क्वारेन्टाइनभित्रको अमानवीयता : ‘अपराधी जस्तै बनाईयो’

देवेन्द्र बस्नेत
दाङ, ९ असार । छुट्टै घर । परिवारका सदस्य नजिक पर्नै चाहन्नन् । सानी छोरी भन्छिन्– ‘बाबालाई कोरोना लागेको छ छुन हुन्न ।’ १४ दिनसम्म क्वारेन्टाइनमा बसेका दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ सौँडियारका दामोदर भण्डारी (नाम परिवर्तन) कोरोना जाँचविनै घरको बन्द कोठामा थुनिन गईपुगे । दुई साता लामो क्वारेन्टाइन बसाईका क्रममा उनले थाहा पाउन सकेनन् ‘मलाई कोरोना छ कि छैन’ भन्ने ।

भारतबाट ५ जेठमा आएका उनी परिवारका कुनै पनि सदस्यसँग घुलमिल हुन पाएका छैनन् । आफ्नो स्वास्थ्य जाँचका लागि आतुर उनी भन्छन्– ‘पिसिआर टेष्ट कहिले होला ?’ चेक नगराएरै किन घर जानुभयो त ? उनले फोनमा जवाफ दिए– ‘म आफूखुशी आएको हैन, मलाई निकालिएको हो ।’

आरडिटी परीक्षणकै भरमा क्वारेन्टाइनबाट निकालिएका दामोदरले निकालिनुको पीडा मात्रै सहेनन् । आएकै दिनदेखिको ‘अमानवीयता’ सहेका उनी भन्छन्– ‘हामीलाई अपराधीजस्तै बनाइयो ।’ ५ जेठमा दाङ आइपुगेका दामोदरले आफू आउन लागेको वडा कार्यालयलाई पूर्व जानकारी गराइसकेका थिए । क्वारेन्टाइनमै बसेर स्वास्थ्य जाँच गराएर मात्रै घर जाने निधो गरेका दामोदरले दाङ आइपुगेकै दिन क्वारेन्टाइनभित्रको अमानवीयता सहनु प¥यो ।

उनी क्वारेन्टाइन सञ्चालन गरिएको विद्यालय मावि सौँडियारको हाताभित्र प्रवेश त गरे तर कोठा पाएनन् । उनी भन्छन् ‘राति स्कुलको बरण्डामै सुत्यौँ ।’ विहान ३ बजेतिर आफूहरु आइपुगेको जानकारी दामोदरले वडाध्यक्षलाई गराइसकेका थिए । ‘हामी आईपुग्यौँ, हामीहरुलाई बसाल्दिनुप¥यो भनेर वडाध्यक्षलाई भन्यौँ,’ उनले भने– ‘तर हाम्रो व्यवस्थापनका लागि कोही पनि आएन, अनि राति बरण्डामै सुत्यौँ ।’ बिहान ३ बजे क्वारेन्टाइन आइपुगेका दामोदरसहितको ६ जनाको समूहले १६ घण्टापछि बल्ल कोठा पायो । ‘राति आइपुगेको शरीर थाकेको थियो,’ उनले भने– ‘१६ घण्टापछि बल्ल कोठामा पस्न दिइयो ।’

क्वारेन्टाइन प्रवेशपछि त्यहाँभित्र गरिएको व्यवहारले उनलाई झनै खिन्न बनायो । ‘हामीहरुलाई अछुत जस्तै बनाइयो,’ उनले भने– ‘हामीमाथि कडा शासन लादियो, हामी कतै हिँड्दा पनि त्यता हिँड्ने हैन कोरोना सर्छ भनेर अमानवीय व्यवहार देखाइयो ।’ खानपानको असुविधा उत्तिकै । परिवारले साँझ–विहान खाना बोकेरै ल्याइदिनु प¥यो । पानीको असुविधा उस्तै । ‘शौचालय जाने पानी पनि नभएपछि एक दिन एकजनाको घरबाट पानी माग्यौँ,’ उनले सुनाए । भुईमा सुत्नु परेको सकस सुनाउँदै दामोदरले थपे– ‘त्यहाँको अमानवीय व्यवहारको कुरा गरी साध्यै छैन, तैपनि कोरोना परीक्षणका लागि सबै सह्यौँ ।’

कोरोना परीक्षण गरेर आफ्नो स्वास्थ्यको निक्र्यौल गर्ने अभिलाषाले ‘क्वारेन्टाइन सकस’ झेलेका दामोदर आफ्नो स्वास्थ्यको भरपर्दो परीक्षण नगरेरै निकालिनुप¥यो । क्वारेन्टाइन बसाईको १४औँ दिन कोरोना परीक्षण हुने हल्लाले उनी निकै खुशी भए । अर्को एक विद्यालयमा परीक्षणका लागि लगिएका उनलाई लाग्यो ‘पक्कै पिसिआर परीक्षण हो ।’ तर उनको आरडिटी परीक्षण गरियो । उक्त परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आयो । अनि क्वारेन्टाइनले उनलाई कोरोना नभएको निक्र्यौल गरेर घर जान भन्यो । ‘आरडिटी हैन, पिसिआर परीक्षण गरेर मात्रै हामी घर फर्कन्छौँ भन्यौँ,’ उनले भने– ‘तर हाम्रो केही जोर चलेन ।’

