अटो व्यवसायीका समस्या

दाङका अटो व्यवसायीहरुको समस्याका बारेमा सरोकारवालाहरू मौन बस्दा उनीहरु समस्यामा परेका छन् । सानो लगानीबाट राम्रै आय आर्जन हुने देखेर विगत ४–५ वर्षयता अटो चलाएर परिवार पाल्नेहरुको संख्या दाङमा हजारभन्दा माथि पुगेको छ । तर, लकडाउनका कारण उनीहरूको व्यवसाय अहिले ठप्प जस्तै छ । ऋण लिएर, साहुको अटो चलाएर मात्रै होइन, भएको सम्पत्ति बेचेर पनि यो व्यवसायमा थुप्रै जोडिएका छन् । यो पेशाले राम्रै आर्जन पनि दिँदै आएको हो र परिवार पाल्नका लागि भरपर्दो आधारका रूपमा अटो व्यवसाय देखिएकै हो । तर अहिले उनीहरूको हालत दयनीय बनेको छ । न त दैनिक खर्चका लागि आम्दानी छ, न त बैंकमा ऋण र व्याज तिर्नेहरूलाई सजिलो भएको छ ।

अटो व्यवसायीहरुको यो समस्याले उनीहरुको दैनिक गुजाराको समस्या त थपियो नै, सँगै यो अवस्था उनीहरूका लागि मानसिक तनाव थप्ने अवस्था पनि हो । अटो चलाउन नपाएपछि घरको चुलो बाल्नसमेत समस्या भएको र घरजग्गा धितो राखेर अटो चलाउन थालेकाको लागि किस्ता तिर्न समस्या भएको प्रतिक्रिया अटो व्यवसायीहरूले दिएका छन् । यस्तो अवस्थाले उनीहरूको मानसिकतामा पार्ने असर र आन्तरिक पीडाभाव त उनीहरूबाहेकले महशुस गर्न सक्दनन् । उनीहरूको कुनै संगठन देखिएन, जसले उनीहरूको समस्यालाई उचो आवाजमा सम्बन्धित ठाउँसम्म पु¥याउन सकोस् । अटोहरू छोटो दूरीमा यात्रुहरू ओसार्ने साधन हुन् । अटो सञ्चालनले अनावश्यक भीडभाड थप्ने पनि होइन ।

त्यसमा संख्या कति राख्ने भन्ने कुराको निर्धारण गर्न सकिन्छ । सार्वजनिक सवारीका ठूला साधनहरु नचलेको अवस्थामा अत्यावश्यक खाद्यवस्तु तथा अन्य सामान बोक्न पनि यी साना र छोटो दूरीमा चल्ने साधनको उपयोग गर्न सकिन्छ । त्यसमा पनि जोर–विजोर वा अन्य विधिबाट आलो–पालो पद्धतिका आधारमा अभ्यास थाल्न पनि सकिएला । मानिस पैदल हिंड्दाभन्दा यस्ता साना सवारीको प्रयोग गर्दा पक्कै पनि भीडभाड कम गराउन सहज हुन्छ । त्यसकारण बजारमा वा कतै पनि भीडभाड नहुने गरी उनीहरूको व्यावहारिक समस्या र त्यसले थप्दै गरेका मानसिक तनावलाई ध्यानमा राखेर मानवीय निर्णयमा पुग्न आवश्यक देखिएको छ ।

हरेक निर्णयको पछाडि मानवियताको अंश हुने नै गर्छ । मानव जीवनलाई सहज बनाउनका लागि नै राज्यले गर्ने निर्णयहरू आवश्यक मानिन्छन् । अहिले अटो सञ्चालनहरूका हकमा पनि त्यस्तै भावनाका साथ व्यावहारिक निर्णय जरुरी देखिएको छ । यससम्बन्धी निर्णय गर्नका लागि गरिने विलम्बले उनीहरूलाई पर्ने आर्थिक र मानसिक समस्याको असर अकल्पनीय पनि हुन सक्दछ । तसर्थ, जिम्मेवारपूर्वक अटो चालकहरूको रोजीरोटी चल्न सक्ने अवस्था निर्माण गर्न जरुरी छ । बैंकहरूले पनि समस्यामा साथी बन्नसक्ने चरित्र प्रदर्शन गर्ने गरी रणनीति बनाउन आवश्यक छ ।