अटो चालक भन्छन् : घर बसौं चुलो बल्दैन्, बाटोमा निस्किए प्रहरीले छाड्दैन

  •   
  •  

अमरराज आचार्य
दाङ, १२ असार । घोराहीका अटो चालक उमेशसिंह राठोरले अटो चलाएर आफ्नो जीविका चलाउँदै आएका थिए । तर कोरोना भाइरस संक्रमण रोक्नका लागि सरकारले लकडाउ गरेपछि उनले अटो चलाउन पाएका छैनन् । अटो चलाउन नपाएपछि उनलाई घरको चुलो बाल्नसमेत समस्या भएको छ । घरजग्गा धितो राखेर अटो चलाउन थालेको उनले त्यही अटोको आम्दानीबाट घर–व्यवहार चलाउने गरेका थिए । ‘अहिले अटो नै चलाउन नपाएपछि कसरी घरको चुलो बाल्ने भन्ने चिन्ताले सताएको छ’, राठोरले भने । उनले राहतसमेत पाउन नसकेको बताए । बाध्य भएर अटो निकालेर चलाउन थाल्दा पनि ट्राफिक प्रहरीले समाउने गरेको दुःखेसो पनि उनले सुनाए ।

अर्का अटो चालक लोकबहादुर चलाउनेको समस्या पनि उस्तै रहेको छ । प्रेसरले हान्दा शारीरिक रुपमा अपांग भएका उनले अटोबाट भएको आम्दानीले सम्पूर्ण खर्च चलाउने गरेको बताए । ‘अटो चलाउन नपाएपछि कसरी घरको चुलो बाल्ने भन्ने चिन्ता छ’, उनले भने । उनको ५ जनाको परिवार रहेको छ । स्थानीय सरकार तथा अन्य कुनै पनि संंघसंस्थाबाट समेत राहत नपाएको उनले बताए । ‘अब रोगले भन्दा पनि भोकले मरिने भन्ने चिन्ताले सताउन थाल्यो’, चलाउनेले भने । आफ्नो बस्ने घर तथा जग्गा केही नभएका उनले बैंकबाटको ऋण लिएर अटो निकालेका थिए । अर्का अटो चालक नरबहादुर मिजारको समस्या पनि उस्तै छ । उनले ६ जनाको परिवार अटो चलाएर पालेका थिए ।

तर अटो चलाउन नपाएपछि कसरी परिवार पाल्ने भन्ने चिन्तामा उनी छन् । लामो समयसम्म भएको बन्दका कारण उधारो सामान किन्ने ठाउँले पनि ‘उधारो पाइन्न’ भन्न थालेपछि उनलाई थप चिन्ताले सताएको छ । ‘अटो चलाउन नपाउँदा आम्दानी छैन, आम्दानी नहुँदा उधारो ल्याएको पसलमा दिनसमेत पाइएको छैन’, मिजारले चिन्तामिश्रित स्वरमा भने– ‘घरमा खाने खर्च कसरी जुटाउने भन्ने चिन्ता बढेको छ ।’ हालसम्म उनले पनि कहीँबाट राहत पाउन सकेका छैनन् । अटो किन्दा ल्याएको ऋणको किस्ता तिर्नका लागि बैंकबाट फोन आइरहेको उनले बताए । ‘बैंकबाट फोन गरेर किस्ता तिर्ने भनिरहनु भएको छ कसरी तिर्र्ने ?’ मिजारले भने ।

ट्राफिक प्रहरीले बजारमा सामान ल्याउन जाँदासमेत समाउने गरेको उनीलगायत धेरै अटो चालकहरुको प्रतिक्रिया रहेको छ । केही दिनअघि घरको लागि सामान ल्याउन बजार आउदा तुलसीपुर चोकबाट ट्राफिक प्रहरीले समाइदिएको उनको भनाइ रहेको छ । प्रहरीले यसरी समाइएका अटो चालकहरूलाई जरिवाना तिराउनेसमेत गरेको छ । घरजग्गा धितो राखेर अटो निकालेका राठोरले बैंकको किस्ता तिर्न नसक्दा घरजग्गा नै जाने हो कि भन्ने चिन्ता रहेको बताउँछन् । ‘बैकबाट किस्ता बुझाउनका लागि फोन आइरहन्छ, कसरी बुझाउने ?’ उनको प्रश्न छ । त्यसकारण बाध्य भएर प्रहरीलाई छल्दै उनीहरुले अटो सञ्चालन गर्दै आएका छन् । अटोलाई स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न दिनुपर्ने र स्वास्थ्य सुरक्षा नअपनाउनेलाई नियन्त्रणमा लिनुपर्ने उनको प्रहरीलाई सुझाव छ । ‘स्वास्थ्य सुरक्षा अपनाउनका लागि हामी तयार छौं’, राठोरले भने ।

चलाउनेलाई पनि बैंकको किस्ताले उस्तै सताएको छ । बैंकबाट किस्ता तिर्नका लागि फोन आइरहन्छ । सम्पूर्णरुपमा अटोमै निर्भर रहेका उनी प्रेसरले हान्दा शारीरिकरुपमा समेत अशक्त छन् । अटो चलाउन नपाएपछि अरु काम गरेर बैंकको किस्ता तिर्न उनलाई गाह्रो छ । ‘कसरी ऋण तिर्ने भन्ने चिन्ताले सताउने गरेको छ’, चिन्तित मुद्रामा उनले भने । उनीहरु जस्तै धेरै अटो चालकहरुलाई यस्तै समस्या भोग्नुपरेको छ । आफूहरूका समस्याका बारेमा राज्यले केही नसुनेको र नगरेको उनीहरुको गुनासो रहेको छ । गाउँबाट बिरामी बोकेर ल्याउने अटोलाई समेत प्रहरीले समाउने गरेको उनीहरुको भनाइ रहेको छ । अटोले बिरामी बोक्ने होइन भनेर समाउने गरेको एक अटो चालकले बताए । ‘सबै एम्बुलेन्सको पहुँचसम्म पुग्न सक्नुहँुदैन’, उनले भने । अत्यावश्यक खाद्यान्नलगायतका अन्य सामग्री बोकेर हिँड्दासमेत आफूहरुले पक्राउ खान परेको र जरिवाना तिर्नुपरेको साझा गुनासो छ अटो चालकहरुको ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेम रेग्मीले यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको कारण यात्रु बोकेका अटोलाई नियन्त्रणमा लिइने गरेको बताए । दैनिक नियन्त्रणमा लिएर जरिवाना तिराएर छोड्ने गर्दै आएको उनको भनाइ छ । बुधवार मात्रै ४३ वटा अटो नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘अटो चालकहरूबाट गुनासो आउने गरेका छन् तर संक्रमण बढ्दै जाँदा स्वास्थ्य नै ठूलो कुरा हो भनेर यात्रु बोक्ने कुरालाई नमानिएको हो’, प्रमुख रेग्मीले भने । अटो चालकहरूलाई कोरोनाका बारेमा जानकारी गराएर सम्झाएर पठाउने गरेको पनि प्रमुख रेग्मीले बताए ।