योजना निरीक्षण गर्दै सांसद

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, १५ असार । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य शंकर गिरीले आफ्नो सिफारिसमा परेका योजनाहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन स्थानीयसँग छलफल गरेका छन् । सांसद गिरीले तुलसीपुर ११ स्थित प्रिगाउँमा रहेको महेश्वर शिव मन्दिरको निरीक्षण तथा स्थानीय वयोबृद्ध, समाजसेवी तथा स्थानीयसँग भेटघाट गरी योजनालाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका हुन् ।

प्रदेश सांसद्को सिफारिसमा पहिलो चरणमा ६० लाखका दरले योजनामा बजेट विनियोजन गर्ने प्रदेश सरकारको निर्णयानुसार उक्त मन्दिरमा गिरीको सिफारिसमा १० लाख रुपैयाँ विनियोजन भएको हो । नेपाली कांग्रेका नेता समेत रहेका सांसद गिरी सहित नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ख का सभापति खिमबहादुर वली, तुलसीपुर ११ नम्बर वडा सदस्य सुवास डाँगीलगायतको टोलीले उक्त मन्दिरको स्थलगत निरीक्षणका साथै मन्दिरमा उक्त बजेटले के–के काम गर्ने भन्नेबारे छलफल गरेको हो ।

प्रदेश सरकारले विनियोजन गरेका योजनाहरु पालिका र वडाले सम्बन्धित सांसदसँग सहकार्य गरेर कार्यान्वयन गर्ने प्रावधान छ । सांसद् गिरीले पहिलो चरणका योजना अन्तर्गत् पश्चिम दाङका ६ वटा योजना सिफारिस गरी बजेट विनियोजन भएको छ । अन्य सबै योजनाको निरीक्षण तथा उपभोक्ताहरुसँग भेटघाट गरी योजना प्रभावकारी बनाउन लागिपर्ने उनले बताए । गिरीले यी वाहेक अन्य योजनाहरु यो क्षेत्रमा पार्नका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।