Goraksha

National Daily

५० जिल्ला पुग्यो सलह

दाङ, १७ असार । नेपाल प्रवेश गरेको ५ दिनमा सलह किरा नेपालका ५० ओटा जिल्लामा पुगेको छ । कृषि तथा पशुपक्षी मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादि केन्द्रका अनुसार अहिलेसम्म नेपालका विभिन्न ५० जिल्लामा थोरै तथा धेरै झुण्डमा गरी सलह फैलिसकेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादि केन्द्रले वायुको गति परिवर्तन भएकाले भारतबाट नेपालमा सलहका थप झुण्ड आउँदै गरेको पनि जनाएको छ ।

भारतको भागलपुर तथा मोतीहारी क्षेत्रमा रहेको सलहका झुण्ड नेपाल आउन सक्ने सम्भावना केन्द्रले औंल्याएको छ । अबको तीन दिन देशभरी सोही गतिको वायुको प्रभाव हुने मौसम विज्ञान विभागले पनि पूर्वानुमान गरेको छ । यो अवस्थामा भारतका सीमावर्ती क्षेत्रमा सलहका झुण्ड हावाको बहावसँगै पूर्वबाट पश्चिमतर्फ आउन सक्ने सम्भावना प्रवल रहेको केन्द्रले उल्लेख गरेको छ । सोही आधारमा सलहको झुण्ड तराई, भित्रीमधेश तथा तल्लो पहाडी क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेकाले किसानलाई सजग रहन केन्द्रले आग्रह गरेको छ ।

यसअघि नै नेपाल आइसकेका सलहले किसानले लगाएको खेतीमा क्षति पु¥याउन शुरु गरेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रअन्तर्गतको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुबेदीले सलहले मकै, धान, केरा खेतीमा क्षति पु¥याएको सीआईएनलाई जानकारी दिए । क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन । रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको सलहको समूहलाई हटाउन किसानहरुलाई समस्या परेको छ । सरकारले सलहको नियन्त्रणको लागि सम्पूर्ण तयारी गरिसकेको जनाएको भए पनि सलहले मकै र धान खेती नष्ट गर्न थालिसकेपछि पनि यसलाई कसरी नियन्त्रणमा लिने भन्नेमा सरकारले अझै ठोस् कदम चाल्न सकेको छैन ।

सलह मार्नका लागि दमकल तथा ड्रोनबाट बिषादि छर्कन विज्ञले सरकारलाई सुझाब दिएका छन् । तर बिषादि छर्कने बिषय पनि अप्ठेरो भएको सुबेदी बताउँछन् । ठूलो समूहमा बिषादि छर्कन सकिन्छ, तर बिषादि नजिक बस्ती नरहेको स्थानमा मात्रै छर्न सकिन्छ’, उनले भने– ‘सलहलाई नियन्त्रण गर्न खोज्दा उल्टै मानव बस्तीमा जोखिम हुनसक्ने तिर पनि ध्यान दिनुपर्ने हुन्छ । सानो समूहमा रहेको सलहलाई कुनै उपायले उडाउने वा समाउने गर्नु नै उत्तम देखिएको छ । जथाभावी बिषादि छर्दा मानव स्वास्थ्यमा असर पर्न सक्छ र पाक्न लागेको तरकारी तथा अन्न बालीमा बिषादि छर्दा झनै समस्या हुन सक्ने पनि बिज्ञहरुले बताएका छन् ।

काठमाडौंको टोखा नगरपालिकासहित देशका बिभिन्न स्थानमा फैलिएको सलह नियन्त्रणको लागि स्थानीय सरकारले आ–आफ्नो किसिमले तयारी र सर्तकता अपनाउन नागरिकलाई आग्रह गरिरहेका छन् । खेतबारीमा थाल, टिन, मादल बजाउने, ठूलो आवाज आवाज निस्कने साधन बजाउने, आगो बालेर धुवाँ निकाल्ने, खेतको दुई छेउमा बसेर डोरी हल्लाउने जस्ता काम गरेर पनि सलहलाई भगाउन सकिने भएकाले नागरिकले यसै गरिरहेका छन् । सलह बढी प्रोटिनयुक्त हुने भएकाले जाल वा पासोको प्रयोग गरी वा हातले टिपी हाँस तथा कुखुराको दानाको रुपमा प्रयोग गर्न पनि सकिने भएकाले स्थानीय तथा प्रदेश सरकारले सलह नियन्त्रण गरेर ल्याउनेलाई रकम दिने घोषणा पनि गरेका छन् ।

तर लाखौको संख्यामा रहेको सलह किरालाई समाएर नष्ट गर्न सम्भव नहुने भएकाले यसको नियन्त्रणको लागि भरपर्दो विकल्प छानेर प्रयोगमा ल्याउन सरकारलाई किसानहरुले माग गरेका छन् । फौजी किराले मकै नष्ट गरेपछि यसै पनि चिन्तामा रहेका किसान सलहले बाली सखाप पार्न थालेपछि भोकमरी आउँछ कि भन्ने चिन्तामा छन् ।