खाली हुँदै क्वारेन्टाइन …

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, १३ असार । जिल्लाका विभिन्न स्थानमा व्यवस्थापन गरिएका क्वारेनटाइन खाली हुँदै गएका छन् । जिल्ला प्रशासन कार्यालय दाङकाअनुसार शुक्रवारसम्म बढीमा ३ हजार मात्रै क्वारेन्टाइनमा छन् । केही क्वारेनटाइनमा बसेकाहरुलाइ आरडिटी र अधिकांशलाई पिसिआर परीक्षण गरिएको पनि कार्यालयले जनाएको छ । नेपालकै विभिन्न सहरहरुमा काम गरी जिल्ला फर्केका केही व्यक्तिलाई आरडिटी गरेर घर पठाइएको छ भने भारतीय बजारबाट आएकाहरुलाई पिसिआर परीक्षण गरी क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको प्रशासन कार्यालयको सूचना शाखाले जनाएको छ ।

भारतीय सीमा क्षेत्रबाट धमाधम भारतका विनिन्न बजारमा काम गर्ने नेपाली श्रमिकहरु फर्कनथालेपछि दाङ जिल्लाका दशवटै स्थानीय तहमा २ सय स्थानमा क्वारेनटाइन बनाइएको थियो । जिल्लाभरि क्वारेन्टाइनमा १० हजार २ सय वटा बेड व्यवस्थापन भएकोमा हालसम्म १० हजार एक सय ७१ जना क्वारेन्टाइनमा बसेका थिए । पछिल्ला केही दिन भारतीय सीमानाकाबाट नेपाली फर्कने क्रम निकै पातलिएको छ ।

शुक्रवार रातिसम्मको तथ्याङ्कअनुसार जिल्लाभरका क्वारेन्टाइनबाट ७ हजार डिस्चार्ज भएका छन् । तीमध्ये हालसम्म ४ सय ४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमितहरुमध्ये १ सय जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकीको बेल्झुण्डी कोरोना विशेष अस्पताल, अम्राईमा रहेको फनपार्क आइसोलेशन, घोराहीको पद्मोदय पब्लिक नमुना मावि र देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार क्वारेन्टाइनमा रहेका एक हजार ५ सय जनाको रिपोर्ट आउन बाँकी छ भने करिब एक हजारको स्वाब लिन बाँकी छ । पछिल्लो तथ्याङ्कअनुसार तुलसीपुर उपमहानगरपालिकाका विभिन्न क्वारेन्टाइनमा ४ सय ५२ जना, घोराहीमा ९० जना, लमहीमा ६३ जना, गढवामा १ सय १८ जना, राजपुरमा १ सय ५५ जना, राप्तीमा ३ सय २१ जना, बंगलाचुलीमा ३ सय ७ जना, दंगीशरणमा ९ जना, बबई ३ सय ८, जना र शान्तिनगर १ सय ४० जना गरी २ हजार ८ सय ४३ जना अझै पनि क्वारेन्टाइनमा रहेका छन् । सम्भवतः एक साताभित्र यी क्वारेन्टाइन पनि खाली हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो साता स्वाब परीक्षणको दर बढेसँगै अब रिपोर्टका लागि क्वारेन्टाइनमा पर्खाईमा धेरै बस्नुपर्ने छैन ।