Goraksha

National Daily

लकडाउन डायरी : म संक्रमित भए एक लाखलाई …

खेमराज रिजाल
दुधरास । नवीनको स्वभाव फेरिएको छ । बानी फेरिएको छ अनि व्यवहार पनि फेरिएको छ । सोमवार साँझको उसको अभिव्यक्ति साँच्चै सुन्नलायक थियो । ‘यदि म संक्रमित भएँ भने, एक लाखलाई जोगाउने छु ।’ कति डराएका थिए सुन्नेहरु, तर नवीनको अभिव्यक्ति एउटा कोरोना संक्रमण जोगाउनेमा उन्मुख थियो ।

रिपुमर्दन गणका सेनालाई कसरी कोरोनाको संक्रमण भयो भन्नेमा उ अपडेटजस्तै थियो । बंगलाचुलीका वडाध्यक्षलाई कसरी कोरोनाको संक्रमण देखियो भन्नेमा पनि उ ढुक्क थियो । त्यसैले त उ पनि कोरोनाको कुनैबेला संक्रमित हुन सकिन्छ भन्नेमा पनि ढुक्क थियो, त्यसै अनुरुपका सावधानी उसले बयान गरिरहेको थियो ।

बंगलाचुलीको वडाध्यक्ष कसरी संक्रमित भए भन्ने विषयमा उसले ती अध्यक्षको जनमैत्री आनीबानी पनि देखिएको थियो । उसले कृष्णनगर बोर्डरबाट गाउँका विचल्लीमा परेकालाई ल्याएर क्वारेन्टाइनमा राखेको थियो । जनताको माई डियर थियो, तर लसफसका कारण कोरोनाको माई डियर हुन सकेन ।

त्यसैगरी सेना कसरी संक्रमित भए भन्ने विषयमा पनि उसको एउटै अभिव्यक्ति थियो, संक्रमित शवलाई संक्रमणरहित तवरले व्यवस्थापन गर्न सकिएन । सेनाको एउटा जवानले खटाएको जिम्मेवारी निर्वाह गर्नै पथ्र्यो, तर स्वास्थ्य सुरक्षाका विषयमा सरकारले आवश्यक उपकरण व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन ।

‘डोन्ट टच मी’– यदि तिमीहरुले यसलाई जोगाउन सकेनौँ भने हामी धेरै संक्रमित हुने छौँ । त्यसैले मलाई नछोऊ, मलाई धक्का मारेर माया नगर, मलाई हात मिलाएर आत्मियता नदेखाऊ अनि विरामी जाँच्ने वहानामा धेरै दबाब नदेऊ’–ऊ आक्रमक भएको थियो, किनकि कोरोनाको संक्रमण स्पर्श र स्वासप्रश्वास प्रक्रियाबाट बढी सर्छ रे । उसले आफू सुरक्षित हुन मलाई नछोऊ भनेको होइन, आफूबाट पनि अरुलाई कोरोना सर्छ भनेर प्रचार पनि गरेको हो । किनकि कोरोना कसरी सर्छ भन्ने विषयमा उसले धेरै जानेको छ, बुझेको छ अनि बुझ्दै पनि छ । तर विश्वभरका वैज्ञानिकहरुले कोरोनाको बानी व्यहोरा थाहा नपाइसकेको अवस्थामा आफू विज्ञ हुन भने चाहेको थिएन नवीन.. ।

थाहा छ, मलाई कोरोना लाग्यो भने एक लाखलाई मैले बचाउने छु । किनकि मसँग फेसबुक छ । मलाई कसरी कोरोना लाग्यो भन्ने विषयमा मैले थाहा पाइसकेको हुने छु, किनकि म यो–यो व्यक्तिको सम्पर्कमा आएको थिएँ । फलानो–फलानो व्यक्तिसँग सँगै चिया पिएको थिएँ । कोरोना संक्रमित आसपासको बस्तीमा मैले एउटा विरामीलाई खुला हातले छोएरै हेरेको पनि थिएँ । त्यसैले पनि मैले भनेको छु, यदि मलाई कोरोनाको संक्रमण भयो भने सबै कुरा तपाईंलाई जानकारी गराउने छु ।

