चन्दा नदिएकाले आक्रमण भएको आशंका, हेलिकप्टरबाट काठमाडौं लगियो
गोरक्ष समाचारदाता
दाङ, असार १६ । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै आक्रमण भएको छ । आक्रमण गर्ने समूहका बारेमा जानकारी हुन नसकेको भएता पनि नेकपा बिप्लव समूहले बिज्ञप्तीमार्फत आक्रमणको जिम्मा लिएको छ ।
वडाध्यक्ष फर्साराम डाँगीसँग विगत केही दिन यता विप्लवका कार्यकर्ताले फोन मार्फत चन्दा माग्दै आएका बताइन्छ । त्यो कुरा उनले शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीलाई पनि जानकारी गराएका थिए । ‘चन्दा नदिएपछि वडाध्यक्षमाथि यसरी आक्रमण भएको देखिन्छ,’ गाउँपालिकाका अध्यक्ष डाँगीले भने ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घाइते वडाध्यक्ष डाँगीलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको जानकारी दिएका छन् ।
वडाध्यक्षमाथि विहान सवा ११ बजेतिर कार्य कक्षमै १०÷११ जनाको संख्यामा आएका अज्ञात समुहले रड र लाठी प्रहार गरेका थिए ।
आक्रमणवाट वडाध्यक्षको टाउको, हात खुट्टा र शरिरका विभिन्न भागमा चोट पटक लागेको छ । डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।