आँखा अस्पताललाई अध्ययन केन्द्रको रुपमा विकास गरिने

तुलसीपुर, ९ असार । नेत्र सहायक विषय पढाई सञ्चालन गरिरहेको राप्ती आँखा अस्पताललाई नेत्र विशेषज्ञहरुको अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्ने सहभागीहरुले बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आयोजनामा नेत्र सहायक कक्षा सञ्चालनको समीक्षासहित बधाई तथा सम्मान कार्यक्रममा सहभागीहरुले यस क्षेत्रमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका खेलेको अस्पताललाई विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालले आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन गरेको नेत्र सहायकहरुको दोस्रो व्याचको तालिम कार्यक्रमअन्तर्गत लिएको परीक्षामा भर्खरै प्रकाशित परीक्षाफल अनुसार ९७.४४ प्रतिशत विद्यार्थी सफल भएकोमा विद्यार्थी तथा अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रमका उपसमितिलगायत त्यसमा अध्यापन गराउने टिमलाई बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा राप्ती प्राविधिक शिक्षालय र राप्ती आँखा अस्पतालको दाङको साझेदारीमा सञ्चालित नेत्र सहायक कार्यक्रमलाई सफल गराउने अध्ययन, तालिम तथा अनुसन्धान कार्यक्रम उपसमितिका संयोजक र शैक्षिक सत्र २०७३/०७४ को पहिलो व्याचको तेस्रो बर्षको बार्षिक परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको भन्दै प्रिन्सिपललगायत सञ्चालक समिति, कर्मचारी र शैक्षिक सत्र २०७३/०७४ पहिलो व्याचकी तुलसीपुर–४ निवासी प्रतिक्षा रावललाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले लिएको अन्तिम परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल भएको भन्दै अस्पताल व्यवस्थाप समितिले सम्मानका साथै बधाई ज्ञापन गरेको थियो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल नेत्र सहायकहरुको प्रशिक्षण केन्द्रको रुपमामात्र नभई नेत्र विशेषज्ञहरुको अध्ययन केन्द्रको रुपमा विकास गर्ने

लक्ष्यअनुरुप राप्ती आँखा अस्पतालको समग्र गुरुयोजना तयार पारिएको बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्का, संघका सचिव एवं अध्ययन, तालिम तथा अनुसन्धान कार्यक्रम उपसमिति संयोजक सुरेन्द्रबहादुर खड्का, संघका सहसचिव चिरन्जीवी रिजाल, सहकोषाध्यक्ष घनश्याम सुवेदी, चिफ मेडिकल डाइरेक्टर तथा प्रिन्सिपल डा. सुलक्ष्मी कटुवाल, वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापा, राप्ती आँखा अस्पतालका मेसु डा. सुरेश रसाइली, नेत्र विशेषज्ञ डा. कौशल पोख्रेल, डा. महेश गुप्ता, प्रशासक किरण पौडेल, प्रशासकीय अधिकृत जसराज विश्वकर्मा, दृष्टि विशेषज्ञ मदन चौधरी, ओम यादव, नेत्र अधिकृत शालिकराम गौतम, ल्याव टेक्निसियन सन्तोष शर्मा, विद्यार्थी प्रतीक्षा रावललगायतले मन्तव्य राखेका थिए । यसैबीच नेपाल नेत्रज्योति संघ केन्द्रका अध्यक्ष प्रा.डा चेतराज पन्तले अस्पतालले आर्थिक बर्ष २०७३/०७४ मा सञ्चालन गरेको नेत्र सहायकहरुको दोस्रो व्याचको तालिम कार्यक्रमअन्तर्गत लिएको परीक्षामा ९७.४४ प्रतिशत विद्यार्थी सफल भएकोमा विद्यार्थी, प्राध्यापक, संघका शाखा, अस्पताल र कर्मचारीलाई बधाई ज्ञापन गरेका छन् ।