Goraksha

National Daily

सीमा समस्याको समाधान तत्काल खोज्न सुझाव

नेकपाको स्थायी कमिटी बैठक
काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको शुक्रवारको बैठकमा नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी मुद्दामा केन्द्रित भएर सदस्यहरुले विचार राखेका छन् । असार १० गतेदेखि पार्टीको स्थायी कमिटीको बैठक शुरु भएको थियो ।

शुक्रबारको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने अनुपस्थित थिए । सरकारको काममा व्यस्त भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित हुन नसकेको जानकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गराएका थिए ।

शुक्रबार सीमा अतिक्रमणसम्बन्धी एजेन्डाको छलफलमा १८ स्थायी कमिटी सदस्यले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले बैठकमा नेपाल र भारतको सीमा विवाद र भएका प्रयासबारे जानकारी गराएका थिए ।

ज्ञवालीले बैठकमा कुटनीतिक माध्यमबाट भारतसँग सीमा समस्या समाधानका लागि पहल भए पनि भारतले चासो नदिएको जानकारी गराएका थिए । ‘कुटनीतिक संवादबाट नै नेपालको अतिक्रमित भूमि प्राप्त गर्नेगरी पहल भइरहेको छ’, मन्त्री ज्ञवालीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने– ‘भारतले सकारात्मक पहल गरेको छैन ।

तर भारतले कुटनीतिक माध्यमबाट नै यो बाटो खुला गर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ सँगै मन्त्री ज्ञवालीले चीनबाट नेपाली भूमि अतिक्रमित भएको भन्ने खबर सार्वजनिक भएकोप्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले यो कुरा झुठो, भ्रमात्मक र नियोजित प्रचार भएको जानकारी बैठकमा गराए ।

उनले बैठकमा चीनसँग सीमा समस्या नभएको प्रष्ट पारेका हुन् । शुक्रबारको बैठकमा बोल्ने नेताहरुले भारतसँगको सीमा समस्याको समाधान चाँडोभन्दा चाँडो गर्नुपर्नेमा जोड दिएका छन् । अहिले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको मात्र चर्चा भएको भन्दै तराई र अन्य पहाडी जिल्लामा देखिएको सीमा विवादको समेत समाधान गर्ने समय यही भएको धारणा नेताहरुले राखेका छन् ।

शुक्रबारको बैठकमा नारायणकाजी श्रेष्ठ, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, शंकर पोख्रेल, पम्फा भुसाल, रघुवीर महासेठ, छविलाल विक, बेदुराम भुसाल, भीम रावल, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाललगायत धारणा राखेका छन् । सीमा विवादको विषयमा शनिबार बिहान ११ बजेपछि बस्ने बैठकमा थप स्थायी कमिटी सदस्यले धारणा राख्ने प्रवक्ता श्रेष्ठले बताए ।