विनोद पोख्रेल
२०७६ चैत १२ गते
सडक रित्तो, आकाश रित्तो, सवारीका साधनहरु नचलेपछि अचम्म लाग्ने बानी बसेछ । हुन त यहाँ सवारीको साधन घोडा मात्रै हुनेबेलाको पनि सम्झना छ । तर मानिस यति उपभोगवादी भइसकेको छ कि त्यो सबै बिर्सिसक्यो । अब त धेरैको आफ्नै सवारीसाधन छ । जसको छैन उसले पनि सार्वजनिकका किरायाका सवारी साधन प्रयोग गर्छ । हिड्ने भनेको अति छोटो दूरीमा मात्र हो । त्यसैले त साँझ र विहान हिड्नेहरु धेरै भेटिन थालेका छन् । हिड्नुपर्छ भन्ने सचेतना पनि छ ।
तर हिड्न पर्दैन वा कामले हिड्ने फुर्सद हुँदैन । अनि निस्केको विकल्प हो यो । अझ रमाइलो कुरो त काम भ्याउनकै लागि छिटो भन्नाले अलि विहानै अँध्यारोमै विहानको हिडाई सक्नेहरु धेरै छन् । आजभोलि भने लकडाउनले यस्ता कार्यक्रमलाई असर पारेको हुनुपर्छ । म यस्तो दिनचर्या नभएको मानिसलाई पनि लकडाउनले प्रभाव पारेको छ । एक दिन थोरै निश्चित दिन होइन विहानबाट दिनभरि रातभरि एकै ठाउँमा चाहे सुत चाहे उठ चाहे काम गर चाहे नगर तर यत्तिमा सीमित हुनु पर्छ । यस्तो स्थितिले शरीर र मन दुवैमा प्रभाव पार्ने हो । तैपनि मानिसले स्वीकार गरेकै छन् ।
मानिसलाई जीवन असाध्यै प्यारो हुने रैछ । यसको रक्षार्थ ऊ जे गर्न पनि तैयार हुने रहेछ । सायद जीवनभन्दा बढी मोह केहीमा हुँदैन । अनि आफ्नो जीवन मात्रै होइन यो मोह आफ्नाको जीवनको लागि पनि हुन्छ । हजारौँ मानिस मरेको खबरले मन त्यत्ति आत्तिन्न तर तुरुन्तै फर्कने भनेर लमही गएका र काठमाडौंमा भएका आफ्ना छोराबुहारी, नातिनातिनीमै मेरो बढी ध्यान छ । यो स्थितिमा एउटा अर्को कुराको पनि अनुभूति गरेको छु । सन्तान त साथी पनि रहेछन् । दुईवटा नाति छन् अहिले घरमा । तिनैसँग बस्यो, तिनैसँग कुरामा हा¥यो अनि हाँस्यो । यसले केही सजिलो गराएको छ । मसँग बस्न आउ भनेर आफै बोलाएर अनावश्यक विषयमा समेत तिनलाई गाली गरेपछिको उनीहरुको प्रतिक्रियाले समेत रमाइलो बनाउँछ । मैले यस्तो परिवेशलाई मित्रवत परिवेश नै सम्झेको छु । मनमनै हाँस्ने अनि मुखले गाली गरेजस्तो गर्ने मौका कहिलेकाहीँ पर्छ र रमाइलो लाग्छ । एउटा अर्को पक्ष मलाई आफ्नो जीवनसँग कति मोह छैन । अब म लामो जीवन बाँच्नुको मतलव नै छैन ।
तर यो कुरो व्यक्त गर्न पनि हुने रहेनछ र अर्को पक्ष वर्तमान परिस्थितिमा म विरामी हुनु भनेको मेरो परिवारका अन्य सदस्य पनि विरामी हुनु हो । यो भने मैले कल्पना पनि गर्न नसक्ने विषय हो । यति सबैभन्दा वा सोच्दा पनि कतै चाहिने र गर्नुपर्नेभन्दा पनि बढी स्थितिमा पु¥याएर बढी भयावह रुपमा स्थितिलाई व्याख्या गरिँदै छ कि जस्तो पनि लाग्छ । भाइरस अझ भनौँ कुनै पनि भाइरसबाट बच्ने अन्य धेरै उपाय छन्, खास गरेर आयुर्वेदमा भन्ने यसका विज्ञहरुको दाबी छ । तर त्यसमा हाम्रो विश्वास नै छैन अब । एलोपेथिकको भरमा बाँच्नेका लागि त यो त्रास बढी स्वाभाविक हो । त्यसमा पनि विदेशीबाट समेत प्रभाव पर्ने अवस्थामा सतर्क हुनै पर्छ । हामी फेरि प्रकृतिमा सीमित भएका छौँ । प्रकृतिको महत्व बुझाउने प्रयास हो कि यो परिवेशको ?
