Goraksha

National Daily

संविधान विपरीतको व्यवस्था अमान्य : निधि

दाङ, १२ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नागरिकताका बिषयमा संविधान विपरीतको व्यवस्था गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले संविधानको व्यवस्थाविपरीत कानुन निर्माण गर्न खोज्नु संविधानको उल्लंघन हुन्छ भन्दै उनले यस्तो कुरामा कांग्रेसको सहमति नहुने बताए ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुसँग विभिन्न विषयमा अन्तर्संवादमा बोल्दै उपसभापति निधिले एमसीसी सम्झौताबारे नेपाली कांग्रेस पार्टी र संसदीय दलले नै समर्थन गर्ने निर्णय गरिसकेको बताउँदै भने– ‘तर सरकारले संसदमा कहिले प्रस्तुत गर्ने हो त्यो सरकारमा बस्नेहरुकै जिम्माको विषय हो ।’

जुम बैठकमा जिल्ला सभापतिहरुसँग कोरोना संक्रमणको अवस्था, एमसीसी, सीमा, नागरिकता विधेयकजस्ता समसामयिक विषयसहित पार्टीको अवस्थाबारे छलफल भएको थियो । बैठकमा झण्डै ३० जिल्लाका सभापतिहरूले धारणा राखेको कांग्रेसले जनाएको छ ।