दुर्घटना न्यूनीकरणका लागि सडकका खाडल पुर्दै ट्राफिक प्रहरी

लिलाधर वली
दाङ, ९ असार । पिच गरेको सडक उप्किएर जीर्ण बनेपछि ट्राफिक प्रहरीले सडकमा परेका खाडलहरु पुर्न थालेको छ । बर्षात्को समयमा जीर्ण सडकले दुर्घटना बढाउने भएपछि ट्राफिक प्रहरीले सडकका खाडलहरु पुर्न थालेको हो । ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसंस्थाको समन्वयमा सडकमा परेका खाडलहरु पुर्ने अभियान सुरुवात गरेको हो ।

घोराही–तुलसीपुर सडकखण्डका विभिन्न स्थानमा पिच उप्किएर ठूला–ठूला खाडलहरु परेपछि बर्षात्को समयमा हुनेसक्ने दुर्घटनाको उच्च जोखिमलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले खाडलहरु पुर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

खाडल परेको सडकहरुमा ग्राबेल गरेर सडक मिलाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिएका छन् । ‘सडकको पिच उप्किएर बीचबीचमा ठूला–ठूला खाडल परेका थिए, यी खाडलले बर्षात्को समयमा दुर्घटनाको जोखिम गराउने भएकाले पुर्न थालेका हौं’, जिल्ला ट्राफिक प्रहरी प्रमुख रेग्मीले भने– ‘दुर्घटना न्यूनीकरणका लागि सडकमा परेका खाल्डाहरु पुर्न थालेका हौँ ।’ प्रमुख रेग्मीका अनुसार घोराही र तुलसीपुर बजारसँगै घोराही–तुलसीपुर सडकखण्डका थुप्रै स्थानमा यस्ता खाडलहरु रहेका छन् ।

जुन खाल्डाहरु अहिले विभिन्न निकायको समन्वयमा ट्राफिक प्रहरीले पुर्ने काम गरिरहेको छ ।
ट्राफिक प्रहरीले घोराहीको मुख्य तुलसीपुर चोकमा परेका खाडलहरु सोमवार पुरेको रेग्मीले बताए । ‘घोराहीकै मुख्य चोक तुलसीपुरचोकमा ठूल्ठूला खाल्डाहरु भएका थिए’, प्रमुख रेग्मीले भने– ‘ती खाडलहरु जोखिमपूर्ण भएकाले गिट्टी हालेर पुर्ने काम गरेका छौ ।’ उनले बिग्रिएको सडक बनाउने काम सडक कार्यालयसँगै सम्बन्धित स्थानीय तहहरुको भए पनि ती निकायहरुले चासो नदिँदा ट्राफिक प्रहरी आफैले गर्न थालेको बताए । सडकमा भएका खाडलहरु नपुर्दा बर्षात्मा पानी जम्मा भएर केही नदेखिने हुँदा दुर्घटनाको जोखिम हुने गरेको समेत बताए ।

‘बर्षात्को समयमा पानी पर्दा खाडल र सडकको सतह एकै देखिने हुँदा दुर्घटनाको जोखिम बढी हुनेगर्छ’, प्रमुख रेग्मीले भने–‘खाडलकै कारण दुर्घटना नहोस् भन्ने उद्देश्यले लकडाउनकै समयमा खाडलहरु पुर्न थालेका हांै ।’ अभियानअन्तर्गत ट्राफिक प्रहरीले घोराही तुलसीपुरचोक, डिके पेट्रोल पम्प, सेवारखोला, गुर्जेखाला, संक्राम खोलालगायतका स्थानमा सडक पुर्ने काम गरेकोसमेत बताए ।

ट्राफिक प्रहरी कार्यालयले थालेको सडकका खाडल पुर्ने काममा घोराही उपमहानगरपालिका, फोरलेन सडक विस्तार गर्ने जिम्मा पाएको निर्माण कम्पनी, टिप्पर व्यवसायीहरूले साथ दिएका थिए । ट्राफिक प्रहरीको आग्रहमा फोरलेन सडक विस्तार आयोजनाले ग्राभेल उपलब्ध गराइदिएको हो । यसैगरी टिप्पर व्यवसायीहरूले टिप्पर उपलब्ध गराइदिएका थिए भने घोराही उपमहानगरपालिकाले ग्राबेल दाब्ने रोलर उपलब्ध गराइदिएको प्रहरी प्रमुख रेग्मीले जानकारी दिएका छन् । सडक ग्राभेलसँगै ट्राफिक संकेतहरु राख्ने योजनामा ट्राफिक प्रहरी रहे पनि अहिले जिल्लाका अधिकांश सडकहरु निर्माणकै क्रममा रहेकाले ट्राफिक संकेतहरु राख्न नसकिएको बताए ।