Goraksha

National Daily

भ्रमभित्र पालिएको चाहना

नारायणप्रसाद श्रेष्ठ

समयको परिवर्तनसँगै विकसित हुँदै आइरहेको सभ्यताको विकासले मानवीय चरित्र र आचरणमा निकै भिन्नता देखा पर्दै आइरहेको छ । मानवीय सोच र चिन्तनमा आएको परिवर्तनले मानव चेतना केवल आफू र आफ्नो परिवेशलाई कसरी खुसी र आनन्द बनाउने हो ? त्यसतर्फ बढी केन्द्रित भएको छ । सुख, सुविधा र सम्पन्नता नै जीवनको उद्देश्य हो र आनन्द प्राप्ति नै जीवनको एकमात्र लक्ष्य र गन्तव्य हो भनी मानव आकांक्षाहरु त्यतैतिर सल्बलाइरहेको देखिन्छ, पाइन्छ ।

उसले गर्ने प्रत्येक कर्म र व्यवहारमा कहीँ न कतै अहम्वादी स्वार्थी चिन्तन मुखरित भइरहेको पाइन्छ । यही स्वार्थकेन्द्रित आकांक्षाभित्र पालिएको भ्रमले उसभित्र भौतिक विलासिता नै जीवनको उद्देश्य हो भन्ने गरी प्रदर्शन भइरहेको छ । इच्छा र आकांक्षाभित्र लुकेको आनन्दको अभिलासा उसको हरेक कर्ममा देखा पर्दै गरेको अवस्था छ । यतिमात्रै होइन, सुख प्राप्तिको अभिलाषामा दुःख निवृत्तको कारण पनि खोजिरहेको पाइन्छ । यही सुखको अभिलासाले मानवीय सचेतनामा अभिमान र अहंकार पनि देखा पर्दै गरेको अवस्था छ ।

दुःख निवृत्तिलाई सुखको अनुभूतिसँग गाँसेर हेर्ने हाम्रो जुन प्रवृत्ति वर्तमानमा हावी भइरहेको छ कतै यसै कारण मानिस पतीत भइरहेको त होइन ? आनन्द के हो ? के कारणले आनन्द हुन्छ ? के सुखप्राप्ति नै आनन्द हो त ? के सुखले नै दुःखको निवारण गर्छ ? अहिले प्रत्येक मानव यस्तै यस्तै प्रश्नको घेरामा अलमलिएको छ । विचारमा भ्रम उत्पन्न भएको छ ।

मानिस स्वयं ज्ञानी र विवेकशील जीव हो । ऊ सधै आफू र अरुको लागि आफ्नो कर्म र व्यवहारबाट प्रभावित पार्ने काम गरिरहेको हुन्छ । आफू भलो त जगत् भलो भन्ने मान्यता राखी आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न ऊ सधै लागिपरिरहेको पनि हुन्छ । अरुको सुख, सुविधा र समुन्नति नै हाम्रो जिम्मेवारी हो भनी आफ्नो स्वार्थअनुकूल अरुको भलाईतर्फ केन्द्रिकृत पनि भइरहेको देखिन्छ । यसरी समर्पित हुँदासम्म पनि उसलाई म र मेरो जिम्मेवारी तथा दायित्वले मलाई कुन दिशातिर उत्प्रेरित गरिरहेको छ, त्यो कुराले उसलाई खासै असर नगरिरहेको पनि पाइन्छ ।