मैले प्रयोग गर्ने शौचालय, मैले खाने तरकारी, मैले चिया खाने पसल, मेरो नजिकका हातै छोएर व्यवहार गर्ने इष्टमित्र, मेरा परिवार सबैलाई मैले इमानदारीपूर्वक जानकारी पनि गराउने छु । किनकि मसँग सूचना प्रविधिको पहुँच छ, फेसबुक, युट्युव, ह्वाट्स् याप र अन्य सामाजिक सञ्जालमा मैले म संक्रमित भएको विषयमा कुनै पनि संकोच नमानी जानकारी गराउने छु ।

म संक्रमित भएँ भने कतै भाग्ने छैन, कुनै सामाजिक भेटघाटमा जाने छैन अनि सामाजिक दूरी कायम गर्नेमा पनि मेरो आफ्नै योजना छ । सरकारले बेड व्यवस्थापन नगरे पनि म सेल्फ आइसोलेशनमा हुने छु । नवीन बोल्दै गर्दा तुलसीपुर उपमहानगरपालिकाका एक जना वडाध्यक्ष पनि संक्रमित भएको खबर आयो । उसले फेसबुकमा देखाइरहेको थियो । कारण पहिचान गरिसकेको थियो, कालाखोलाको क्वारेन्टाइनमा जनप्रतिनिधि संक्रमितसँग नजिकिए । तीन जना वडाध्यक्षसँगै थिए, त्यस दिन । शंका लागेर स्वास्थ्य परीक्षण गरिएकोमा अन्य दुई जनामा भने कोरोनाको संक्रमण देखिएन । नवीन फेरी झस्कियो, रामदेवले त कोरोनील औषधि कोरोना संक्रमितका लागि प्रस्ताव गरेका थिए, तर उनकै अनुयायी फेरि किन संक्रमित भए ?

नवीनले स्पष्ट बुझेको छ, कोरोनाको औषधि छैन । जोगिने उपाय भने धेरै छन् । त्यसैले पनि उनले आफू जोगिने र आफू यदि संक्रमित भएको अवस्थामा यो–यो कारणले संक्रमित भएको फेसबुक वालमा लेख्ने बताए ।

फेरि अर्को प्रसंग थियो नवीनको । सरकारका आसेपासे त जे पनि गर्छन्, आफूमा भएको संक्रमण लुकाउने मात्र होइन, कोरोनाका नाममा अचुक सम्पत्ति आर्जन गर्ने पनि छन् । अहिले संसद सचिवालयदेखि सरकारी अधिकारीहरुसम्म पनि रिमुभ कार्ड प्रयोग गरिरहेका छन् । स्वयम् स्वास्थ्यमन्त्रीका आफन्त नै यस्तो गतिविधिमा लागिरहेका छन् भने सरकारले लकडाउनको अवधि तन्काइरहेको अवस्थाले नतिजा के दिन्छ ? स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यका लागि घातक भनिरहेको रिमुभेवल कार्ड स्वयम् स्वास्थ्यमन्त्रीका आफन्तले खुलेआम बेचिरहेको अवस्थामा सरकारको भूमिकालाई जनताले कसरी विश्वास गर्ने ?

यदि मेरो चाहना भएजस्तै मुलुकभरका कम्तिमा चौध हजार संक्रमितले एक व्यक्ति एक लाखका दरले सचेतना दिन सके चौध करोडलाई कोरोना लाग्ने छैन । अबको उपाए सरकारले के–के गर्छ भन्ने होइन, हामीले के–के गर्ने मात्रै हो । किनकि सरकारको चाला देखिइसकेको छ । मलाई रिसिभ गर्न देवराज आइपुग्दा नवीनले वीट मारेको थियो । यहाँ आए पनि मसँग नछोइनुहोला ।