जोखिममा जनप्रतिनिधि र स्वास्थ्यकर्मी, ७७ जिल्लामै कोरोना

  •   
  •  

लिलाधर वली
दाङ, १३ असार । बंगलाचुली गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष यनुराज खत्री चैतको दोस्रो सातादेखि वडामा क्वारेन्टाइन व्यवस्थापनमा खटेका थिए । क्वारेन्टाइनमा खटिएको बेला जेठ २० मा उनमा समेत कोरोना संक्रमण भएको पुष्टि भयो । कोरोना पुुष्टिसँगै उनी १७ दिन पालिकाको आइसोलेशन सेण्टरमा बसेर असार ५ गते घर फर्केका छन् । कोरोना संक्रमित हुने उनी जिल्लाका पहिलो जनप्रतिनिधि समेत हुन् ।

‘नागरिकको व्यवस्थापनमा खट्दा संक्रमण भएछ’–उनले भने–‘अहिले संक्रमण जितेर घरमै बसेको छु ।’ वडा अध्यक्ष खत्रीले कोरोनालाई सजिलै जिते पनि अरुलाई हेलचक्राई नगर्न सुझाव दिए । ‘आपूm सुरक्षित भएर मात्र जनताको सेवा गर्ने हो, त्यसैले सुरक्षित भएर जनताको सेवा लाग्न आग्रह गर्छु’–उनले भने । त्यस्तै देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ को जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटेका दुई जना स्वास्थ्यकर्मीमा समेत जेठ १८ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना पोजेटिभ रिपोर्ट आएपछि १५ दिन बेलझुण्डी आइसोलेशनमा भर्ना भएका उनीहरु असार १ गते डिस्चार्ज भएर घर फर्केका थिए । जिल्लामा कोरोना संक्रमणको जोखिम बढिरहेका बेला स्वास्थकर्मी र जनप्रतिनिधि समेत जोखिममा छन् । करिब तीन महिनाको अवधिमा चार जना जनप्रतिनिधिसँगै १५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ ।

रोजगारीका क्रममा भारतबाट फर्किएर क्वारेन्टाइन बसेका मानिसहरु जोखिम रहे पनि उनीहरुको व्यवस्थापन, काउन्सिलिङ र स्वाब संकलनका क्रममा स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधिले हेलचक्राई गरी पर्याप्त पूर्व सावधानी नअपनाउँदा कोरोना संक्रमण बढ्ने गरेको छ । कोरोना विशेष अस्पताल तथा स्थानीय पालिकाहरुले निर्माण गरेका आइसोलेशन सेण्टरहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण नदेखिनु र अन्य अस्पतालमा कार्यरत स्वास्थकर्मीमा कोरोना संक्रमण देखिनु पर्याप्त पूर्व सावधानी नअपनाउन रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

अहिलेको जोखिमपूर्ण समयमा अस्पतालमा विरामी जाँच्दा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीदेखि क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जनप्रतिनिधिहरुले आवश्यक सावधानी नअपनाउँदा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुमा संक्रमण देखिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक तथा हेल्थ असिस्टेन्ट द्रोण वलीले बताए । ‘आइसोलेशन अस्पताल र आइसोलेशन सेण्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुले अनिवार्य रुपमा सावधानी अपनाउने गरेका छन्, जसले गर्दा उनीहरुमा संक्रमण सर्न सकेको छैन’–उनले भने–‘तर अन्य अस्पताल वा स्वास्थ्यचौकीमा विरामी जाँच गर्नेदेखि स्वाब संकलनका क्रममा पर्याप्त सावधानी देखिएन, जसले गर्दा उनीहरुमा संकक्रमण सरेको देखिन्छ ।’

जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्शन कमल चन्दकाअनुसार हालसम्म जिल्लामा ४ जना जनप्रतिनिधि र १५ जना स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनका अनुसार कोरोना संक्रमण बंगलाचुली गाउँपालिका दुई जना वडाध्यक्षसँगै एक जना वडा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष छन् । यसैगरी १५ जना स्वास्थ्यकर्मीमध्ये राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७ जना, घोराही उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिका दुई जना र राजपुर गाउँपालिकाका एक जना रहेका छन् । उनीहरुमध्ये एक जना जनप्रतिनिधि र दुई जना स्वास्थ्कर्मी उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् ।

७७ जिल्लामै कोरोना
नेपालमा कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । शनिवार रसुवामा संक्रमित भेटिएपछि नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । शनिवारमात्रै देशभर ५ सय ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ३ सय ९ पुगेको छ । संक्रमितमध्ये हालसम्म २ हजार ८ सय ३४ जना निको भएर घर फर्किएका छन् भने २८ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसैबीच दाङमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा घोराही उपमहानगरपालिकाका २८, बंगलाचुलीका २ र बबईका १ गरेर ३१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै दाङमा हालसम्म ४ सय ८६ जनामा कोरोना पुष्टि भएको छ भने त्यो मध्ये केही उपचारपश्चात घर फर्किसकेका छन् ।