वडाध्यक्ष डाँगीलाई आक्रमण गरेको आरोपमा तीनजना पक्राउ
तुलसीपुर, १७ असार । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । वडा कार्यालयमा बसिरहेको अवस्थामा अनाधिकृतरुपमा प्रवेश गरी ज्यान मार्ने उद्देश्यले फलामको रड, लाठीले प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा संलग्न रहेको भन्दै तीनजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीले शान्तिनगर गाउँपालिका वडा नं. ४ घर भई हाल तुलसीपुर–५ बस्ने २९ बर्षीय अर्जुन शाही, शान्तिनगर–२ निवासी इन्द्रबहादुर वली र शान्तिनगर–३ भलानेटी बस्ने रेशमबहादुर विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन् । घटनामा संलग्नहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ । मंगलवार विहान डाँगीलाई कार्यालयमा प्रवेश गरी कुटपिट गरिएको थियो । गम्भीर घाइते डाँगीको हाल काठमाडौंको हेम्स अस्पतालमा उपचार भइरहेको छ ।
