Goraksha

National Daily

प्यूठान हुँदै दाङ आयो सलह : ‘हे भगवान ! सलहको कुरै नगर्नुस्’

गोरक्ष समाचारदाता
दाङ, १६ असार । प्यूठानको आकाशमा सलहको लस्कर देखिएको छ । पहिलोपटक सलहको लस्कर देख्दा स्थानीयले अनौठो मानेर हेरिरहेका छन् । ‘तल बालीमा आएर बसेको त छैन, तर फाटफुट रूपमा तल पनि खसी रहेका छन्’, सारङ्बेशीका स्थानीय टोपबहादुर केसीले भने– ‘यत्रो लस्कर त कहिल्यै देखिएको थिएन ।’

उनका अनुसार आकाशै ढाक्नेगरी देखिएको सलहको जत्था एकनासले हिँडिरहेको छ । ‘तपाईको दाङतिर जाँदै छ यहाँबाट त’ टेलिफोनमा कुरा गर्दै उनले भने– ‘यहाँ मानिसहरूले बाहिर निस्केर हल्ला गरे, थाल बजाए अन्य आवाज निकाले, सायद त्यही भएर हो कि ? यहाँ बसेनन् ।’ टोपबहादुरसँग दिउँसो १ बजेतिर कुराकानी भएको थियो । कस्तो मान्नुभयो त सलह देखेर भन्दा उनले भने– ‘हे भगवान, सलह भनेको त यस्तो होरैछ कि कुरै नगर्नुस् । बाजे बुढाबाजेले भनेको सुनेको, यो पटक त आफै देखियो अचम्म लाग्यो ।

सलह बस्यो भने त साँच्चिकै बाली नासै गर्ने रैछ, आकाशबाटै उता जाँदा त त्यो बिजोग देखियो, बसेको भए त यहाँको सत्यानास नै गर्ने रैछ ।’

उनले दाङतिर (त्यहाँबाट पश्चिमतिर) जान थालेको भनेको एक घण्टापछि प्यूठानको बाग्दुलाबासी पत्रकार सञ्जय रिजालसँग सम्पर्क गर्दा उनले सलह त्यसतर्फ गइरहेको बताए । ‘आधा घण्टा भइसक्यो, लसलस उत्तरतर्फ गइरहेको छ सलहको जत्था । माहुरीको हुलजस्तो देखिन्छ तर गति भने त्यति तीव्र छैन । अचम्मै हुँदो रहेछ’, पत्रकार रिजालले भने ।

उनका अनुसार झिम्म्रुक नदीको सिधै माथि आकाशबाट उत्तरतर्फ त्यो जत्था जाँदै छ । सलह हेर्नका लागि मानिसहरू घर बाहिर निस्किएको र ठूलो–ठूलो आवाज निकालिरहेको पनि उनले बताए । ‘सहलबारेमा चर्चा गर्दाको कल्पनाभन्दा पनि फरक लाग्यो’, रिजालले आश्चर्य मिश्रित स्वरमा भने– ‘आधा घण्टा लगातार आकाशमा हुल देखियो । कति धेरै संख्या हो ओहो…!’

विज्ञहरूका अनुसार ८ करोडसम्मको झुण्डमा सलह हिँड्ने गर्छ । तर, नेपालमा आएको सलह त्यसको एउटा टुक्रा मात्र भएको उनीहरूको अनुमान छ । यदि त्यो झुण्ड एकैपटकमा आए एकै दिनमा ३५ हजारलाई पुग्ने अनाज खाइदिन्छ । ‘संख्या गन्न र अनुमान लगाउन त सकिने कुरा भएन, तर संख्याको कुरै नगर्नुस् के, कति हो कति एउटा जत्थामा’ सारङबेशीका केसीले टेलिफोनमा भने । आफू मिल सञ्चालक भएर मिलको आवाजसँगै रहेका कारण सलहको आवाज भने सुन्न नपाएको उनले बताए । ‘गाउँलेहरूले पनि थाली बजाएर आवाज निकालिरहेका कारण आवाज सुनेन् होला’ उनले भने । उता बाग्दुलाका पत्रकार सञ्जय रिजालले भने आवाज ननिकालेर शान्त र एकनासले नदी बगेजस्तै गरी सलहको झुण्ड उत्तरतर्फ लागेका बताए ।

त्यसको एक घण्टापछि अर्थात दिउँसो ३ बजेतिर घोराहीको अकाशमा पनि सलह देखियो । दिनभर घोराहीमाथिको आकाशमा बादल लागेको थियो । बादलको मुनी–मुनी सहलको एकनासको यात्रा झण्डै एक घण्टा जति निरन्तर देखियो । त्यो झुण्ड उत्तरतर्फ जाँदै थियो । ‘सलहको लस्कर देखियो आकाशमा’ गोरक्षलाई दाङको आकाशमा आएका सलहका बारेमा जानकारी दिँदै गणेशराज श्रेष्ठले भने– ‘अथाह संख्या हुने रैछ, हेर्दै अचम्मे लाग्ने ।’ सलह हेर्ने पनि एउटा अवसर भएकाले धेरैलाई फोन गरेर हेर्न भनेको उनले बताए । ‘बाउ–बाजेले सहलको कथा हालेका हामीले पनि देख्न पायौं’, उनले भने । दाङका विभिन्न स्थानहरूमा सलह भगाउन भन्दै आगो बाल्न र हल्ला–खल्ला गर्ने गरिएको थियो ।

दाङमा पनि आइतबार फाटफुटरूपमा सहल देखिएको थियो । तुलसीपुर, घोराहीमा पनि सहल देखिएको बताइएको छ । कृषि ज्ञानकेन्द्रले सहल हो कि अन्य कुनै किरा हो भनेर परीक्षणको लागि पठाएको जनाएको छ । आकाशमा उडेर यात्रामा रहेको झुण्डलाई ठूलो आवाजले तल बस्न नदिने हो भने क्षति नहुने तर कुनै बालीमा एकैपटक त्यो झुण्ड बस्यो भने सखाप नै पार्ने बिज्ञहरू बताउँछन् ।

देउखुरीमा मकैमै बस्यो सलह
देउखुरीमा भने सलह मकैबारीमा बसेको छ । ठूलो समूह मकैबारीमा बसेपछि स्थानीयले थाल बजाउँदै, हल्ला गर्दै सलह भगाउने कोशिस गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा देखिएका छन् । लमही नगरपालिकाको वडा नं. ८ को भौका र निम्बुखुट्टीमा कृषकले लगाएको मकैवालीमा सलहले क्षति गरेको छ । ‘सलहको क्षतिको बारेमा गाउँबाट जानकारी आउन शुरु भएको छ’, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भने– ‘क्षतिको बारेमा जानकारी लिने काम शुरु भएको छ ।’ प्रमुख केसीका अनुसार सलहले सबैभन्दा क्षति भौकामा पुराएको समेत बताए । ‘अझै ठूलो संख्यामा सलह यतै छ’, प्रमुख केसीले भने ।