कृषि सिकाउन गाउँमै सिकाई केन्द्र

  •   
  •  

लिलाधर वली
दाङ, १४ असार । घोराही उपमहानगरपालिका–३ बञ्जाडी निवासी सुमित्रा चौधरी गाउँमै बन्न थालेको रोटरी सामुुदायिक कृषि पुस्तकालय तथा सिकाई केन्द्र निर्माणपछि त्यहाँको कृषि उत्पादनमा धेरै ठूलो योगदान पुग्ने अपेक्षामा देखिन्छिन् । यो अपेक्षासँगै उनी सिकाई केन्द्रको भवन निर्माणको काममा सक्रिय छिन् ।

‘हाम्रो काम नै कृषि व्यवसाय हो, त्यसैले यो पुस्तकालय तथा सिकाई केन्द्रले हामीलाई सहयोग पु¥याउने आशा गरेका छौं’, सुमित्राले भनिन्– ‘परम्परागतरुपमा कृषिमा लागेका हामीलाई नयाँ ज्ञान दिनेछ ।’ बेमौसमी तरकारी उत्पादन गरेर घोराही बजारसम्म बिक्रीका लागि ल्याउने सुमित्रालाई कृषिका नयाँ प्रविधिको जानकारी थिएन । तर गएको बर्ष रोटरी क्लबले तालिम दिएपछि केही सिकाई थपिएको बताइन् । ‘हामीहरूले परम्परागतरुपमै तरकारी खेती गर्दै आएका थियौं, तर गएको बर्ष रोटरीले तालिम दिएपछि केही सुधार भएको छ’, सुमित्राले भनिन्– ‘अब त सिकाई केन्द्र नै बनेपछि धेरै कुरा जान्ने आशा लागेको छ ।’

रोटरी कृषि पुस्तकालय तथा सिकाई केन्द्र निर्माणले पूरै गाउँलाई उत्साहित बनाएको रोटरी कृषि पुस्तकालय तथा सिकाई केन्द्रकी अध्यक्ष बजारी चौधरीले बताइन् । ‘पूरै गाउँ कृषि व्यवसायमा आवद्ध रहे पनि यहाँ तालिम, सिकाईको अभाव रहेको छ’, अध्यक्ष बजारीले भनिन्– ‘किसानका लागि तालिम र सिकाई समेत नहुने ठाउँमा कृषि पुस्तकालय बनेपछि धेरै सिकाई हुनेछ ।’ उनका अनुसार कृषि पुस्तकालय किसानका लागि आवश्यक कृषि लेखिएका पुस्तक, पत्रिकासँगै पढ्न–लेख्न नजान्नेहरूका लागि टिभीको समेत व्यवस्था गरिने भएको छ । ‘पुस्तकालय तथा सिकाई केन्द्रमा पढ्न–लेख्न जान्ने किसानका लागि पुस्तक, पत्रिकालगायतका सामग्रीहरु राख्ने उद्देश्य रहेको छ’, उनले भनिन्– ‘पढ्न–लेख्न नजान्नेहरुका लागि टिभीका माध्यमबाट सिकाइनेछ ।’

निर्माणाधीन कृषि पुस्तकालयले कृषिसम्बन्धी ज्ञान लिने केन्द्रसँगै किसानहरुलाई एकअर्कासँग छलफल गर्न केन्द्रका रुपमा समेत विकास गर्ने योजना रहेको स्थानीय अगुवा राजकुमार चौधरीले जानकारी दिएका छन् । चौधरी समुदायको बाहुल्यता रहेको उक्त गाउँमा परम्परागत रुपमा कृषि व्यवसायमा आवद्ध रहेका किसानलाई कृषिसम्बन्धी ज्ञान बढाउँदै आयआर्जनमा बृद्धि गर्ने उद्देश्य रहेको उनले बताए । ‘८० घरधुरी रहेको बञ्जाडीका सबै घर यो अभियानसँग जोडिएका छन् । त्यसमा पनि अधिकांश चौधरी समुदाय रहेका छन् । यो समुदायलाई कृषिका माध्यमबाट अघि बढाउने उद्देश्यले कृषि पुस्तकालय तथा सिकाई केन्द्रको स्थापना गर्न थालेका छौं’, अगुवा राजकुमारले भने– ‘पुस्तकालयले परम्परागतरुपमा रहेकोे कृषि व्यवसायमा परिवर्तन ल्याउनेछ ।’

यो सामुदायिक कृषि पुस्तकालय तथा सिकाई केन्द्र सम्भवतः नेपालकै नयाँ अभ्यास हुनेछ । यो केन्द्र स्थापनाको अभियानमा नेपालका ७७ वटै जिल्लाबाट सहयोगी सदस्यहरू जोडिने अपेक्षा गरिएको छ । ‘६० भन्दा बढी जिल्लाका साथीहरू निश्चित शुल्क तिरेर सहयोगी सदस्य बन्नुभएको छ र त्यही शुल्क नै यो केन्द्र स्थापनाको महत्वपूर्ण आर्थिक स्रोत हो’, रोटरी क्लव अफ दाङका अध्यक्ष तीर्थ पौडेलले भने । विगत ६ महिनाअघि निर्माण शुरु भएको सो केन्द्रको निर्माणको काम असार महिनाभित्रै पूरा हुने उनले बताए । ‘पुस्तकालयको धेरै काम निर्माण भइरहेको छ, बाँकी प्लाष्टरदेखि झ्याल–ढोका निर्माणको काम गर्न बाँकी रहेको छ’, अध्यक्ष पौडेलले भने– ‘बाँकी रहेको काम यही महिनाभित्रै पूरा गरेर कृषि पुस्तकालय तथा सिकाई केन्द्रलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’ भूकम्प प्रतिरोधात्मक सो भवन निर्माणका लागि करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।