आफूहरुले परीक्षण गर्न सक्ने भनेकै आरडिटी मात्रै हो भन्दै वडाध्यक्ष खोपीराम चौधरीले क्वारेन्टाइन खाली गर्न उर्दी दिए । अन्यथा उनीहरु बसेकै कोठामा भारतबाट आएका थप ६ जनालाई कोचेर राख्ने धम्की दिए । ‘त्यो दिन भारतबाट अरु ६/७ जना आउन थालेका रहेछन्,’ दामोदरले भने– ‘घर नगए उनीहरुसँगै कोच्चिएर एउटै कोठामा राख्ने धम्की दिएपछि संक्रमणको झन खतरा देख्यौँ र घर निस्कियौँ ।’ आफू घरमा पुगे पनि बन्द कोठामै सीमित छन्, उनी । पिसिआर विधिबाट आफ्नो जाँच नहुँदासम्म आफूमा कोरोना भए÷नभएको उनको मनले एकिन गर्नै सक्दैन । ‘सुर्खेतमा आरडिटी चेक गराएर घर पठाइएका १ जनाको कोरोनाकै कारण मृत्यु भयो,’ उनले भने– ‘हामीहरुको जसरी भए पनि पिसिआर परीक्षण गराइदिनुप¥यो ।’

दामोदरसँगै भारतबाट आएका रविन केसी (नाम परिवर्तन) ले क्वारेन्टाइनको १४ दिन लामो सकस काटे । १४ दिनपछि उनको बसाई अहिले गोठमा छ । यसको कारण उनी पनि क्वारेन्टाइनबाट दामोदरसँगै निकालिए । ‘क्वारेन्टाइनमा बसेर आफ्नो चेकजाँच होला र घर फर्किऊला भनेको अहिले क्वारेन्टाइनबाट निक्लिएर गोठमा बस्नुपरेको छ,’ उनले भने– ‘हामीहरुलाई यस्तो अमानवीय व्यहार स्थानीय सरकारले गरेको छ, मानौँ हामीहरु ठूलै अपराध गरेका आएका हौँ ।’ रविनसँगै गोठमा उनका भाइ पनि छन् । गोठमा सकसपूर्ण दिन काट्नु परेको सुनाउँदै रविनले थपे ‘हामीहरु कहिलेसम्म गोठमा बस्ने ? सर्प, बिच्छीको जोखिम उत्तिकै छ ।’

उनले पनि आफू पिसिआर परीक्षण नहुँदासम्म क्वारेन्टाइनमै बस्ने अडान लिएका थिए । तर आरडिटी परीक्षणलाई सर्वेसर्वा भन्दै थप केही नहुने वडाध्यक्षले सुनाइदिए । ‘हामीहरुले गर्न सक्ने भनेको यही चेक हो,’ वडाध्यक्ष चौधरीको भनाइ उद्धृत गर्दै रविनले भने– ‘तपाईहरु निक्लिहाल्नुस् नत्र अरु मान्छे कोचिदिन्छु ।’ वडाध्यक्षको यो धम्कीपछि रविन पनि घर फर्कने निधोमा पुगे । तर परिवार सँगसँगै कसरी घुलमिल हुनु ? भत्कन आँटेको जीर्ण गोठमा उनको बसाई शुरु भयो ।

‘हामीहरुले उहाँलाई कसरी छुने ? मान्छे पो आफ्नो हो, रोग कसरी आफ्नो हुन्छ ?’ रविनकी श्रीमती उमा (नाम परिवर्तन) ले भनिन्– ‘मेरो श्रीमानमा कोरोना छ कि छैन भन्ने नै एकिन गर्दिएन सरकारले ।’ उमाले पनि वडाध्यक्षसमक्ष आफ्नो श्रीमानको पिसिआर परीक्षणका लागि बिन्ती गरेकी थिइन् । उनले थपिन्– ‘गलहत्याएर निकालेको जस्तै भयो ।’ घोराही–७ स्थित क्वारेन्टाइनबाट आरडिटी परीक्षण मात्रै गरेर निकालिएकाहरुले आफूहरुको पिसिआर परीक्षणका लागि माग गरे । जिल्ला स्वास्थ्य कार्यालयले उनीहरुको स्वाब २६ जेठमा लिएको छ । तर अहिलेसम्म परीक्षण रिपोर्ट भने आइसकेको छैन । पिसिआर परीक्षणको पर्खाईमा रहेका उनीहरु अहिले पनि छुट्टै घरमा बस्दै आएका छन् ।