तीन महिनाको अवधिमा ७४ जना व्यवसायी पलायन

लकडाउनको मारमा व्यवसायी

गोरक्ष समाचारदाता
दाङ, १३ असार । घोराहीको ट्राफिक चोकमा विगत दश वर्षदेखि होटेल व्यवसाय गर्दै आएका नारायण पुनले होटेलका सम्पूर्ण सामान घोराहीकै रातनपुरमा रहेको छोरीको घरमा थन्क्याएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लामो समयसम्म लम्बिँदा समस्यामा परेका पुनले गत जेठको १० गते होटेल बन्द गरेको बताए । ‘आफ्नो घरमा होटेल थिएन, अर्काको घरमा मासिक ४७ हजार बढी भाडा तिर्नुपर्ने हुन्थ्यो’–उनले भने–‘लामो समय लकडाउनका कारण होटेल बन्द भएपछि, घरभाडै तिर्न समस्या भएपछि होटल नै बन्द गर्ने निर्णय गरेको हुँ ।’ शान्ता होटेल एण्ड लज (स्टार होटल एण्ड लज) सञ्चालन गर्दै आएका पुनले लामो समय होटेल बन्द भएका कारण घरबेटीलाई भाडा तीर्न समस्या पर्नु स्वाभाविकै थियो । उता घरबेटीले पनि भाडामा लिएका कोठाको संख्या घटाउन पुनलाई आग्रह गरेका थिए ।

भाडामा लिएका कोठाहरू घटाउँदा तत्काल लकडाउन खुलेमा आपूmलाई होटेल सञ्चालन गर्न समस्या पर्ने निष्कर्षका साथ हाललाई होटल नै बन्द गर्ने निर्णयमा उनी पुगे । ‘लकडाउनका कारण व्यवसाय ठप्प थियो, त्यसैमाथि घरभेटीले आपूmले भाडामा लिएका कोठाहरु घटाउन आग्रह गर्नुभयो’–उनले भने–‘मैले तल्लो र दोस्रो तला भाडामा लिएको थिएँ, घरबेटीले तल्लो तला खाली गरेर दोस्रो तलमा बस्न आग्रह गरेपछि होटेल छोड्ने निर्णय गरेँ ।’ अहिले छोरीको घरमा होटेलका सामग्री राखेको बताउने पुनले यही परिस्थितिमा तत्काल होटल गर्ने सोच नभएको बताए । एकातिर कोरोनाको जोखिम र अर्कोतिर ग्राहक नै नआइरहेको अवस्थामा तत्काल होटेल गर्ने सोच नभएको उनले बताए ।

यसैगरी घोराही उपमहानगरपालिका–१५ काठेकोलमा रहेको विशाल होटेल समेत अहिले बन्द भएको छ । कोरोना जोखिमको समयमा होटेल सञ्चालन गर्दा जोखिम हुने र ग्राहक पनि नआउने भएपछि होटेल बन्द गर्ने अवस्थामा पुगेको सञ्चालक खेमराज भट्टराईले जानकारी दिए । ‘कोरोना जोखिम भन्दै प्रहरीले होटेल खोल्न दिँदैन, त्यसैमाथि होटलमा आउने ग्राहकका कारण जोखिम समेत रहने भएकाले होटेल बन्द गर्ने विचार गरेँ’–सञ्चालक भट्टराईले भने–‘यो जोखिमको समय होटेल चलाउँदा भाडा तिर्ने पैसा नै उठ्दैन, त्यसैले होटल बन्द निर्णय गरेको हुुँ ।’ उनले पनि अब सहज अवस्था भएमा मात्र होटेल सञ्चालन गर्ने बताए ।

भट्टराई र पुन प्रतिनिधिमूलक होटेल सञ्चालकहरु हुन् । अहिले होटलसँगै अन्य व्यवसायीहरु समेत मारमा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण धेरै व्यवसायीहरु समस्यमा परेका छन् । जसका कारण कतिपय व्यवसायीहरु आफ्नो व्यवसाय बन्द नै गर्न वाध्य भएका छन् । लकडाउनको अवधिमा जिल्लामा करिब सय बढी व्यवसायी सटर खोल्न नसक्ने अवस्थामा पुगेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताएका छन् ।

