म्यादी मनस्थितिमा स्थानीय सरकार : न क्वारेन्टाइनमा बजेट, न कोरोना अस्पताललाई

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, १२ असार । बेलझुण्डीको कोरोना विशेष अस्पताल बनाउने क्रममा मुख्यमन्त्री शंकर पोख्रेलले भनेका थिए– ‘तत्कालका लागि कोरोना विशेष अस्पताल, त्यसपछि सरुवा रोग विशेष अस्पताल बन्ने छ । त्यसका लागि प्रदेश सरकारको अहम् भूमिका रहने छ ।’ प्रदेश सरकारको बजेटसँगै स्थानीय तहका बजेट पनि सार्वजनिक भइसकेका छन् । तर मुख्यमन्त्रीको प्रदेश सरकारसँगै स्थानीय सरकारले पनि कोभिड–१९को संक्रमण व्यवस्थापन तथा अन्य सरुवा रोगको विशेष अस्पताल र क्वारेन्टाइन निर्माणका अर्थपूर्ण बजेट विनियोजन गरेका छैनन् ।

स्थानीय सरकारले प्रस्तुत गरेको बजेटमा अनुदान र युवा परिचालनमा भारी बजेट विनियोजन गरिएको छ । तर कोरोनाको महामारीको जोखिमसँगै अन्य सरुवा रोग अस्पताल निर्माणमा भने प्राथमिकताका साथ प्रष्ट बुझिने गरी बजेट आएको छैन ।

दाङ जिल्लामा दशवटा पालिकाका तर्फबाट ८ अर्ब ४० करोड ३५ लाखभन्दा बढीको बजेट सार्वजनिक भएको छ, तर कोरोनाको संक्रमणका व्यवस्थापनका लागि स्थायी क्वारेन्टाइन निर्माणमा त्यो बजेट खर्च गर्न सकिने देखिँदैन । विद्यालयहरू सञ्चालनमा आए भने र अन्य सराकारी वा सामुदायिक संरचनाहरुले नियमित काम गर्न थाले भने क्वारेन्टाइन र आइसोलेसन कहाँ बनाउने र कुन बजेटले बनाउने भन्ने कुराको जवाफ नीति तथा कार्यक्रम र बजेट दुबैमा आउन सकेन ।

घोराही उपमहानगरपालिकाले नारायणपुरको फनपार्कलाई मासिक भाडा ८ लाख रुपैयाँ भुक्तानी गरिरहँदा त्यसको विकल्प खोजेको छैन । आगामी आर्थिक बर्षको नीति र कार्यक्रममा पनि क्वारेन्टाइन व्यवस्थापन र आइसोलेसन अस्पताल निर्माणको शीर्षकमा बजेट विनियोजन भएको छैन ।

‘हामी पनि म्यादीजस्तै हौं, त्यसैले पनि स्थायी क्वारेन्टाइनका विषयमा हाम्रो ध्यान जान सकेन, तैपनि स्वास्थ्य क्षेत्रमा विनियोजन भएको रकमले क्वारेन्टाइनलाई सम्बोधन गर्नेछ’, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भने । घोराही उपमहानगरपालिकाले बैशाखसम्ममा ८३ लाख खर्च गरिसकेको छ । तर नयाँ बजेटमा कोरोना भाइरसको समस्या अझै पनि कायम रहिरहँदा कहाँबाट खर्च गरेर यसको व्यवस्थापन गर्ने भन्ने बारेमा स्थानीय सरकारहरु अलमलमै देखिए ।

‘हामी क्वारेन्टाइनको व्यवस्थापन होइन अस्पताल निर्माणमा लागिरहेका छौं, त्यसका लागि आवश्यक बजेटसहित नीति र कार्यक्रम पनि सार्वजनिक गरिसकेका छौं’, तुलसीपुर उपमहागरपालिकाका प्रमुख घनश्याम पाण्डेले दावी गरे । तर नीति र कार्यक्रम तथा बजेटमा पनि क्वारेन्टाइनको व्यवस्थापनका विषयमा स्पष्ट योजना देखिँदैन । ‘बजेटमा उल्लेख नभए पनि हामीले आफ्नो तहमा कम्तीमा पनि एक सय बेडको क्वारेन्टाइन निर्माण गर्ने तयारीमा छौं’, नगर प्रमुख पाण्डेले भने– ‘संसारभरी स्थायी क्वारेन्टाइन निर्माण भएको छैन, त्यसैले पनि आवश्यकताअनुसार क्वारेन्टाइन निर्माण र अस्पताल निर्माणमा हामी लागेकै छौं ।’

त्यसैगरी घोराही उपमहानगरपालिकाले पनि बजेटमा क्वारेन्टाइन व्यवस्थापनलाई सम्बोधन गरेको छैन । नगर प्रमुख चौधरीले आफू कोरोना संक्रमणका विषयमा धेरै संवेदनशील भएको भए तापनि विश्व समुदायले नै क्वारेन्टाइनको स्थायी व्यवस्थापन नगरेको अभ्यासलाई आफूहरुले पछ्याएको बताए । आइसोलेसनका लागि मासिक ८ लाख भाडा तिरेको घोराही उपमहानगरपालिकाको बजेटमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनमा भने कुनै पनि बजेट विनियोजन गरेको छैन । ‘सधै स्कुलमा क्वारेन्टाइन राखिनुहुन्न भन्ने हाम्रो मान्यता पनि हो, स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको बजेटले यसलाई सम्बोधन गर्नेछ’, नगरप्रमुख चौधरीले भने ।

लमही नगरपालिकाले पनि क्वारेन्टाइन व्यवस्थापनको दीर्घकालीन लक्ष्य लिएको छैन । समस्या आएपछि नै समाधान खोजिने नगरप्रमुख कुलबहादुर केसीले बताएका छन् । आफै म्यादी जनप्रतिनिधि भएको अवस्थामा दीर्घकालीन योजना ल्याउनुको अर्थ नहुने पनि उनको अभिव्यक्ति थियो । आवश्यकताका आधारमा नगर विकास समितिको भवन र अन्य सामुदायिक भवनलाई समेत प्रयोग गर्न सकिने भन्दै नगर प्रमुख केसीले स्थायी क्वारेन्टाइन बनाउने शीर्षकमा बजेट विनियोजन भने नभएको बताए । पछिल्लो समयमा स्वाब परीक्षणका आधारमा जिल्लाभरका धेरै सामुदायिक विद्यालयमा व्यवस्थापन गरिएका क्वारेन्टाइनहरू खालि भइरहेकोमा स्थानीय सरकार खुसी छन् । तर कोरोनाको परीक्षणको दायरा बढाइँदै जाँदा समुदायस्तरमा पनि संक्रमितहरु बढ्दै गए उनीहरुलाई कहाँ राख्ने भन्ने सवालमा स्थानीय सरकार योजनाविहीन बनेको नागरिक अगुवाहरुले बताएका छन् ।

‘म्यादी मनस्थितिमा वर्तमान सरकार देखिएको छ, चुनावमा कसरी कार्यकर्ता परिचालन गर्ने भन्नेमा बजेट केन्द्रित भएको छ’, तुलसीपुरका व्यवसायी जनक खरालले भने । विश्वलाई कोरोना संक्रमणले थिचिरहेको अवस्थामा पनि कोरोनाका संक्रमितलाई स्वास्थ्य उपचार तथा आइसोलेसन निर्माण र कवारेन्टाइन व्यवस्थापनमा स्थानीय सरकारको ध्यान पुग्न नसक्नु दुर्भाग्यपूर्ण भएको उनको अभिव्यक्ति थियो ।