ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सुरक्षाको जिम्मेवारी लिएर प्रहरी प्रमुखको भूमिकामा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह आएका छन् । राजनीतिक शास्त्र र सामाजिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका सिंहले तुलसीपुरलाई पूर्ण सुरक्षा अनुभूति दिलाउन भिन्नै मिशन लिएर आएको बताउँछन् । नेपाल प्रहरीको विशेष व्यूरो, अपराध अनुसन्धान महाशाखा तथा काठमाडौं प्रहरी वृत्तको समेत जिम्मेवारी सम्हालेका सिंहले विशेष गरी लागूऔषध दुव्र्यसनी न्यूनीकरणमा विशेष दख्खल राख्छन् । भर्खरै सरुवा भएर तुलसीपुर ईलाका प्रहरी कार्यालयमा आएका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपाईंलाई गोरक्ष सातावार्तामा ।
धन्यवाद, तपाईं अनि तपाईंको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई, मलाई शान्ति, सुरक्षाका विषयमा केही कुरा राख्ने अवसर दिनुभएकोमा ।
भर्खरै ईलाका पहरी प्रमुखको जिम्मेवारीमा आउनुभएको छ, तपाईंका केही सुरक्षा योजना छन् कि ?
सुरक्षा योजना भन्दा पनि मिशनको कुरा हो । मिशन प्राप्त गर्नका लागि जनताको सहयोग पनि त्यत्तिकै आवश्यक छ । जनताको सहयोग पाउनका लागि प्रहरीले पनि जनमैत्री काम गर्नुपर्छ भन्ने मैले बुझेको छु । त्यसैले मैले सबैभन्दा पहिलो अभियानका रुपमा क्वीक रेस्पोन्स र क्वीक एक्सनलाई प्राथमिकतामा राखेको छु । नागरिक सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले तत्काल आपराधिक घटनाको खबर पाउने र तत्कालै एक्सन लिने गरी टिम म्यानेज गरिरहेको छु । त्यसका लागि मेरो कार्य क्षेत्रभरि ४ वटा क्वीक रेस्पोन्स टिम निर्माण भइसकेको छ । एउटा टिममा जम्मा ८ जना सुरक्षाकर्मीहरुलाई खटाएको छु । ताकि आपराधिक घटना भएको बढीमा ५ मिनेटमा सुरक्षाकर्मी सम्बन्धित स्थानमा पुग्नेछन् । खबर पाएर पनि प्रहरी ढिलो घटना स्थलमा पुग्ने समस्याले धेरै आपराधिक घटनाले प्रश्रय पाएको अवस्थालाई मध्यनजर गर्दै अब नागरिकले खबर गरेको ५ मिनेटमै सबै कुनामा प्रहरी पुगिसकेको हुने छ ।
सुरक्षा जनशक्ति नै कम छ, त्यसले समग्र शान्ति सुरक्षाको भूमिका प्रहरीले निर्वाह गर्न सकिरहेको छैन भनिन्छ नि ?
जनशक्तिको कुरा फरक पाटो हो । तपाईंले अन्तर्राष्ट्रिय मापदण्ड हेर्नुहुन्छ भने एक जना प्रहरीले ८ जनालाई मात्र हेण्डिल गर्न सक्छ, तर नेपालको सन्टेस्टमा एक जना प्रहरीले कम्तिमा ८ सय नागरिकलाई सुरक्षा दिएको अवस्था हो । त्यसमा पनि मैले नेतृत्व गरेको तुलसीपुरमा एक जना सुरक्षाकर्मीले १ हजार नागरिकलाई सुरक्षा दिनुपरेको छ । तर मैले चाहँदैमा राज्यले यहाँ आवश्यकता अनुसारको दरबन्दी बढाउने अवस्था अहिले देखिँदैन । यही जनशक्तिबाट हामीले आम नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने हो । मैले भनिहाले नि चाँडै रेस्पोन्स भयो भने नागरिकले नै प्रहरीको भूमिका निर्वाह गर्ने छन् । नागरिकको सहयोग प्राप्त भएको अवस्थामा ८ जना सुरक्षाकर्मीले मात्रै पनि तुलसीपुरको सुरक्षा हेण्डिल गर्नसक्ने छन् । मैले चाहेको छु, आम तुलसीपुरवासी बिनाबर्दीका प्रहरी बनून् । जसले तुलसीपुरको शान्ति सुरक्षाको अवस्था मज्बुत पनि होस् ।
केही सुरक्षा योजना पनि ल्याउनुभाएको छ कि ?
