Goraksha

National Daily

नेकपा स्थायी समिति : दबावमा पारिदै ओली

गोरक्ष समाचारदाता
दाङ, १७ असार । सत्तारुढ नेकपाको चालु स्थायी समितिको बैठक जुनरूपमा अगाडि बढिरहेको छ त्यसमा पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट छैनन् । बैठकको पहिलो दिन एकोहोरो धारणा राखेका उनी दोस्रो दिनको बैठकमा धेरै बेर बसेनन् । त्यसको निकै आलोचना भएपछि तेस्रो बैठकमा बसे । बुधबारको बैठक भने ५ जना नेता बोलेपछि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । केपी ओलीका लागि बैठक स्थगत गर्नुपर्ने बाध्यात्मक अवस्थाले पक्कै केही राहत महसुस भएको हुनुपर्छ । यो बीचमा प्रधानमन्त्री ओलीले आफ्ना पक्षीय नेताहरूका साथै आफूइतरका नेताहरूसँग पनि भेट गरिरहेका छन् । ती भेटमा उनले आफ्नो पीडा पोख्ने र आफूलाई आफै सान्त्वना पनि दिने गरेको भेटेर फर्कने नेताहरूको प्रतिक्रिया रहेको छ ।

चालु बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीको समीक्षा मात्रै भइरहेको छैन, दुबै पदबाट उनको राजीनामा समेत मागिएको छ । गत मंगलबारको बैठकमा बोल्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १७ जना स्थायी समिति सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । त्यो बैठकमा ओलीको बचाउमा मन्त्रीहरूसमेत बोलेनन् । त्यसपछि ओलीले आफू निकट भनिनेहरूप्रति पनि अविश्वास व्यक्त गर्न थालेका छन् । पार्टीभित्रबाट अर्का अध्यक्षसहितका जिम्मेवार नेताहरूले ओलीकोे राजीनामा मागिरहेको पृष्ठभूमिमा एउटा कार्यक्रममा बोल्दै ओलीले ‘भारतले आफूलाई हटाउन चाहेको’ अभिव्यक्ति दिएका थिए ।

यो अभिव्यक्ति आफूहरूप्रति लक्षित हो कि भन्ने आशंकाका साथ प्रचण्ड–माधव समूहले ओलीमाथि थप दबाव सिर्जना गर्ने रणनीति लिएका छन् । ‘बुधबारको बैठकले एउटा पिक्चर निर्माण गर्ने अपेक्षा थियो’, नेकपाका एक नेताले भने– ‘सांसदको निधनका कारण बैठक स्थगन गर्नुप¥यो, बिहीबारको बैठक पनि सायद महत्वपूर्ण नै हुन्छ होला ।’

निकटस्थहरूका अनुसार ओलीले राजीनामा मागेर आफ्नो अपमान गरिएको महसुस गरेका छन् । यद्यपि पार्टीका अर्का नेता झलनाथ खनाल प्रधानमन्त्री भएको समयमा ओलीले पार्टीका बैठकमा मात्र हैन, आमसभाहरूमा पनि ‘झलनाथ सरकार जति लम्बिन्छ, पार्टी र देशलाई उति क्षति हुन्छ’ भन्दै हिँडेका थिए । यो प्रशंग खनालको स्मृतिमा पक्कै छ । ‘त्यसकारण पनि ओलीमाथि दबाव हाल्न सबै नेताहरू एक भएका छन्’, स्रोतले भन्यो ।

बुधबार बिहान बालुवाटारमा आफूनिकट दर्जन बढी स्थायी समिति सदस्य र मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले ‘राजीनामा मागेर आफ्नो अपमान गरेको’ भन्दै चित्त दुखाएका थिए । ‘यसरी अपमान गर्दा गलत परम्पराको विकास हुनेछ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सहभागीले भने । ‘साथीहरूले मेरो राजीनामा माग्नुभएको छ । मैले राजीनामा दिएर के हुन्छ ? पार्टी र सरकार कसरी अगाडि बढ्छ ?’ उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने– ‘मलाई अपमानित गर्ने काम भयो ।’ छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्र विश्वासको संकटसमेत बढ्दै गएको बताएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

त्यहाँ सहभागी भएकाहरूले ओलीलाई ‘खुट्टा नकमाउन’ सुझाव दिएका छन् । उनीहरूले पार्टी अध्यक्षबाट हटाउन महाधिवेशन र प्रधानमन्त्रीबाट हटाउने हो भने संसदीय दलबाट हटाउनुपर्ने हुँदा स्थायी समितिको बैठकसँग डराउन नपर्ने तर्कका साथ ओलीलाई सान्त्वना दिएको सहभागी एक नेताले भने । स्थायी समिति बैठकले अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन सक्ने कुनै प्रावधान नरहेको तर्क पनि उनीहरूले गरेका थिए । यता प्रचण्ड–माधव पक्ष भने ओलीलाई थप दबाव सिर्जना गर्दै कम्तीमा एक पद छाड्न लगाउने अवसरको रूपमा यो परिस्थितिलाई लिने रणनीतिमा छन् । ‘अवस्थालाई अझै पेचिलो बनाउने र कम्तीमा एउटा पदबाट हटाउने कुरामा छलफल भइरहेको छ’, माधव नेपाल निकट एक नेताले गोरक्षलाई भने ।