दाङ, १८ असार । चालु संसदको बर्षे अधिवेशन एक्कासी स्थगित भएको छ । सभामुख, प्रमुख प्रतिपक्षी दलसहितका संसदमा रहेका कुनै पनि दलहरूसँग औपचारिक तथा अनौपचारिक छलफल नै नगरी मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष संसद अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलगत्तै राष्ट्रपति बिद्यादेवी भण्डारीले बैठक अन्त्यको सूचना जारी गरेकी थिइन् ।
कांग्रेसले यसरी संसद स्थगित गर्नुलाई ‘सत्तारुढ दलभित्रको उपज’ भनेको छ । ‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन् तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरुबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद् छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो ।’
त्यसैगरी कांग्रेस सांसद मिनेन्द्र रिजालले भने– ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेर संसदको अधिवेशन अन्त्य गरेको छ । यो दुःखद् हो ।’ कांग्रेसले आफ्नो राजीनामा माग्ने डरले तथा आफूअनुकूलका अध्यादेश ल्याउन सहज हुने सोचका साथ प्रधानमन्त्रीले एक्कासी संसद बैठक स्थगनको सिफारिस गरेको हुनसक्ने आशंका पनि गरेको छ । कांग्रेस सांसद गगन थापाले संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न सरकालाई चेतावनी दिएका छन् । ‘संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन्, कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन्’ थापाले भने– ‘पार्टीभित्रको किचलोको अचानोमा संसदलाई राखियो ।’
पार्टीभित्रै नराम्रोसँग घेराबन्दीमा परेका प्रधानमन्त्री ओलीमाथि चालु संसद बैठकमार्फत पनि राजीनामाको दबाव पर्ने अनुमान गरिएको थियो । यही बुझेर संसद बैठक स्थगित गरिएको हुनसक्ने नेकपाभित्रैका नेताहरूले आशंका गरेका छन् ।
नेकपा स्थायी समिति पनि स्थगित
उता नेकपा स्थायी समितिको चालु बैठक पनि शनिबार बस्नेगरी स्थगित भएको छ । स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीलाई पद छाड्न दबाव परिरहेको छ । अधिकांश नेताहरूले उनको राजीनामा मागेका छन् । ओली यो बैठक पनि छल्न चाहन्छन् । बुधबार एकजना सांसदको निधनका कारण बैठक एकैछिनमा स्थगित गरियो भने बिहीबार दुई अध्यक्षबीच वार्ता गर्ने भनेर दुई दिनका लागि बैठक स्थगित गरियो ।
समर्थनमा प्रदर्शन
आफ्नो राजीनामा माग्ने दुईवटा महत्वपूर्ण संरचनाहरूलाई स्थगित गरेका ओलीले सडकमा भने आफ्नो पक्षमा प्रदर्शन गर्न लगाएका छन् । उनको गृहजिल्ला झापा र काठमाडौंसहित देशका केही स्थानहरूमा ओलीको पक्षमा प्रदर्शन समेत भए । सडकबाट राजीनामा माग्न शुरु नहुँदै उनले समर्थकलाई सडकमा उतारेका हुन् ।
राष्ट्रपतिको सक्रियता
नेकपाभित्रको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय बनाउने प्रयास हुन थालेको छ । स्थायी समितिको बैठकपूर्व निवासमा रात्रिभोजको आयोजना गर्न लगाएर उनलाई नेताहरूसँग भेट्ने अवसर मिलाइयो भने हरेक दिनको बैठकपूर्व प्रधानमन्त्री ओली शितल निवासमै पुगेर राष्ट्रपतिलाई भेट्दै आएका छन् । बिहीबार त अर्का अध्यक्ष प्रचण्डसमेत शितल निवास पुगे । उनी त्यहाँबाट फर्केपछि दुई दिनका लागि बैठक स्थगन गरिएको छ । यो दुई दिनलाई दुई नेताहरूका बीच संवाद गर्ने समय भनिए पनि राष्ट्रपति भण्डारीको चाहनामा विवाद मत्थर पार्न बैठक स्थगित गरिएको अनुमान पार्टीभित्रै नेताहरूले लगाएका छन् ।
‘राष्ट्रपतिले प्रधानमन्त्री तथा अन्य नेताहरूलाई भेट्नु स्वाभाविक हो’, पूर्व राष्ट्रपतिका सल्लाहकारमध्येका एक राजेन्द्र दाहालले भने– ‘तर राष्ट्रपतिसँग प्रधानमन्त्री वा ती नेताको के कुरा भयो भन्ने कुरा जनतालाई थाहा दिइनुपर्दछ ।’ उनका अनुसार त्यहाँ निजी कुराका लागि भेट्ने भन्ने हुँदैन, निजी कुराका लागि भेट्ने प्रक्रिया फरक छ । नेताको हैसियतमा भेट्ने र भेटको कुरा सार्वजनिक नहुने भनेको राष्ट्रपतिलाई अन्य भूमिकाका लागि आग्रह गरिएको वा त्यस्तो भूमिकामा तान्न खोजिएको भनेर बुझ्न सकिने उनले बताए ।