण्डलाई अन्यत्रै मोडिदिन अभियान चलाउन भनिएको छ । यसैगरेर नर्सरी करेसाबारीजस्ता साना क्षेत्रमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि जोगाउने, टनेलभित्रको बालीलाई वरिपरीबाट किरा छेक्ने जालीले बेरेर जोगाउन लगाउने, धानको व्याडमा जाली वा त्रिपाल आदिले जोगाउने र एग्रोभेटहरुलाई सुसूचित एवं तयारी अवस्थामा राख्ने, खेतबारी वा सार्वजनिक स्थान जंगलमा आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने औषधिको प्रयोग गर्न, प्रदेश तथा केन्द्रीय निकायहरुमा सलहको उपस्थितिको बारेमा आवश्यक जानकारी गराउन परिपत्रमा भनिएको छ ।