राधेश्याम उपाध्याय
राजसूय यज्ञ र शिशुपाल वध :
चारै भाइले चार दिशा गई राजाहरुलाई जिति प्रशस्त धन ल्याए । श्रीकृष्णले पनि मथुराबाट असंख्य धन ल्याउनुभयो । राजसूय यज्ञ सुरु भयो । श्रीकृष्णको सल्लाहमा धौम्यजीबाट युधिष्ठिरले यज्ञको दीक्षा लिए । महर्षि व्यास यज्ञको व्यास आशनमा बस्नुभयो । परासर, भारद्वाज, सुमन्त, गौतम, बशिष्ठ, च्यवन, कण्व, मैत्रेय विश्वामित्र, बासुदेव, जैमुनि, ऋतु, पैल, द्वैपायन, गर्ग, वैशम्पाय, धौम्य, परशुराम, भार्गव सहितका ऋषिहरु र धृतराष्ट्र, कर्ण, सकुनी, दुर्योधनका सय भाइ द्रोणाचार्य, भीष्म, विदुर, वाह््लीक, शल्यशाल्व, कृपाचार्य, भूरीश्रवा, पैण्ड्रक, शिशुपाल, द्रुपद, यादवहरु र सम्पूर्ण पृथ्वीका राजाहरु जम्मा भएका थिए । सबैलाई व्यक्ति अनुसारको कामको जिम्मा लगाइयो । दानी कर्ण भनेर ढुकूटीको, जिम्मा दुःशासनलाई भान्साको जिम्मा, सहदेवलाई पूजाको जिम्मा, नकुललाई सामग्री जम्मा गर्ने कामको जिम्मा, अर्जुनलाई मान्यवरको सेवा गर्ने जिम्मा, द्रौपदीलाई भान्सामा खुवाउने कामको जिम्मा कृष्णजीलाई आएका ब्राह्मणहरुको खुट्टा धुने कामको जिम्मा र अन्यलाई पनि आ–आफ्नो योग्यतानुसारको कामको जिम्मा लगाइयो । यज्ञ भव्यताका साथ सुरु भयो । ब्राह्मणहरुले युधिष्ठिरलाई अग्रपूजा गर्न भने । भीष्म तथा अन्य मान्यजनहरुको सल्लाहमा युधिष्ठिरले श्रीकृष्णको अग्रपूजा गर्न लागे । यो देखेर चौद्म देशका राजा शिशुपाललाई असैह्य भयो र रिसाएर युधिष्ठिर र भीष्मलाई निकै अपशब्द बोले । युधिष्ठिरले निकै सम्झाए तर उनी झन उग्र हुँदै गए । श्रीकृष्णलाई पनि निकै अपशब्दहरु रुखा तथा कठोर गालीगलौजहरु गरे । भीमले सहन नसकेर शिशुपाललाई मार्न उठे । तर भीष्मले भीमलाई सम्झाउँदै पुरानो कथा सुनाए ।
शिशुपाल चैत्य देशका राजा दमघोषका छोरा थिए । उनी जन्मँदा चार हात र तीन आँखा भएका थिए । उनी जन्मँदा धेरै अपसकुन भएका थिए र गधाको जस्तो भयंकर स्वर निकालेका थिए । यो सुनेर राजा डराई फाल्न लागेका थिए । त्यसै समयमा आकाशवाणी भयो । यो छोरापछि बलियो र सुरवीर हुने छ, नफाल साथै जसले यो बालक काखामा राखेका बखत तेस्रो आँख लुप्त र दुई सात भूइँमा खस्लान उसैको आतबाट यसको मृत्यु हुनेछ भन्ने सुनियो । अलौकीक बालक जन्मियो रे भन्ने हल्ला सबै ठाउँमा फैलियो । सबै बालकलाई हेर्न आए, रानी सशंकित हँुदै सबैका काखामा बच्चा राख्थिन् । एकदिन बलराम र कृष्ण पनि आफ्नी फुपुकहाँ बच्चा हेर्न आए । फुपुले बच्चालाई पालैपालो दुवैका काखामा राखिदिइन् । कृष्णका काखामा बच्चा राख्नेबित्तिकै तेस्रो आँखा लुप्त भयो र बढी भएका दुवै हात भूइँमा झरे । यो देखेर रानी चकित भइन् र कृष्णलाई भाइ शिशुपाललाई मार्ने छैन