सुख, दुःख मानव विचारमा उत्पन्न भएको क्षणिक वासना हो । यस्तो गरेपछि सुख प्राप्ति हुन्छ भन्ने मानसिकता केवल भ्रान्तिमात्र हो । यो कुरा मानिसले नसोचिरहेको अवस्था देखिन्छ । तसर्थ प्रथमतः जीवन एक गतिशील शक्ति हो, यसले उतार–चढाव र अप्ठेरो, सप्ठेरो सबै उसका लागि समान भएर आइरहेको हुन्छ । कहिले खुसी, कहिले दुःखी यो केवल घाम–छायाँजस्तै मात्र हो । जसरी मानव शरीरले आफूलाई छायाँबाट अलग राख्द सक्दैन, त्यसैगरी जीवनले पनि सुख, दुःखसँग अलग रहेर बाँच्न सक्दैन । यी त उसको नित्यकर्ममा भइरहन्छ । त्यसैले यस्ता कुरालाई सहर्ष स्वीकार्दै अघि बढ्नुपर्दछ । मानव मनभित्र न त दुःख छ, न त सुख नै । यो त केवल चेतनाको एक कुनामा रहेको मोहरुपी आकांक्षाले निम्त्याएको क्षणिक भावावेशमात्र हो । न त सुखले जीवन परिपोषित छ न त दुःखले जीवन जेलिएकै छ । यी केवल मानव चाहनाभित्रको भ्रममात्र हो ।

तसर्थ यस कुराको बोध गरी शारीरिक कष्ट हुने गरी प्रत्याभूत हुने दुःखको कारण, लोभ, मोह र अहंकारले ल्याउने सुखको चाहना केवलभित्र पालिएको वासनामात्र भएकाले यस कुराको बोध गर्न जरुरी छ । जीवन न त दुःख हो, न त सुख हो । भौतिक दृष्टिले देखिने सुख र दुःख मनुष्यको बाह्य आवरणमा देखिने स्वार्थपरक चिन्तनले उब्जाएको कारकतत्व मात्र हो, भ्रम हो । शीत, ताप, बर्षाजस्ता प्राकृतिक सत्यबाट प्रदर्शन हुने क्षणिक आनन्द भनेको मनको भ्रान्ति हो ।

त्यसैले मानवीय चिन्तनभित्र गाँजिएका यस्ता चिन्तनलाई यो जीवनमा आउने स्वाभाविक प्रक्रियाभित्रको सत्य हो भन्ने ठानी सुखको लालचमा गल्ली–गल्ली भड्किनु किमार्थ राम्रो सोच होइन । सुख प्राप्तिको चाहनाले भौतारिने मनले दुःखको अनुभूति गर्नु भनेको स्वार्थी चिन्तन हो । तसर्थ प्रत्येक जीवात्माले अन्तरहृदयभित्र रहेको सत्यलाई पहिचान गरी भ्रमभित्र पलाउने चाहनालाई आफ्नो उद्देश्य र अभिन्न अंग बनाउनु हुँदैन ।

क्षमा दिनु साधुको धर्म, उद्देश्य र कर्म हो । उसले जीवनको सार बुझेको हुन्छ । पाप र पुण्यको यथार्थ सत्यभित्र उसले आफूलाई प्रदर्शन गरिरहेको हुन्छ । कस्तै चिसो वा तातो उसको जीवनले कुनै महत्व राख्दैन । उसमा न त केही प्राप्तिको अभिलासा हुन्छ न त कसैलाई झुठ सावित गर्नु उसले बहादुरी ठान्दछ । ऊ सधै एकै किसिमले आफूलाई प्रस्तुत गरिरहेको हुन्छ । उसको चरित्र स्वाभाविकरुपले नम्रतातिर दौडिरहेको हुन्छ । यस्तैगरी जसरी साधुको चरित्र क्षमा दिनु हो भने चोरको चरित्र अरुको सम्पत्ति हडप्नु हो ।

