Goraksha

National Daily

लेदो प्रशोधन प्लान्ट निमदेखि कुकुर बन्ध्याकरणमा बजेट

बालाराम खड्का
तुलसीपुर, १२ असार । लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३ करोड ७४ लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ ।

सातौं नगरसभामा उपप्रमुख देवका बेल्वासेले बुधवार सार्वजनिक गरिएको बजेटमा चालुतर्फ ४९.९ पूँजीगततर्फ विकास, नगर तथा वडास्तरीय पूर्वाधार विकास तथा अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि ५२.०२ प्रतिशत रहेको छ । बजेटमा दिसाजन्य लेदोको दिगो तथा बैज्ञानिक व्यवस्थापन गर्न प्रशोधन प्लान्ट निर्माण गर्ने कार्यको लागि २ करोड बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

लमहीमा सर्पदंश उपचार केन्द्र भवन निर्माणको लागि १ करोड रकम विनियोजन गरिएको छ । सडक तथा सामुदायिक कुकुर बन्ध्याकरण शिविर तथा पशु स्वास्थ्य शिविर सञ्चानका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

बजेटमा स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिइएको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि २ करोड ५० लाख विनियोजन गरिएको छ । सो बजेट औषधि तथा स्वास्थ्य सामग्री खरिद, कोभिड–१९ का कारण रोजगारी गुमाएका तथा अन्य रोजगारी व्यक्तिहरु कृषि, पशुपालन तथा व्यवसायिक क्षेत्रमा रोजगारी उन्मुख बनाउने खालका कार्यक्रममा समेत खर्च गरिने उपप्रमुख बेल्वासेले जानकारी दिइन् । सिकलसेल एनेमिया र थालेसिमियासम्बन्धी सचेतनामूलक कार्यक्रम, पूर्णखोप सेवा उपलव्ध वडा घोषणा गर्ने र स्वास्थ्य चौकीमा प्रयोगाला विस्तार गर्न ८० लाख बजेट विनियोजन गरिएको छ ।

लमही अस्पतालको समग्र सञ्चालन, व्यवस्थापन र स्वास्थ्यकर्मीका लागि १ करोड ८० लाख, पशु सेवासँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि ९५ लाख, तरकारी खेती विकास आयोजना तथा नगर बीउ आत्मनिर्भर कार्यक्रम तथा च्याउखेती विकास कार्यक्रमको लागि १४ लाख ४० हजार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० लाख र भैसीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमका लागि २५ लाख विनियोजन गरिएको उपप्रमुख बेल्बासेले बताइन् ।

नगरपालिकाले नगरभित्र कृषि क्षेत्रको विभिन्न कार्यक्रम सञ्चालन गर्न ८० लाख, जनतासँग मेयर कार्यक्रमअन्तर्गत नगरक्षेत्रका विकास पूर्वाधारबाट वञ्चित रहेका समुदायलाई लाभ पुग्न सक्ने गरी बेरोजगार व्यक्तिहरुलाई तत्काल रोजगार प्रदान गर्ने योजना सञ्चालन गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।

शिक्षामा सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट सशर्त अनुदानस्वरुप १ करोड २८ लाख ३४ हजार, शिक्षा युवा तथा खेलकुद क्षेत्रका सबै क्रियाकलापका लागि १ करोड र कोभिड १९ को कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरणका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै न्यायिक समितिबाट प्रदान गरिने सेवामा सबै नगरवासीको सरल र सहज पहुँच सुनिश्चित गर्न २५ लाख विनियोजन गरिएको छ ।