कोइराला शान्ति प्रक्रियाका महानायक : नेता गिरी

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, १८ असार । गिरिजाप्रसाद कोइराला फाउण्डेशन तुलसीपुर नगर समितिले स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ । नगर समिति अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिका उरहरीमा आयोजना गरिएको स्मृति सभामा बोल्दै प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य शंकरप्रसाद गिरीले स्व. कोइरालाको राजनीतिक योगदान शब्द–गुच्छामा वर्णन गर्न नसकिने बताए । प्रमुख अतिथि गिरीले कोइराला नेपाली राजनीतिक आन्दोलन र शान्ति प्रक्रियाका महानायक भएको भन्दै कोइरालाको योगदान युगौंयुगसम्म रहने अभिव्यक्ति दिए ।

‘कार्यकर्ताका रुपमा कोइराला, नेताका रुपमा कोइराला र राष्ट्रनेताका रुपमा कोइरालाको योगदान नेपाली राजनीतिमा कहिल्यै मेटिने छैन’, कोइरालालाई स्मरण गर्दै नेता गिरीले भने । कोइराला सायद प्रथम राष्ट्रपति बनेको भए मुलुकमा पहिलो संविधानसभाले नै नयाँ संविधान जारी गर्न सक्ने अवस्था आउने थियो भन्दै कोइराला सच्चा राष्ट्रनेताका रुपमा पनि चिनिएको बताए । कार्यक्रममा विशिष्ट अतिथि फाउण्डेशनका प्रदेश सदस्य तथा प्रदेशसभा सदस्यका प्रत्यासी केशव आचार्यले कोइरालालाई गणतन्त्रका महानायकको संज्ञा दिँदै कोइरालाको राजनीतिक मार्गबाट नै मुलुकमा गणतन्त्र आएको बताए । कोइरालाको राजनीतिक योगदानको चर्चा जतिसुकै गरे पनि अधुरै रहने पनि नेताहरुले बताएका थिए ।

गिरिजाप्रसाद कोइरालालाई निडर र चतुर राजनेताका रुपमा चर्चा गर्दै मुलुकमा १२ बुँदे शान्ति सम्झौतादेखि शान्ति प्रक्रियामा पनि कोइरालाको नेतृत्वमै टुंगोमा पुगेको अभिव्यक्ति दिएका थिए । कांग्रेस नेता फल्कुदत्त भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कांग्रेस नेताहरु बोधिलाल भण्डारी, देवेन्द्र रिजाल, ताराबहादुर कार्की, हरिहर पौडेल, भक्तबहादुर केसीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नगर सचिव निमबहादुर केसीले गरेका थिए ।