चोरको चाहना भनेको अरुको धन–सम्पत्तिमाथि धावा बोली आफूलाई खुसी बनाउनु हो । तर यदि त्यो चोर चरित्र भएको व्यक्तिको सम्पत्ति अरु कसैले छिनिदियो भने त्यो व्यक्ति आफै क्रोधित बन्न पुग्दछ र अरुमाथि जाइलाग्न खोज्छ । ऊ अत्तालिन्छ र गलित पनि हुन्छ । तर उसलाई यो कुराको अनुभूति हुँदैन जबकि उसले जम्मा गरेको सम्पत्ति उसले अरुको छिनेर, ढाँटेर, छलेर ल्याएको हुन्छ । त्यसैले ऊ दुःखी र पीडित छ । अब सोचौं, चोरको सम्पत्ति चोरी हुनु दुःख हो वा अर्काको सम्पत्ति चोरेर सुखको अनुभूति गर्न खोज्नु खुसी हो ? यी त केवल मनको भ्रान्तिले ल्याएको परिणति होइन र ? चोरी गरेर ल्याएको सम्पत्ति उपभोग गर्नु सन्तोष हो र ? त्यसैले हाम्रो चाहनाभित्र रहेको मोह र लालच नै यसको कारण होइन र ? तसर्थ यस कुरालाई मनन् गरी आफूभित्र रहेको भ्रम हटाउन मनलाई सधै सन्तोषी, सदा सुखी, असन्तोषी सदा दुःखी भन्ने सोच र चिन्तनमा राखी आफू भलो त जगत् भलो भन्ने मान्यतालाई शिरोधार्य गर्न जान्नु पर्दछ । प्रथमतः आफै सच्चिनु पर्दछ ।

वर्तमान अवस्थामा देखिएको विश्व रंगमञ्चलाई हेर्ने हो भने यहाँ राम्रा, नराम्रा सबै कुरा भए–गरेको देखिन्छ । मानव चेतना सबै हो र ? यसै चेतनाले नयाँ युगको सिर्जना गरेको छ भन्ने मान्यता विश्वव्यापी देखिएको छ । समय र परिस्थिति अनुकूल जीवनलाई चलायमान बनाउनुको साटो वर्तमानले एकपछि अर्को छलाङ लगाउने गरेको देखिन्छ । अहंकार र घमण्डले परिपोषित भई मानव–मानवबीच एकअर्कालाई सिध्याउने धुनमा विश्व तरंगिएको छ । पृथ्वी, जल, अग्नि, वायु र आकाश यी पाँचतत्व मिलेर बनेको प्रकृतिको सत्यलाई भुलेर मानिस स्वयं विधाता भएर वर्तमानमा अगाडि बढिरहेको छ । मानिस स्वयं जीवनको रचनाकार हो र ? जीवन स्वयं मानवीय आचरण र व्यवहारमा बाँधिएको छ भनी कुर्लिरहेको पनि देखिन्छ । जीवको रचनाकार अरु कुनै शक्ति हो भनी ऊ स्वीकार्न तयार छैन । ऊ केवल दृष्टिको सत्य स्वीकार्छ । यसैको परिणाम वर्तमान समयमा मानिस विविध रोगले सताइएको छ । अदृश्य शक्तिको रुपमा देखापरेको भाइरसले मानिसलाई तनाव बढाइरहेको छ ।

त्यसैले सृष्टि रचना कसरी र कुन गतिमा विकसित भइरहेको छ ? भौतिकवादी चिन्तनभित्रको भ्रमले मानिसहरु कसरी सम्मोहित भइरहेका छन् ? त्यस कुराको विश्लेषण गर्न जरुरी देखिन्छ । मानिसको चाहनाभित्र लुकेको अहंकारले मानिसलाई कसरी क्षणिकतातर्फ आकर्षित गरिरहेको छ ? त्यस कुराको लेखाजोखा गर्न जरुरी छ । मानव जीवन साकारस्वरुप हो । यसको चाहना भनेको उसको अन्तर्मनको पवित्रता हो । ऊ हरहमेसा पवित्र भएर प्रस्तुत हुने अवसर खोजिरहेको हुन्छ । तर भौतिकवादी दृष्टिकोणले उसलाई क्षणिक वासना तृप्तितिर आकर्षिक गरिरहेको हुन्छ ।