सुरक्षा योजनाभन्दा पनि आवश्यकता अनुसार परिचालित हुने हो । अहिलेको विषम परिस्थितिमा लकडाउनको व्यावस्थापन, बजार व्यावस्थापन, आपराधिक घटनाको छानवीन, बैंक तथा वित्तीय संघसंस्थाहरुमा सामाजिक दूरी व्यावस्थापनसँगै लागूऔषध दुव्र्यसनी र घरघरमा हुने श्रीमान र श्रीमतीको झगडा मिलाउन पनि प्रहरीकै भूमिका रहन्छ । यो सँगै आफ्नो भिजन र मिशन पनि फरक–फरक हुनसक्छ । मैले यस अघि एक महिनामा एक मिशन लिएर सुरक्षा अधिकारीको भूमिका निर्वाह गरिरहेको थिएँ । तर अहिलेको विशेष परिस्थितिमा भने मैले एकै महिनामा ५ वटा मिशन लिएर एक्सनमा जाने तयारी गरिरहेको छु । मेरा ५ मिशनमा आम नागरिक पनि सुरक्षा व्यवस्थापनका साझेदार बन्ने मैले आशा गरेको छु ।
तपाईंका ५ मिशनलाई पोइन्टवाइज भन्नुस् न ?
मेरो पहिलो मिशन भनेको हरेक नागरिक बिनाबर्दीको नेपाल प्रहरी बन्नु पर्दछ । यही अभियानमा हामी लागिपरेका छौँ, अहिले । त्यसैले आम नागरिकका सुरक्षा समस्याहरुलाई उनीहरुले नै हामीलाई जानकारी गराउने छन् । दोस्रो मिशन भनेको प्रहरीको आचरण र व्यवहारमा सुधार गर्नु हो । हरेक प्रहरीले आम नागरिकलाई तपाईं र हजुर भनेर सम्बोधन गर्ने छन् । तर कानुनी सीमा भन्दा बाहिर गएका नागरिकलाई भने हजुर तपाईं भन्नुपर्ने छैन भन्ने पनि हामीले बुझेका छौँ ।
तेस्रो मिशन भनेको लागूऔषध दुव्र्यसनी नियन्त्रणको पनि हो । त्यसका लागि इन्स्पेक्टरको कमाण्डमा स्पेशल टिम पनि बनिसकेको छ । यही टिमको सक्रियताले एउटा लागूऔषध कारोबारी ग्रुपलाई नियन्त्रणमा समेत लिइसकेका छौँ । दाङमा यस्ता अन्य दुईवटा गु्रप पनि छन् भन्ने सूचना आएको छ । उनीहरुका नजिक पनि विशेष टिम पुगिसकेको छ । सम्भवतः तुलसीपुरमा अबको ६ महिनामा कुनै पनि दुव्र्यसनी हुने छैनन् र कारोबारी पनि हुने छैनन् भन्ने हाम्रो अपेक्षा हो । तेस्रो चौथो मिशन भनेको सामाजिक गुण्डागर्दी र टोलेगुण्डाका गतिविधि नियन्त्रण हुन् र पाँचौँ मिशन भनेको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण हो । यसका लागि यसै साता सबै चालकहरुलाई बोलाएर प्रशिक्षण समेत दिइने छ ।
हरेकखाले सामाजिक अपराधदेखि यौनजन्य अपराध र घरेलुहिंसामा पनि दुव्र्यसनीकै कारण भएको देखिन्छ, कसरी सम्भव होला लागूऔषध दुव्र्यसनी न्यूनीकरण ?
