लकडाउनमा बढे आत्महत्या, दिउँसोमा धेरै
नारायण खड्का
तुलसीपुर, १७ असार । लकडाउनको अवधिमा आत्महत्या गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ । दिनरात घरमै बस्दा सिर्जना भएको मानसिक तनावका कारण आत्महत्या बढेको हुनसक्ने सुरक्षा अधिकारीको अनुमान छ । त्यससँगै यो अवधिमा अधिकांशले दिउँसोको समयमा आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
प्रदेश नं. ५ मा चैत ११ गतेदेखि जेठ महिनासम्म आत्महत्या गरेका कूल ३ सय ९३ जनामध्ये सबैभन्दा धेरै १ सय २ जानले दिउँसोको समयमा आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । लकडाउन हुनु अघिका महिनामा यो संख्या निकै कम थियो । ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले प्रदेशको तथ्याङ्क नियाल्दा अधिकांशले दिउँसोको समयमा आत्महत्या गर्ने गरेको जानकारी दिए । मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्म यो अवधिमा १ सय २ जना र विहान ६ बजेदेखि १२ बजेसम्म ९६ जनाले आत्महत्या गरेका छन् ।
बेलुका ६ बजेदेखि मध्यराति १२ बजेसम्म ७२ जना र राति १२ बजेदेखि विहान ६ बजेसम्म ४३ जनाले यो बीचमा आत्महत्या गरेका छन् । वारमा सबैभन्दा बढी विहीवार ५५ जना र सोमवार ५१ जनाले आत्महत्या गरेका छन् । त्यस्तै बुधवार र शुक्रवार समान ५०/५० जना, शनिवार ४३, आइतवार ४१ र मंगलवार सबैभन्दा कम २३ जनाले आत्महत्या गरेका छन् ।
एसएसपी बैदवारका अनुसार यो अवधिमा सबैभन्दा धेरै पासो लगाएर आत्महत्या गर्नेको संख्या रहेको छ । झुण्डिएर २ सय ५८ जना, विष सेवन गरी ५४ र पानीमा डुबेर ९ जनाले आत्महत्या गरेका छन् । चैतमा झुण्डिएर ६० जना र विष सेवन गरी ८ जना, बैशाखमा झुण्डिएर १ सय २ जना विष सेवन गरी १५ जना र जेठमा झुण्डिएर ९६ र विष सेवन गरी ३९ जनाले आत्महत्या गरेको छन् ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार उमेर समूहको आधारमा यो अवधिमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेरकाले आत्महत्या गरेका छन् । यो उमेर समूहका ९१ जनाले चैत ११ देखि जेठ मसान्तसम्म आत्महत्या गरेका छन् । त्यसपछि २६ देखि ३५ वर्ष उमेर समूहका ८९ जना, ३६ देखि ४५ वर्ष उमेरका ५२ जना, ४६ देखि ६० उमेरका २८ जना, ६० वर्ष माथिका २७ जना र १६ वर्ष मुनिका २६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
बैदवारले प्रदेश नं. ५ मा यो अवधिमा सबैभन्दा धेरै कृषकले आत्महत्या गरेको बताए । चैत ११ देखि जेठ मसान्तसम्म १ सय ४४ जना कृषक, ज्यामी÷मजदुरी गर्ने ४५ जना, गृहणी ४३ जना, बेरोजगार ३० जना, विद्यार्थी २९ जना, वैदेशिक रोजगारीका ६ जना, व्यापारी ४ जना, चालक–सहचालक २ जना, कर्मचारी १ जना, राजनीतिज्ञ १ जना र अन्य ९ जनाले आत्महत्या गरेका छन् ।
कृषकतर्फ चैतमा ३९, बैशाखमा ४४ र जेठमा ६१ जनाले क्रमिक रुपमा संख्या बढ्दै गएको देखिएको छ । बितेको अढाई महिनाको अवधिमा पुरुष १ सय ७७, महिला १ सय २९ र अन्य ८ जनाले आत्महत्या गरेका छन् ।
चैतमा महिला २७ र पुरुष ४२, बैशाखमा महिला ३९ र पुरुष ६५, जेठमा महिला ५३ र पुरुष ७० र अन्यमा बैशाखमा ४ र जेठमा ४ जनाले आत्महत्या गरेका छन् ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बैदवारले बिना कुनै कारण आवेशमा आएर अढाई महिनामा १ सय ४१ जनाले आत्महत्या गरेको देखिन आएको जानकारी दिएका छ्न । उनकाअनुसार यो अवधिमा पारिवारिक कलहका कारण ५४ जना, गरिबीका कारण २४ जना, प्रेममा धोका खाएर १६ जना, व्यावसायिक तनावले गर्दा ४ जना, दीर्घ रोगी २२ जना, असफल प्रेम ४ जना र अन्य विविध कारणले थप ४८ जनाले आत्महत्या गरेका छन् ।
प्रहरी बरिष्ठ उपरीक्षक बैदवारले सबैभन्दा धेरै आत्महत्या घरभित्रै कोठामा हुने गरेको जानकारी दिए । यो अवधिमा घरभित्रै १ सय ५४ जना, गोठमा १६ जना, रुखमा ७२ जना र अन्य विभिन्न स्थानमा १६ जनाले आत्महत्या गरेका छन् ।
तथ्याङ्कअनुसार यो अवधिमा सबैभन्दा धेरै तरकारीमा राख्ने विष सेवन गरी ३२ जनाले आत्महत्या गरेका छन् । वीऊविजयनमा राख्ने विषादी सेवन गरी ९ जना, जनावरको जुम्रा मार्ने विषादी सेवन गरी ३ जना, मुना मार्ने विषादी सेवन गरी २ जना, वनस्पतिमा राख्ने विषादी सेवन गरी १ जना र अन्य विविध विषादी सेवन गरी ७ जनाले यो अवधिमा आत्महत्या गरेका छन् ।
करिब अढाई महिनाको अवधिमा गाउँमा बस्ने १ सय ९१ जना र सहरमा बस्ने १ सय २२ जनाले आत्महत्या गरेका छन् । यो बीचमा ९ जनाले आत्महत्या पूर्व सूसाईड नोट पनि लेखेको प्रदेश प्रहरी प्रवक्ता बैदवारले जानकारी दिए । प्रदेश नं. ५ मा चैत ११ गतेदेखि जेठ महिनासम्म ३ सय ९३ जनाले आत्महत्या गरेका छन् । प्रदेश नं. ५ का १२ जिल्लामा ८२ दिनमा ३ सय ९३ जनाले आत्महत्या गरेका हुन । तथ्याङ्क नियाल्दा दैनिक ४ जना बढीका दरले आत्महत्या गरेको देखिएको छ ।
नेपाल सरकारले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग जुझ्न र संक्रमणबाट जोगिन भन्दै चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । चैत ६९ जना, वैशाखमा १ सय १७ जना र जेठमा १ सय २७ जना गरी कूल ३ सय ९३ जनाले आत्महत्या गरेका छन् ।