फलस्वरुप मानिस दुःख र पीडित बनेका हुन्छन् । प्राकृतिक सत्यको यथार्थ चिन्तन थाहा पाउँदा–पाउँदै पनि मानिस आफै विष्मयको भूमरीमा परिरहेका छन् । मोह र आशक्तिले ल्याउने परिणामप्रति उसको चासो बढिरहेको छ । र ऊ भन्दैछ– प्रकृति मेरो वशमा छ । त्यही अहंकारले मानिस दुःख–पीडित छन् । वास्तवमा जीवनमा दुःख–सुख केही पनि हुँदैन । यो मानव चिन्तनले ल्याएको दृश्यमात्र हुन् । किनकि कसलाई दुःख, कसलाई सुख भन्ने चिन्तन नै भ्रमको जालमा बुनिएको देखिन्छ । मलाई त स्वर्गीय आनन्द थियो । खान, बस्न, घुम्न–डुल्न र मोजमस्ती गर्न पाएकै थिएँ तर के गर्ने मेरो कर्मको कारणले यी सुख, सुविधा कम हुँदै गएका छन्, फलस्वरुप म दुःखी छु । के यही दुःख हो त ? कोही खान नपाएर छट्पटिएका छन्, कोही औषधि नपाई छट्पटिएका छन्, कोही दिन नपाएर छट्पटिएका छन्, कोही लिन नपाएर छट्पटिएका छन् ।

के यी सबै यसैको कारण हो त ? वास्तवमा यी सबै हाम्रा भ्रमभित्र पालिएका चाहनामात्र हुन् । किनकि यी हाम्रा बाह्य कर्मले ल्याउने परिणामको कारण हामीलाई त्यस्तो अनुभूति भएको छ । तसर्थ जीवनको प्रत्येक उकाली–ओरालीमा आइपर्ने समस्याका कारण हाम्रा आफ्नै चिन्तन र क्षणिक वासनाभित्रको मोह भन्ने सोच विकास गरी भ्रमभित्र देखिने आशक्तिलाई तिलाञ्जली दिनुपरेको छ । वर्तमान अवस्थामा देखिएको अदृश्य रोग पनि यस्तै भ्रमभित्र आएको क्षणिक उपद्र हो भन्ने बोध गरी आफूलाई स्वच्छ र पवित्र विचारधाराको जिम्मेवार व्यक्ति बनाउनु पर्दछ । गलत आचरणप्रतिको हाम्रो दौडले ल्याएको यो रोगलाई संयम र धैर्यतापूर्वक पहिचान गरी आफूलाई सुरक्षित राख्ने उपायतिर हाम्रा ध्यान जानुपर्दछ ।

अनावश्यक आशंका र भयलाई हटाई आफू स्वच्छ त सबै स्वच्छ भन्ने सत्यलाई ग्रहण गर्ने क्षमता राख्नुपर्दछ । अहिले नेपालमा देखिएको रोगको अवस्था हेर्दा विश्व परिवेशभन्दा भिन्नै प्रकृतिको देखिएको छ । तसर्थ हाम्रो विचारमा उब्जने यस सम्बन्धका जति पनि भ्रम छन्, ती सबै हाम्रै गलत विचारको परिणाम हुन् भनी रोग निवारणका लागि आफूलाई समर्पण गर्नु परेको छ, अफवाह र दुस्प्रचारको पछाडि नलागी हाम्रो परिवेशमा देखिएको मैलो हटाई शुद्धता दिनुपरेको छ । भ्रमभित्रको गलत चिन्तनले पु¥याउने क्षतिको आँकलन गरी आफूलाई ज्ञानी र महापुरुषले देखाउने अलौकिक शक्तिको स्मरण गर्ने बानीको विकास गरी चिन्तनमा परिस्कृतता बोध हुने आचरण र व्यवहार गर्न सिकौं । ईश्वर मायाधीश र हामी मायाधीन छौं भन्ने यथार्थ सत्य बुझी आफूलाई समर्पण गर्ने वातावरण बनाऔं । भ्रान्तिभित्र पालिएको विचारलाई हटाई संयमित र धैर्य गर्न सिकौं । यो वर्तमानले खोजिरहेको छ ।