के.पी. सुवेदी
कोरोना भाइरस अर्थात् कोभिड–१९, महामारी रोकथाम तथा नियन्त्रण गर्न भनेर सरकारले दायाँबायाँ केही नसोची बन्दाबन्दी गर्ने निर्णय ग¥यो । त्यतिखेर बन्द गर्नुपर्ने या नपर्ने भन्नेबारेमा यतिखेर ठीकबेठिको बहसबाजी आवश्यक छैन तर कुनै पनि निर्णय दूरगामी प्रभाव पर्ने गरी गरिएको भए त्यसको औचित्य पुष्टि हुनै पर्छ । शक्तिशाली सरकार किननहोस् कुनै पनि समय जनता जनार्दनको परीक्षणमा उभिनैपर्ने हुन्छ ।
हाम्रो सरकार यस विषयमा अलिकति अल्मलिएको र गर्नैपर्ने भन्दा अलिकति अपरिपक्व देखिएको छ । विज्ञहरुको सरसल्लाहबिना निर्णय गर्ने प्रधानमन्त्री ओलीको कारणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी कदममा उल्टो निर्णय व्यहोरिरहेका छौँ । हुन त विश्व स्वास्थ्य संगठनले पनि यस सम्बन्धमा सही निर्णय गरेर उचित मार्गदर्शन गर्न असफल भएको हो । विश्व स्वास्थ्य संगठनको नाम जोडेर बाहिर आएका समाचारले धेरै मानिस झुक्किएका हुन् तर कुनै पनि मुलुकका जनताको भरोषा भनेको आफ्नो सरकारभन्दा माथि कोही हुँदैन र विश्वस्त भएर आदेश पालना गर्नुवाहेक अरु कुनै विकल्प थियन र हुँदैन पनि ।
जनताले आफ्ना व्यवसाय पूरै बन्द गरेर साढे दुई महिना भित्र बसिरहँदा सबै व्यवसायीले क्षति व्यहोर्नुप¥यो । आर्थिक गतिविधि शून्यमा झर्दा धेरै मानिसको जीविका कष्टपूर्ण बनेको छ । पेशा व्यवसाय विथोलिएका छन् । बन्द गरेपछि संक्रमणको जोखिम न्यून भई केही संख्यामा संक्रमित हुनसक्ने भए पनि अरुहरुको तुलनामा कुशलतापूर्वक नियन्त्रण गरेर छिट्टै कोरोनाबाट उम्किने अनुमान र त्यस्तै गफमा रमाइरहँदा संक्रमण फैलिएर समुदायमा पुगिसकेको छ । यसरी समुदायमा पुगेर महामारीको रुपमा फैलिँदै छ । यता बन्दलाई खुकुलो पारिएको छ । सरकाले गरेको व्यवस्थापनको क्षमता त्यत्ति मात्रै रहेछ, जति उसले अनुमान गरेको थियो ।
तीनवटै तहका सरकारको आगामी आर्थिक वर्षको बजेटको विनियोजन शीर्षकमा कोरोनाले जस्तो स्थान पाएको छ । त्यसले के देखाइरहेको छ भने विस्तारै सरकारले थेग्न नसक्ने संकेत गर्न खोजिरहेको छ । तलदेखि माथिसम्मको बजेटको व्यवस्था हेर्दा सरकार गर्न सक्नेले गर गर्न नसक्ने जति मर भन्ने निर्णयमा पुगेको देखिन्छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले सरकारले दैनिक खर्च चलाउन नसक्ने अवस्था पुगेको अभिव्यक्ति दिइसकेका छन् ।
सरकारले होम क्वारेन्टाइन भनेको धेरै दिन भइसकेको छ । कता–कता होम आइसोलेशन भनेको पनि सुनिएको छ । यस्तै निर्णय गर्न खोजेको हो भने सरकार आफ्नो कर्तव्य निर्वाह गर्न असक्षम भइसकेको प्रमाण हो । आफै क्वारेन्टाइन, आफै आइसोलेशन अनि आफ्नै व्यक्तिगत खर्चमा पिसिआर परीक्षण गर्ने गरी आफ्नो जिम्मा आफै लिन भनेपछि बाँकी सरकारले गरिदिने कुन चाहि कुरा हो ? सरकार भन्ने हामीजस्तै मानिसहरु हाम्रै प्रतिनिधि नै हुन् भन्न पनि शंका लाग्न थालेको छ, आजभोलि । किनकि उनीहरुका गतिविधि देख्दा सामान्य मानिसहरु भन्दा फरक जस्तै लाग्छ । संक्रमित १–२ गरेर भेटिने र महिनामा १० पनि नपुग्ने बेलामा परीक्षा समेत रोकेर बन्द गरायो ।
जब संक्रमित सय, दुई सय गर्दै पाँच सयका दरले दैनिक देखिन थाल्यो त्यसपछि खोल भन्यो । आहत भएका र रोगले त के हो के हो भोकले मर्नुपर्ने हुनसक्छ भन्ने अवस्थामा पुगेकाबेला सरकारको आदेश आयो । यता रोकथाम, नियंत्रण र उपचारमा हेर्दा पनि त्यस्तै, क्वारेन्टाइन व्यवस्थापन, परीक्षण र उपचारको लागि चाहिने स्वास्थ्य उपकरण सहितको अस्पताल बनाउने पैसा छैन । आफ्नै खर्चमा होटेलमा क्वारेन्टाइन, घरमा आइसोलेशन तर सरकारका मानिसहरुको सुविधा बृद्धि ? कतै करोडको कार्पेट, कतै करोडौँको गाडी ? जुनबेला देशमा संकट बढेको छ, व्यवसायीलाई कर छुट र गरिब मजदुर जो रोजगारी गुमाएर भोकै बस्न बाध्य छन्, तिनीहरुलाई राहत दिनुपर्ने बेला होइन र यो ?
