Goraksha

National Daily

शील कि ओपन ? कन्ट्रयाक्ट ट्रेसिङपछि मात्र

तुलसीपुरमा लकडाउन राउण्ड टेबल

बालाराम खड्का
तुलसीपुर, १७ असार । समुदायमा कोरोना भाइरस संक्रमणको जोखिम कत्ति पनि कम भएको छैन । आर्थिक बर्षको अन्तमा व्यवसायीलाई कारोवार पनि नगरी भएकै छैन । यी दुवै सवालमा तुलसीपुरमा दुईवटा राउण्ड टेवल आयोजना गरिए । तुलसीपुर उद्योग वाणिज्य संघमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, तुलसीपुर च्याम्वर र नेपाल राष्ट्रिय व्यापार संगठनका पदाधिकारीहरुको संयुक्त बैठकले तुलसीपुर बजार जसरी पनि असार मसान्तसम्म सहजरुपमा खोल्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासनलाई आग्रह गरियो ।

उता, उपमहानगरपालिकाले भने तुलसीपुर वडा नंं. ७ का वडाध्यक्ष टोपबहादुर केसीलाई कोरोना पोजेटिभ देखिएसँगै वडा कार्यालय शील गरिएको छ । उनका परिवारको पनि कन्ट्रयाक्ट ट्रेसिङ गरिँदैछ भने उपमहानगरपालिकाको कार्यालयलाई पनि सेनीटाइज गरिएको छ । कन्ट्रयाक्ट ट्रेसिङको रिपोर्ट हेरेर मात्रै बजार खोल्ने वा शील गर्ने मनस्थितिमा स्थानीय सरकार रहेको छ । हेरौं तुलसीपुर बजार खुल्ला कि शील होला । ‘संक्रमण फैलिएकै अवस्थामा बजार मात्र होइन, बैंक, विद्युत र आन्तरिक राजश्व कार्यालयलाई समेत शील गरिनुपर्दछ, अन्यथा व्यापार मात्रै बन्द गरेर कुनै अर्थ छैन’, तुलसीपुर उद्योग वाणिज्य संघमा बुधवार विहानको संयुक्त व्यवसायीहरुको छलफलमा संघका अध्यक्ष बीरु रावतले भने । छलफलमा असार मसान्त आम व्यवसायीहरुको महत्वपूर्ण पर्व भएकाले खाता बन्द र नयाँ सञ्चालनका लागि पनि बजार खुल्नुपर्ने व्यवसायीहरुको धारणा थियो ।

छलफलकै क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनकप्रसाद खरालले आफू कुुनै पनि पक्षमा बजार बन्द गर्नुपर्दछ भन्नेमा नरहेको अडान राखेका थिए । ‘स्थानीय सरकार र स्थानीय प्रशासनले असार मसान्तसम्म पनि बजारलाई खुल्न नदिए व्यवसायीहरु सडकमै आउन पनि सक्छन्’, खरालको चेतावनी थियो । छलफलकै क्रममा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले पनि बजार खोल्नुपर्ने व्यवसायीको मागलाई स्थानीय सरकारले पूर्णतः सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

निवर्तमान अध्यक्ष विमल रिजालले कोभिडलाई परास्त गर्दै असार मसान्तसम्म बजार खुल्ला गराउनुपर्ने बताएका थिए । अहिले बजार जुनरुपमा खुलेको छ, त्यसलाई कम्तीमा पनि साँझ ५ बजेसम्म लैजानुपर्ने पनि व्यवसायीहरुको धारणा रहेको थियो । ‘कोरोनाको संक्रमणबाट जोगिएरै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्दछ, किनकि असार मसान्तलाई हामीले जसरी पनि सहजरुपमा धकेल्नु छ’, निवर्तमान अध्यक्ष रिजाल भन्छन् ।

युवा व्यवसायी दामोदर भण्डारीको अगुवाईमा सर्वपक्षीय व्यवसायी वार्ता उद्योग वाणिज्य संघकै कार्यालयमा भएको थियो । सबै व्यावसायिक संगठनका प्रतिनिधिहरु सम्मिलित वार्ताले बजारलाई सहज बनाउने मात्र होइन, व्यावसायिक एकतालाई नै मजबुत पनि बनाएको सन्देश पनि बाहिर आएको छ । ‘अब यो र त्यो संगठनका नाममा एकले अर्कोलाई बदनाम गर्ने अभ्यास हुने छैनन्’, युवा व्यवसायी भण्डारीले भने । दिउँसो १२ बजेसम्म मात्र खोल्दाभन्दा दिनभरी खोल्न सकिए भीडभाड पनि कम हुने तथा सामाजिक दूरी कायम गरेरै पनि व्यापार व्यवसाय सञ्चालन सहज हुने पनि राउण्ड टेवलको निष्कर्ष थियो ।

रोकी हेरी जाऔं

उता नगरपालिका राउण्ड टेबलमा भने रोकी हेरी जाऔंको अभ्यास शुरु भएको छ । किनकि नगरप्रमुखलाई अन्य जनप्रतिनिधि र गाउँका नागरिकहरुले पनि बजारलाई टाइट गर्न सुझाव दिइरहेका छन् । त्यसमा पनि वडाध्यक्षलाई नै संक्रमण देखिएपछि भोलि कसरी जाने भन्ने आन्तरिक तयारीमा उपमहानगरपालिका लागेको छ । ‘बडालाई बुधवारदेखि शील गरिएको छ, उपमहानगरपालिकामा पनि सेनिटाइज भइरहेको छ, खुल्ने कि बन्द गर्ने विषयमा सम्भवतः भोलिसम्म निक्र्यौलमा पुग्ने छौं’, नगरप्रमुुख घनश्याम पाण्डेले भने । संक्रमित वडाध्यक्षका परिवारको पनि पिसिआर परीक्षणका लागि स्वाब निकालिसकिएको भन्दै संक्रमण अन्य व्यक्तिमा फैले–नफैलेको अवस्था हेरेर निर्णय लिन सकिने पनि उनको अभिव्यक्ति थियो ।

साथै उनले आफू पनि कोभिडको संक्रमणलाई परास्त गर्दै बजार खोल्ने पक्षमा रहेको बताए । तर संक्रमण फैलिएको अवस्थामा भने बजार खोल्न नसकिने पनि उनको अभिव्यक्ति थियो । त्यसैले अहिले उपमहानगरपालिका कन्ट्«याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने अभियानमा छ । सम्भवतः संकलित स्वाबको रिपोर्ट बिहीवारसम्म आइपुग्ने र त्यसपछि मात्र बजारलाई कसरी नेतृत्व गर्ने भन्नेमा उपमहानगरपालिकाले अर्थपूर्ण निर्णय लिने छ ।

अहिले तुलसीपुर बजार पनि हिजोजस्तो छैन । बैंकका म्यानेजरहरुदेखि अन्य सरकारी कार्यालयका कर्मचारीहरुले समेत स्थानीय सरकारको निर्णयलाई कुरिरहेका छन् । उपमहानगरपालिकाभित्र प्रवेशमा कडाइँ गरिएको छ । गेटमै गन थर्मामिटर र सेनीटाइजर व्यवस्थापन गरिएको छ । संक्रमण फैलन सक्ने भन्दै केही दिनलाई भए पनि शील गरेर सबैको चेकजाँच गर्नुपर्ने स्वास्थ्य शाखाका अधिकारीहरुले सुझाइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार ती वडाध्यक्षले यो अवधिमा झण्डै ४० जनाको सम्पर्कमा आएको नामावली दिएको हुँदा ती व्यक्तिहरुको खोजी शुरु भएको बताए ।