भन्ने वाचा गराइन् । कृष्णले पनि म भाइ शिशुपाललाई सय गल्ती (अपराध)सम्म क्षमा दिनेछु भन्ने वाचा गरे । त्यसैले भीम तिमीले मार्न सक्दैनौ, बस । शिशुपालको मर्ने समय आयो अब कृष्णले आफै मार्ने छन् । शिशुपालले कृष्णलाई गालीगलौज तथा दुर्वाच्य बोल्दै गयो । धेरैले सम्झाए तर उसले मानेन । वाचाको सीमा काट्यो कृष्ण क्रोधित भए र सुदर्शन चक्र प्रहार गरी शिशुपाललाई मार्नुभयो । क्रोधले गर्दा दाहिने हातको चोर औंलामा सुदर्श चक्रले घाउ गराउँछ र रगत बग्न थाल्दछ तर स्वयम् कृष्णलाई थाहा हुँदैन तर त्यो पीडा द्रौपदीलाई हुन्छ र तुरुन्तै आफ्नो सारी च्याथेर कृष्णको घाउमा बेरिदिन्छिन् । कृष्णले तुरुन्तै द्रौपदीलाई वरदान दिन्छन् कि हे द्रौपदी यो ऋण म आवश्यक परेको समयमा यो कपडाको धर्सा–धर्सा तिर्ने छु । यो वर द्रौपदीको वस्त्रहरणमा पूरा गर्दछन् । दुष्ट शिशुपाल मरे पनि त्यसको ज्योति कृष्णमा मिलन भयो । यज्ञ निर्विघ्नपूर्वक सम्पन्न भयो । युधिष्ठिरले प्रशस्त गाई, वस्त्र, सुवर्ण भूमि, मणि दान दिए । सवै ऋषि मुनि ब्राह्मणले खुशीका साथ यज्ञ सम्पन्न गरे ।
तपस्वी माण्डब्यको धर्मराजलाई स्राप
एक दिनको कुरा हो, तपस्वी माण्डव्य आफ्नो नित्य कर्म गरिरहेका थिए । केही मानिस दौड्दै आए र हाम्रो रक्षा गर, हाम्रो पछाडि केही डाँकुहरु आइरहेका छन् । हामीलाई मारेर हाम्रो धन लुट्न चाहन्छन् । त्यसैले हाम्रो यो धन आफ्नो आश्रममा लुकाएर हामीलाई भाग्ने बाटा सिकाइदिनुहोस् । हाम्रो रक्षा गर्नुहोस् भन्न थाले । उनका पछाडि केही मानिस पनि आइरहेको देखेर माण्डब्यले ठीकै भने होलान् भन्ने ठानेर त्यो धन आश्रममा राखेर पछाडिको बाटो भाग्न सिकाउँछन् । उनका पछि–पछि फेरी केही मानिस आउँछन् र अघि आएका डाँकुहरुलाई कता भगायौ ? ती डाँकु हुन् हामी राजाका शैनिक हौं । उनीहरुले लुटेको धन यही कुटीमा लुकाएका छन् । तिमी पनि डाँकुका नै मानिस हौ । मुनिको भेषमा डाँकुको सहयोग गरेर जनतालाई लुटिरहेका छौ । तिमी पनि लुटेरा हौ भन्दै आश्रमभित्र गएर अघिका मानिसले राखेको धन पनि ल्याउँछन् । तपस्वी माण्डब्यले प्रतिवाद गर्दछन् । ती अघिका मानिसले पनि यही कुरा भन्दै थिए कि हाम्रो यो धन पछाडिका डाँकुहरुले हामीलाई मारेर हरण गर्न खोज्दैछन् । त्यसैले म कसको कुरा पत्याउ उनी डाँकु कि तिमीहरुको ? डाँकुभन्दा पछाडि आएका राजाका सैनिक भएको प्रमाण पेश गर्दछन् । मुनिले अञ्जानमा डाँकुको सहयोग गरेको स्वीकार्छन् र धन सहित मुनिलाई राजा कहाँ लैजान्छन् ।