लामो समयसम्म सटर बन्द भएका कारण व्यवसाय नै गर्न नसक्ने भन्दै अहिले जिल्लाभर ७४ जना व्यवसायीले व्यवसाय छोड्न वाध्य भएको उनले बताए । ‘संकटको समयमा व्यवसायीलाई संरक्षण गर्ने राज्यले स्पष्ट नीति बनाउन नसक्दा धेरै व्यवसायीहरु त्रसित हुनुहन्ुछ’–अध्यक्ष भुसालले भने–‘जिल्लाका विभिन्न बजारमा सय बढी व्यवसायीहरूका अझै सटर खुल्नसकेका छैनन् भने ७४ जना व्यवसायीले व्यवसाय बन्द गरेको जानकारी गराउनुभएको छ ।’ भुसालका अनुसार तीन महिना बढी समय लकडाउनका कारण व्यवसाय बन्द हुनु र घरबेटीले भाडाका लागि व्यवसायीलाई दबाब दिनुले व्यवसायीहरु पलायन हुनथालेका हुन् । संकटको समयमा राज्यले व्यवसायीहरूलाई भाडामा छुट गर्ने भन्ने गरेको सुनिने गरे पनि जिल्लामा रहेका सरकारी कार्यालयहरु नै भाडा अशुल्न लागिपरेको बताए ।

जिल्लामा जिल्ला मालपोत कार्यालय, नगर विकास समिति, नगरपालिका, अर्धसरकारी निकायका रुपमा रहेका कृषि सामग्री कम्पनीलगायतका संघसस्थाहरुले पनि व्यवसायीलाई छुट हुने गरी कुनै कार्यक्रम ल्याउन नसकेको अध्यक्ष भुसालले बताएका छन् । राज्यले संकटको समयमा व्यवसायीलाई राहत र संरक्षणका लागि ३३ प्रतिशत व्यवसायी, ३३ प्रतिशत घरधनी र ३४ प्रतिशत राज्यले भाडामा सहयोग गर्ने गरी कार्यक्रम ल्याउनसके व्यवसायीलाई केही राहत पुग्ने उनी बताउँछन् ।

अनलाइनबाटै व्यावसायिक सचेतना
जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाई भिडियो कन्फ्रेन्सबाट सचेतना दिइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम हुनसकेका छैनन् । यो अवस्थालाई मध्यनजर गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा काठमाडौंमा रहेको केबिसी फर्मको सहकार्यमा अनलाइनबाटै सचेतना प्रदान गरिएको हो । अनलाइन सचेतनामार्फत् सरकारले ल्याएको बजेट तथा आर्थिक ऐन् २०७७ का व्यवस्था र क्षेत्रगत असरका बारेमा जानकारी दिइएको थियो । नयाँ आर्थिक वर्षमा काम गर्दा समस्या नहोस् भनेर यस प्रसकारको कार्यक्रमको आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

यस प्रकारको कार्यले सरकारले परिवर्तन गरेका नियमहरुका बारेमा जानकारी हुने र त्यसैअनुसार अगाडि बढ्न उद्योगी तथा व्यवसायीहरूलाई सहज हुने उनले बताए । ‘अहिलेको परिस्थितिलाई मध्यनजर गरेर प्रविधिको उपयोग गरेर जानकारी गराएका हौँ’–अध्यक्ष भुसालले भने । संघले उद्योगी तथा व्यवसायीहरुलाई निरन्तर रुपमा काम गर्दा आइपर्ने समस्याका बारेमा तालिम तथा सचेतनामूलक कार्यक्रमबाट जानकारी गराइरहेको भुसालले बताए । त्यस अवसरमा आर्थिक ऐन २०७७ मा सरकारले गरेका परिवर्तन क्षेत्रगत रुपमा कर, आय कर, मूल्य अभिबृद्धि कर, अन्तशुल्क, भन्सार शुल्क करमा दिइएको छुटलगायतका विषयमा जानकारी गराइएको थियो । सहभागीहरुलाई सिए अरुण लुइँटेल र किरण तिमिल्सेनाले जानकारी गराएका थिए भने सहभागीको जिज्ञाशाको उत्तर पनि दिएका थिए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, संघका सचिव माया पोख्रेल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यलगायतले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण संघका व्यावसायिक सल्लाहकार धनेश्वर शर्मा र सिए विपिन देवकोटाले गरेका थिए ।