नक्कली बिल भरपाई बनाउँदा पनि हिसाब मिलाउन नसक्ने अवस्था सरकारको वहुमत भएको संसद्ले भन्छ, दश अर्बको खर्च देखाउँदासम्म सरकारले गरेको खर्च पारदर्शी नभएको संसदीय समितिले औल्याइरहँदा परीक्षण गर्न नसकेर क्वारेन्टाइनबाट भागेर निस्केकाहरुले समुदायमा कोरोना बनाइरहेको थाहा छ, तर पनि अब सरकारले हात उठाइसकेको छ । त्यसैले जनता कोरोनासँग लुकेर भोकभोकै मर्ने निर्णय गर्नुभन्दा काममा फर्किने र काम गर्दा सुरक्षाका उपायहरु अपनाउने विचारमा मतैक्यता देखिन थालेको छ । केही निश्चित व्यवसाय वाहेकमा भौतिक दूरी कायम गर्न त्यत्ति गाह्रो हुँदैन । यातायात अलिकति गाह्रो हुने क्षेत्र हो तर यो बन्दाबन्दीको सबैभन्दा चर्को मारमा परेको क्षेत्र यही हो ।
खास गरेर सार्वजनिक यातायात सबैभन्दा ठूलो मर्कामा छन् । सर्वश्व खर्चेर नपुगेर मासिक किस्तामा सवारी साधन किनेका व्यवसायीको मर्का बुझेर किस्ताको व्याज र कर मिनाहा गर्ने गरी राहतको व्यवस्था सरकारले गरोस् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससम्बन्धी गरेको धेरै अनुमान गलत सिद्ध भएको छ । यद्यपि सही के हो ? कसैलाई थाहा छैन । किनकि सबैको विश्वास जितेको संस्था अल्मलिएको परिस्थितिमा अरु कसैको अनुसन्धान कति विश्वसनीय हुन सक्छ र !
कोरोना भाइरस म्यादी हो कि सदावहार हो या मौसमी ? भन्ने अनुमान गलत देखिए पनि यसको विरुद्ध खोप लगाउँदा मात्र रोग प्रतिरोधक क्षमता प्राप्त गर्न सकिन्छ भन्नेमा वैज्ञानिकहरु निष्कर्षमा पुगिसकेका छन् र खोपको औषधि तयार गरिसकेको बताइरहेकाबेला विश्व स्वास्थ्य संगठनले अर्को एउटा चेतावनी दिएको छ । कोरोना भाइरस अर्को खतर्नाक चरणमा दोहोरिएर प्रवेश हुँदै छ । जुन पहिलो चरणभन्दा धेरै विनाशकारी हुन सक्छ । चीनको वेइजिङमा देखिएको लक्षण दोहोरिएको भाइरसको भएको अनुमान गरेको छ । कहिले यो भाइरस एचआइभीजस्तै हो भनिएको पनि सुनिन्छ । तर जे भए पनि रोगबाट बच्नु नै सबैभन्दा उपयुक्त तरिका हो । जुन रोगको संसारमै औषधि छैन र बनिसकेको खोप पनि हामीजस्ता गरिबसम्म आइपुग्न कति समय लाग्ला भन्ने अनुमान गर्नै सकिन्न । विश्व स्वास्थ्य संगठनले दिएको चेतावनी अनुसार सावधानी अपनाउँदै आफ्नै लयमा फर्किने कोशिस गर्नुपर्छ ।