राजाको सभामा मुनिलाई पेश गरिन्छ । राजाले मुनि माण्डब्यलाई चिन्दैनन् र उनलाई बटुवाहरुको धन लुटेर हत्या गर्ने काममा डाँकुहरुलाई सहयोग गरेको अपराधमा चौराहामा सुली चढाउने आदेश दिन्छन् । सैनिकले पनि चौराहामा लगेर मुनिलाई तीखो भालामा रोपेर मार्न खोज्छन् तर मूनि भालाको त्यही तीखो टुप्पामै बसेर योग शक्तिले गर्दा तपस्यामा लीन हुन्छन् । उनलाई भालाको तीखो टुप्पाले छेदन गर्न सक्दैन । सबै सैनिक र बटुवाहरु त्यो चमत्कार देखेर आश्चर्यमा पर्दछन् । त्यो समाचार राजाकहाँ पुग्छ र राजाले मुनि माण्डब्य भनी थाहा पाउँछन् । राजा आश्चर्यका साथ दौडादौड मुनिकहाँ पुग्छन् र मुनिसँग माफी माग्दछन् । मेरो एउटा सानो भुलले अनर्थ भयो मलाई क्षमा गर भनेर राजाले बारम्बार मुनिसँग प्रार्थना गरे । मुनिले भने हे राजन् तिम्रो यसमा केही दोष छैन, तिम्रा सैनिकले जुन अवस्थामा मलाई भेटे त्यो अवस्थाअनुसार मैले डाँकुको अञ्जानमा सहयोग गरेको अवस्था थियो । त्यो अवस्थाअनुसार तिमीेले मलाई दिएको दण्डप्रति म दुःखी छैन । म त त्यो अवस्थाको सिर्जना गर्ने समयको दोष हो यो दोष धर्मराजको दोष हो । हे राजन मैले राजाको आज्ञा पालन गरें । अब मलाई तिमीले यो सुलीबाट झर्ने आज्ञा देऊ । म धर्मराजसँग गएर त्यो अवस्थाको सिर्जना गर्न समयलाई किन आदेश दिइयो । मेरो केको पापले त्यो अवस्थाको सिर्जना गरी मलाई किन फसाइयो ? यति भनेर राजलाई आशीर्वाद दिए र बिदा भई मुनि स्वर्ग धर्मसभामा गए र धर्मराजलाई त्यही कुरा सोधे ।
मैले जानेर कुनै पाप गरेको छैन । अञ्जानमा गरेको कुन पापले गर्दा मलाई यस्तो अवस्थाको सिर्जना गरी सुलीको सजाय पाउने गरी फसाइयो ? भनेर सोधे । धर्मराजले भने ‘हे मुनि ! बाल्यकालमा तिमीले पुतली प्रकृतिका किराहरुका पुच्छरमा दुवो तथा सिन्का गोबेर किराहरुलाई बाधा दिने र आफूले मनोरञ्जन लिने गर्दथ्यौं, त्यही पापको फलले गर्दा भएको हो भने । हे धर्मराज १२ वर्ष मुनिको बालकले गरेको कृयाकलापलाई अधर्म मानिँदैन किनकि उसलाई धर्मशास्त्रको ज्ञान हुँदैन । बाल्यकालमा मैले गरेको कर्मलाई पापको संज्ञा दिनु मूर्खता हो, अन्याय हो । न्याय गर्न बसेको न्यायमूर्तिले अन्याय गर्नु हुँदैन । न्याय गर्दा न्यायको मात्रा हेरेर दण्ड दिनु पर्दछ । कानुन नहेरी मात्राभन्दा बढी दण्ड दिनु भीषण ठूलो अन्याय गर्नु बराबर हो । त्यसैले हे धर्मराज यो पापका लागि तिमी मानव योनीमा एक शुद्र माताको गर्भबाट मृत्युलोकमा जन्म लिने छौं र त्यहाँ तिमीले न्याय र अन्यायको समस्या समाधन गर्दागर्दै थकित हुने छौ । यही तिम्रो दण्ड हो भनी स्राप दिन्छन । सोही अनुसार उनी शुद्रा दासीका कोखबाट जन्म लिएका छन् र उनलाई आफ्नो पूर्वजन्मको अवस्था थाहा छैन । उनी प्रकृतिको खेलमा भुलिरहेका छन् । दुःखी छन् कसैले उनले भनेको न्यायको कुरा पालन गर्दैनन् भनी श्री कृष्णले दासीपुत्र विदुरको कहानी अकुरलाई सुनाउनुभयो ।
क्रमशः…