नेशनल गिरोह र इन्टरनेशनल गिरोहका विषयमा कुरा नगरौँ । मैले गर्ने भनेको यहाँका लोकल कारोबारी र लोकल दुव्र्यसनीकै विषयमा हो । अहिलेसम्म पाएको सूचनामा लागूऔषध कारोबारीमा यहाँका सम्भ्रान्त व्यापारी जोडिएको अवस्था छैन । त्यसैले पनि उद्योग वाणिज्य संघ तथा नागरिक समाजका अगुवाहरुसँग पनि यो विषयमा गम्भीर छलफल भइरहेको छ । सेवनकर्तालाई निस्तेज पार्नका लागि पनि कारोबारीलाई ठप्प पार्नु छ । स्थानीय स्तरमा उत्पादन हुने गाँजा अब कसैका बारीमा हुने छैनन् ।
स्थानीय प्रहरीले खोजी–खोजी गाँजा नष्ट गर्ने छ । कारोबारीले पनि अब तुलसीपुरमा कुनै पनि खाले लागूऔषध जुनसुकै माध्यमबाट पनि ल्याउन सक्ने छैनन् । त्यसको प्रबन्ध लागूऔषध दुव्र्यसनी व्युरोले मिलाइरहेको छ । स्थानीय स्तरमै ड्रग सेवन गर्न नपाएको अवस्थामा या त यहाँका दुव्र्यसनीहरु सुध्रने छन्, या त यो स्थान छाडेर अन्तै जाने छन् । यदि अन्त गएकालाई पनि यस्तै समस्या भयो भने लागूऔषध दुव्र्यसनी स्वतः कम भएर जाने छन् भन्ने हाम्रो अपेक्षा हो ।
गम्भीर समस्या लागूऔषध दुव्र्यसनीकै कुरा भन्नुभयो, त्यसका लागि स्पेशल मिशन सञ्चालन गर्नुभएको छ ?
हो, मैले यो अभियान सुरु गरिसकेको छु । मेरो कार्य क्षेत्रका सोह्रवटै युनिटबाट लागूऔषध दुव्र्यसनीको नाम आइसकेको छ । पहिलो चरणमा ३ सय जनाको नाम आएको छ । कानुनी प्रक्रिया एउटा होला, तर सचेतना अर्को पाटो हो । त्यसैले दुव्र्यसनीसँगै उनीहरुका अभिभावकलाई पनि ईलाका प्रहरी कार्यालयमै बोलाएर अनुशिक्षण दिने काम सुरु भइसकेको छ । दुव्र्यसनी र उनका आमाबुबालाई थुनुवालाई राख्ने खोर, कानुनी कारवाहीको अवस्था, अदालती प्रक्रिया तथा काराबासको सजायसम्मका विषयमा जनकारी गराइरहेका छौँ । पहिलो चरणमा नाम संकलन भएका ३ सय जनाकै अभिभावकलाई क्रमशः एक महिनाभित्रै कार्यालयमा बोलाएर अनुशिक्षण दिने र बच्चा सुधार्न अभिभावकलाई नै नैतिक जिम्मेवारी सुम्पने वातावरण मिलाउन पनि परामर्शका काम हुने छन् । यसका साथै स्कूलका शिक्षकलाई पनि मैले सम्पर्कमा ल्याउने छु ।
स्कूल समयमै कम्पाउण्ड बाहिर गएर विद्यार्थीले गाँजा तानिरहेको अवस्थामा सम्बन्धित शिक्षकको पनि जिम्मेवारी हो भन्ने बोध गराउन लाग्नेछु । सबैलाई कानुनी प्रक्रिया नहोला तर सामाजिक सचेतनाका अभियानमा अभिभावक र स्कूलका शिक्षक पनि जोडिनै पर्दछ । सुरक्षाकर्मीले निर्वाह गर्ने भूमिकामा शिक्षकहरुको समेत सहयोग आवश्यक परेको अवस्था छ ।
अन्त्यमा गोरक्ष दैनिक पत्रिकामार्फत् आम तुलसीपुरवासीलाई केही भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिले आम तुलसीपुरबासीको सुरक्षा चिन्ता र सुरक्षा निकायका गतिविधिका विषयमा धेरै कुरा राख्न दिनुभएकोमा गोरक्ष दैनिक तथा अनलाइन संस्करणका पाठकहरुलाई प्रहरीको सुरक्षा गतिविधिहरुलाई सहयोग गर्न आग्रह गर्दछु । सभ्य समाज समृद्ध सुरक्षा हाम्रो मिशन हो । त्यससँगै हाम्रो अपेक्षा भनेको आम नागरिकसँगको सहकार्य पनि हो । प्रहरी मेरो साथी भन्ने अवधारणालाई सार्थक बनाउन आम नागरिकले पनि पालना गर्नुहुने छ भन्नेमा मैले आशा गर्दछु भने आफ्नो तर्फबाट पनि पूर्ण पालना हुने आम पाठकहरुलाई विश्वास दिलाउँछु । प्रहरीको आचरण सुधार नभएको पाइएमा आम नागरीकलाई ईलाका प्रहरी कार्यालयमा खबर गर्न पनि आग्रह गर्दछु । समाज सुधार र शान्ति सुरक्षाको लागि आम नागरिकलाई प्रहरीसँग सहकार्य गर्न अनुरोध समेत यसै पत्रिकामार्फत गर्न चाहन्छु ।