Goraksha

National Daily

शान्तिनगरका वडाध्यक्षमाथि कार्यकक्षमै आक्रमणको कांग्रेसद्वारा घटनाकोे भत्र्सना

गोरक्ष समाचारदाता
दाङ, १६ असार । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै आक्रमण भएको छ । आक्रमण गर्ने समूहका बारेमा जानकारी हुन नसकेको भए तापनि नेकपा बिप्लव समूहले बिज्ञप्तिमार्फत आक्रमणको जिम्मा लिएको छ । वडाध्यक्ष फर्साराम डाँगीसँग विगत केही दिनयता विप्लवका कार्यकर्ताले फोनमार्फत चन्दा माग्दै आएको बताइन्छ । त्यो कुरा उनले शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीलाई पनि जानकारी गराएका थिए । ‘चन्दा नदिएपछि वडाध्यक्षमाथि यसरी आक्रमण भएको देखिन्छ,’ गाउँपालिकाका अध्यक्ष डाँगीले भने ।

वडाध्यक्षको पारिवारिक स्रोतका अनुसार फोनबाट उनीसँग पटक–पटक चन्दा मागिएको थियो । ‘उहाँले फोनमा चन्दा मागेर धम्की दिने गरेको कुरा गर्दै आउनुभएको थियो,’ परिवारका एक सदस्यले भने– ‘उहाँले चन्दा दिन्न भन्नुहुन्थ्यो ।’ गाउँपालिकाका अध्यक्ष डाँगीले पनि विप्लवका कार्यकर्ताले पटक–पटक जनप्रतिनिधिलाई फोनबाट चन्दा माग्दै धम्की दिने गरेको भन्ने जस्ता कुरा आफूलाई आउने गरेको बताए । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घाइते वडाध्यक्ष डाँगीलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जानकारी दिएका छन् । घाइते वडाध्यक्षलाई मंगलवार दिउँसो हेलिकप्टर चार्टर गरी काठमाडौं पठाइएको उनले बताए ।

वडाध्यक्षमाथि बिहान सवा ११ बजेतिर कार्यकक्षमै १०÷११ जनाको संख्यामा आएका अज्ञात समूहले रड र लाठी प्रहार गरेका थिए । आक्रमणबाट वडाध्यक्षको टाउको, हात–खुट्टा र शरीरका विभिन्न भागमा चोट पटक लागेको छ । डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

घाइते डाँगीको अवस्था बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । ‘यो त राज्यविहीन अवस्थाजस्तै भयो,’ सभापति खड्काले भने– ‘कार्यकक्षमै जनप्रतिनिधिमाथि भएको आक्रमणको जति निन्दा गरे पनि पुग्दैन ।’

दिनदहाडै कार्यालयमै जनप्रतिनिधिमाथि आक्रमण हुनुले यहाँको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको कांग्रेसको प्रतिक्रिया छ । कांग्रेस सचिव शंकरप्रसाद डाँगीले आक्रमणकारी जो सुकै भए पनि तत्काल पक्राउ गर्न माग गरे । कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काले पनि दोषीलाई तत्काल कारबाही गर्न आग्रह गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता केशव आचार्यले विप्लवको नाममा भएको आक्रमणले विप्लवको राजनीतिक निष्ठामाथि नै प्रश्नचिन्ह खडा भएको बताए । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जनप्रतिनिधलाई कार्यकक्षमै आक्रमण गरेको घटनाको जति निन्दा गरे पनि नपुग्ने बताए । ‘यो साह्रै भत्र्सनायोग्य घटना हो,’ डाँगीले भने– ‘विप्लव समूहले समेत यो घटनाको निष्पक्ष छानविन गरेर राजनीतिक चरित्र देखाओस् ।’

घटनास्थलमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिनगर गाउँपालिकाका सेक्रेटरी कमल सिंहको नाममा जारी विज्ञप्ति फेला परेको छ । जसमा उनले वडाध्यक्ष फर्साराम डाँगीमाथि ७ वटा आरोप लगाएका छन् ।