समाचार टिप्पणी : सिठ्ठी फुकेर कोरोना भाग्दैन

  •   
  •  

खेमराज रिजाल
स्थानीय तह र सुरक्षा अधिकारीहरुबीच तालमेल नहुँदा दाङका बजारहरु फरक –फरक समयमा खुला गर्ने औपचारिक निर्णय भएका छन् । घोराहीमा साँझ ५ बजेसम्म पसल खुल्ला रहने अवस्था छ भने तुलीपुर उपमहानगरपालिकाको निर्णय भने भिन्नै छ । यसमा स्थानीय सरकार, प्रदेश सरकार र अन्य कुनै निकायको पनि समन्वय भएको अवस्था छैन । सम्बन्धित क्षेत्रका उद्योगी व्यवसायीहरु पनि यो विषयमा मौन बस्दै आएका छन् । लकडाउनको व्यवस्थापन र आम नागरिकहरुलाई कसरी दैनिकी गुजारा गर्ने भन्ने अभ्यासका सन्दर्भमा स्थानीय सरकारले कुनै पनि योजना ल्याएका छैनन् ।

लकडाउनलाई कसरी सहज बनाउने र व्यवसायीहरुले कसरी राज्यलाई कर तिर्ने भन्ने सवालमा तुलसीपुर उपमहानगरपालिकामा भएको भेलामा पनि नगरप्रमुख घनश्याम पाण्डेले १२ बजेभित्र सबै काम सक्ने अभिव्यक्ति दिए । एक घण्टा पसल खोल्दा हुने भीडभाड र नखोल्दा हुने थप भीडभाडलाई व्यवस्थापन गर्ने सवालमा भने कुनै पनि अभिव्यक्ति आएको छैन । न विद्युतको बिल तिर्न सहज व्यवस्थापन गर्न सकिएको छ, न त बजार खोल्ने विषयमा व्यावसायिक एकता कायम गर्न सकिएको छ ।

घोराही ५ बजेसम्म खुल्ने, तुलसीपुर किन १२ बजे नै बन्द हुने ? व्यवसायीहरुको प्रश्नमा स्थानीय सरकार नाजवाफ छ । भुतको खाना १२ बजे तयार हुन्छ रे भन्ने भनाइ बुढापाखाहरूको थियो । तर सरकार पनि भुतकै पथमा लम्केको हो कि ? भन्दै व्यङ्ग्य गर्नेहरू तुलसीपुरमा प्रशस्तै पाइन्छन् । ‘त्यसैले त दिनको १२ बजे तुलसीपुरमा बजार बन्द हुन्छन् । हिँड्डुल बन्द हुन्छ, कतै चोकमा कपाल पालेका चुल्ठेमुन्द्रे देखिएका नागरिकलाई पुलिसले उपयुक्त ठानेमा मुन्द्रा निकालिदिन्छ, कानमा लगाएका टप निकालिदिन्छ, अनि लामो कपाल पनि काटिदिन्छ’, चिया पसलमा यस्तै प्रतिक्रियाहरू सुनिने गर्दछन् ।

तुलसीपुर उपमहानगरपालिकामा शुक्रवार बसेको बैठकले १२ बजेसम्ममा पसल खोल्न पाउने निर्णयलाई अनुमोदन गरिदियो । तुलसीपुरकै नगर प्रमुख पाण्डेले तुलसीपुर क्षेत्रमा पनि संक्रमितहरु देखिन थालेको भन्दै अब स्थानीय सरकारले आफ्नो मातहतका निकायमा लकडाउनलाई कडा गर्नुपर्ने बताएका थिए । तर तुलसीपुरमा मात्रै लकडाउन कडा किन गरियो भन्ने सवालको जवाफ भने शुक्रबारको बैठकले पनि दिन सकेन ।

तुलसीपुरको विद्युत कार्यालयमा बिल भुक्तानी गर्न आएका नागरिकहरुलाई व्यवस्थापन गर्न नसक्ने सरकारले बजार खोल्न टाइम तोक्नु अत्यत्नै दुर्भाग्यको अवस्था पनि हो । लकडाउन खुलेको पनि छैन, लकडाउन कार्यान्वयन भएको पनि छैन भन्ने धेरैको बुझाइ पाइन्छ । सायद सरकार पनि यही मनस्थितिमा होला । कोरोना भाइरसको संक्रमण फैलने भनेको भीडभाडकै कारण हो । दिनभरीमा २ घण्टा बैंक खुलेपछि त्यहाँ अधिक भीडभाड हुन्छ भन्ने सरकार र सुरक्षा अधिकारीले बुझेको देखिएन । दिनमा तोकिएको समयमा मात्रै दालचामल बेच्ने व्यवस्थापन भए त्यहाँ पनि अचाक्ली भीड हुनेमा कुनै विमति छैन ।

तर सरकारले भने पार्ट–पार्टमा पसल सञ्चालनको नीति लिएको छ । यो संक्रमणको व्यवस्थापनभन्दा पनि संक्रमण फैलाउन भीडभाड जम्मा पार्ने नीति त हैन भन्ने सवाल पनि जनस्तरमा उठेको छ । प्रहरीले सिठ्ठी बजाएर कोरोना भाग्दैन, कोरोना नियन्त्रणका लागि प्याकेजमा सचेतनाका कार्यक्रम ल्याउन आवश्यक भएको सरोकारवाला सुझाउँछन् ।