नेपालमै देखियो सलह

  •   
  •  

गोरक्ष समाचारदाता
बुटवल, १३ असार । घाम नै छेकिने गरी उडेर आउने सलहको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै उजाड बनाउने सलह किरा नेपालमा प्रवेश गरेको छ । शनिवार प्रदेश २ मा देखिएको सलह किरा शनिवार प्रदेश ५ को रुपन्देहीमा पनि देखापरेको छ । भारतीय सीमा क्षेत्रमा देखिँदै आएका सलह रूपन्देही पसेका हुन् । शनिवार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए । स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए । ‘अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ’–उनले भने, ‘कीट विज्ञहरुले अनुसन्धान गरिरहनुभएको छ ।’ उनले कति संख्यामा आएको छ भन्ने एकिन गरेपछि रोकथामको योजना बनाउने बताए । ‘कीरा देखिएको खबर प्राप्त हुनासाथ कीट विज्ञसहित कृषिविज्ञहरु छलफल र अनुसन्धानमा जुटेका छौँ’, उनले भने, ‘क्षतिबाट बचाउने उपाय अपनाउने छौँ ।’ दिउँसो करिब एक बजे बुटवलको कालीकानगर, गोलपार्क, सुख्खानगर, रामनगरलगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए ।
रामनगरमा रहेको सेनाको ब्यारेकमा समेत सलह भित्रिएको भन्दै सेनाले कीट विज्ञहरुलाई खबर गरेको थियो । नेपालमा यस वर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निष्कर्ष निकालेको थियो । तर त्यो गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।
मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो । यो कार्यदलले नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको उल्लेख गरेको छ । आगामी वर्षहरूमा भने सचेत हुनुपर्ने कार्यदलको सुझाव थियो ।
भारतको मध्यप्रदेशबाट आएको सलह फेरि राजस्थानतिरै फर्किएको, हावाको वहाव नआएको, झरी सुरु भइसकेकाले सलह नआउने कार्यदलको निष्कर्ष थियो । कार्यदलले सुक्खा मौसम र सुक्खा ठाउँ मन पराउने भएकाले मनसुन सुरु भएपछि सलह आउँदैन भन्ने प्रतिवेदन दियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययनअनुसार सन् १९६० मा काठमाडौं उपत्यकामा सलह देखिएको थियो । त्यसबेला सलहको प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । केन्द्रकाअनुसार ‘त्यसबेला काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पारेको अध्ययनमा देखिन्छ ।
नेपालमा यस वर्ष सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि नेपालका जिल्लाहरुमा भित्रिएको छ । मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले सलहले तरकारी तथा धान बालीमा क्षति गर्न थालेको जिल्लास्थित ज्ञान केन्द्रहरुले जनाएका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययनअनुसार सन् २०१९ सुरुवाती महिनामा अहिले नेपाल आइपुगेको सलह यमनमा देखिएको थियो । यमनबाट अघि बढेको सलह साउदी अरेबिया, इरान हुँदै सो वर्षको डिसेम्बरमा पाकिस्तान आइपुगेको थियो ।
पाकिस्तानमा ठूलो क्षति गरेको सलह नयाँ वर्ष सन् २०२० को सुरुवातमा भारत र पाकिस्तान सीमा क्षेत्रमा लामो समय रहेको थियो । विस्तारै जाडो कम भएपछि पुनः वंश बृद्धि भई सलह भारत छिरेर विशाल झुण्डहरुमा तयार भएको अध्ययनले बताएको छ । त्यो झुण्ड राजस्थानबाट प्रवेश गरेर मध्यप्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अघिल्लो महिना नै अगाडि बढेको थियो । विज्ञहरूका अनुसार सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खान्छ । तराईमा धमाधम धान रोपाई भइरहेको छ भने पहाडमा मकैलगायतका बाली छन् ।
रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरीलगायतका सानो क्षेत्रमा झुल÷जालीको प्रयोग, ठूलो आवाज, धुवाँ आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ । विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीनलगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ । तर, एकैपटक ठूलो क्षेत्रमा छर्नुपर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउनेलगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।