२०७६ चैत १३ गते
यो लकडाउनले कतै अर्को समस्या सिर्जना गर्ने त होइन ? दुई दिन मात्रै बितेको छ । यो दुई दिन बिताउन कति गाह्रो भयो, त्यसैको भरमा मैले यो शंका गरिरहेको छुँ । हुन त यो व्यक्तिको अलग अनुभव हुने विषय हो । मैले लेखदा मेरो आफ्नो अनुभव लेख्ने हो । मेरो अनुभवको भरमा भन्ने हो भने यो परिवेशले मानिस इलोक्ट्रोनिक वस्तुहरुको संगतमा झन बढी भएको छ । टिभी, ल्याप्टप, मोवाइल फोन, ट्याब्लेट आदि के–के हुन् तिनै मुख्य साथी भएका छन् । यसले भौतिक असर त स्वाभाविक रुपमा पर्छ नै, मेरो शंका मानसिक रुपमा पनि पर्छ कि भन्ने हो ।
जीवन शैली नै फेरिनु अथवा फेर्न वाध्य हुनु भनेको कुनै मजाक होइन । दिन निश्चित त छैन तर भारतमा लकडाउन २१ दिनको गरेकोले यहाँ पनि बढाउने निश्चित प्रायः छ । भन्न त साथीहरुसँग प्रत्यक्ष कुराकानी गर्ने साधन छन् अथवा नयाँ चिन्तन, नयाँ विचार, योगाभ्यास आदिका कुरा गरेर सकारात्मक व्याख्या पनि गरिन्छ । तर साधनको प्रयोग गर्न आर्थिक तथा प्राविधिक रुपले कति सकिन्छ वा कतिले गरिरहेका छन् त्यसको तथ्यांक कसले दिनसक्छ ? मैले जानेको छु त्यसकारण सबैले जानेका छन् भन्ने हुँदैन । मैले त नढाँटेर भन्ने हो भने श्रीमतीसँग गर्ने गफ पनि सकिसकेँ जसतो लाग्छ । नातिहरु दुईवटा घरमा नभएको भए म त यही दुई÷तीन दिनमै पागल भइसक्थेँ कि जस्तोसम्म लाग्न थालिसक्यो । तिनीहरु पनि मोवाइल वा ट्याब्लेट वा टिभी आदिमै बढी व्यस्त हुन्छन् ।
तिनैलाई कहिले गाली गर्ने कहिले सम्झाउने तर आफूले भोगेका परिवेश सम्झेर उनीहरुले थाहा नपाउने गरी टिठ र सहानुभूति पनि आउने भोगाईलाई पनि धेरै धानेको छ । घरको कामको कुरो गर्ने हो भने म जुन स्थितिमा छु त्यसमा मैले गर्ने काम केही छैन । मजस्ताको प्रायः हुँदैन । पहिले पनि थिएन, चिन्तनका कतै नकारात्मक प्रभाव पर्छ कि जस्तो लाग्न थालिसक्यो । जीवनरक्षाको कुरो हो । यसमा असहमति छैन । तर स्वइच्छाले होस् वा वाध्यताले होस् थुनिनु पनि त मानव स्वभाव विपरित नै हो । जुन नाममा भए पनि यो थुनिएको नै हो । मैले एकपल यस्तै स्थितिलाई इंगित गर्दै लेखेको थिएँ :
हिन्दूको होस् वा मुसलमानको
मन्दिर मन्दिरै हो
सुन, चाँदीको होस् वा फलामको
जञ्जीर जञ्जीर नै हो ।
आज पनि स्वइच्छाले नै सही अथवा सही उद्देश्यकै लागि नै भए पनि हामी जञ्जीरभित्र छौँ । तर जञ्जीर जञ्जीर नै हो । जञ्जीरमा बाँधिएको मानिस या त अशक्त र शिथिल हुन्छ या त विद्रोही । यसको के परिणाम आउने हो हेर्न बाँकी छ । तर आज त कतै हरघरमा एउटा मानसिक रोगी हुन्छन् कि भन्ने समेत डरले म झस्किएको छु । त्यसकारण अहिले बढी चाहिने शक्ति भनेको सम्यम र आत्मबल हो । यो अलिकति पनि कमजोर भयो भने परिणाम नकारात्मक नै आउने छ भन्ने शंकाले सताएको छ ।