मेरो दोस कि सरकारको
खेमराज रिजाल
दाङ, ८ असार । ‘तीन महिना लकडाउनमै बसेँ, दिउँसो लकडाउन रातिमा कफ्र्यू तर पनि पछिल्लो समयमा भर्खरै घर आइपुगेको छु’, साउदी अरबबाट काठमाडौं हुँदै दाङको घोराहीमा आएका छवि वली (नाम परिवर्तन) ले भने । आफू काम गर्ने साउदी अरबको होटलले तीन महिनाअघि नै आफूहरुलाई फर्काउनका लागि प्लेन भाडासमेत दिने निधो भए पनि नेपाल सरकारले समन्वय नगर्दा ढिलोगरी आउनुपरेको छविको अभिव्यक्ति थियो ।
साउदीको एयरपोर्टमा नेपाल वायुसेवा निगमको जहाज उनीहरुलाई लिन रियाद पुगेको थियो । भाडा कम्पनीले तिर्नुपर्ने । ‘नेपाल फर्कनका लागि हामीलाई दुई दिनअघि मात्र खबर भएको थियो । त्यो समय पिसिआर परीक्षणका लागि पर्याप्त थिएन । तैपनि आरडिटी परीक्षणमा नेगेटिभ देखिएपछि प्लेनमा चढ्यौं’, छविले भने । उनकै भाषामा साउदीदेखि काठमाडौंको भाडा बढीमा २५ हजार हुन्थ्यो, तर नेपाल वायुसेवा निगमकै कर्मचारीले भाडा नेपाली ५६ हजार ३ सय रुपैयाँ तोके । हामी बाध्य भएर सोही विमानमा काठमाडौं उत्रियौं ।
छविकै भाषामा विमानस्थलमा गन थर्मामिटरले मात्रै ज्वरो नापियो, अरु केही सहजीकरण भएन । बाहिर निस्कँदा प्रदेशवाइज गाडीहरु लागेका थिए । तर चल्तीको भाडाभन्दा दोब्बर । ५ नं. प्रदेशको गाडीमा चढयौं । बुटवलमा, थानकोटमा नाम टिपाउनेबाहेक केही भएन । बुटवलको होल्डिङ सेन्टरमा सामान्यरुपमा नाम टिपाउने काम मात्र भयो । त्यसपछि हामी १४ जनाले एउटा गाडी रिजर्भ गरेर घोराहीसम्म आइपुग्यौं । ‘वडाध्यक्षलाई सोधेर म घरमा पसेको छु, दोष मेरो कि सरकारको ?’ छविको अनुत्तरित प्रश्न थियो ।
संक्रमणको व्यवस्थापनमा स्थानीय सरकार र स्थानीय प्रशासनको अर्थपूर्ण भूमिका निर्वाह नभएको अवस्थामा पछिल्लो अवस्थाले संक्रमण अव समुदायस्तरसम्म नै फैलने सम्भावना नजिकिएको छ । किनकि स्थानीय सरकारलाई साउदीबाट नेपाल आएका नागरिकहरु विना रोकतोक घर पसिसकेको जानकारी समेत छैन । साथै कन्ट्रयाक्ट ट्रेसिङका विषयमा पनि स्थानीय पालिका र सरकार गम्भीर देखिएको अवस्था छैन ।
तर हामी यहाँसम्म आइपुगेर घर पस्दासमेत स्थानीय सरकारको र संघीय सरकारको कुनै साथ र सहयोग पाउन सकेनौं । नियमितभन्दा दोब्बर भाडा त प्लेनमै ति¥यौं, तर नेपाल आइपुगेपछि पनि त्यत्तिकै रेसियोमा गाडीको भाडा तिनुप¥यो । बेचैन भएका छविले आफू संक्रमित भए÷नभएको पनि स्थानीय तहमै आएर जानकारी पाउने अपेक्षा गरेका थिए । तर वडाध्यक्षको जवाफ थियो– ‘तपाई सेफ भएर घरमै बस्नुहोला । तपाईको परिवारबाट अन्य समुदायमा संक्रमण नफैलियोस् ।’
छवि त सोमवार साउदीबाट घोराहीको आफ्नै घरमा आएका एउटा प्रतिनिधिपात्र मात्रै हुन् । उनीसँगै बसमा यात्रा गर्ने कम्तीमा ३८ जना थिए । उनीहरुको ट्राभल हिस्ट्री पहिचान गर्ने र कोरोनाको संक्रमण परीक्षण गर्न स्थानीय तहको शून्य भूमिका देखिएको अवस्थामा नागरिकहरुको व्यापक जनगुनासो रहेको छ । तर स्थानीय सरकार मौन बसिरहेको छ । छवि घर आएको छिमेकीले थाहा पाइसकेका छन्, तर छविलाई कोरोना छ÷छैन भनेर स्थानीय सरकारले परीक्षणको दायरामा ल्याउन अभ्यास अझै शुरु गरेको छैन । छवि मात्रै समस्याका पात्र होइनन्, उनीजस्तै सयौं नेपाली नागरिकहरु तेस्रो मुलुकबाट नेपालमा आइरहेका छन् । प्रधानमन्त्रीकै आग्रह र नेपाल सरकारको निर्णयअनुसार नै ती विदेशमा विचल्लीमा परेका नागरिकहरुलाई नेपाल ल्याउने अभ्यास शुरु भएको हो ।
पर्यटनमन्त्री योगेश भट्टराईले विदेशमा बिचल्लीमा परेका नागरिक र स्वेच्छाले आउन चाहने नागरिकलाई नेपाल सरकारले तोकेको भाडामा काठमाडौंसम्म ल्याउने र त्यसपछि सम्बन्धित स्थानीय पालिकाले उनीहरुलाई यातायात सेवा उपलव्ध गराउँदै पैसा भएकालाई पेइङ क्वारेन्टाइन र पैसा नभएकालाई सामुदायिक क्वारेन्टाइनमा राख्ने अभिव्यक्ति थिएका थिए । तर छविहरुलाई क्वारेन्टाइन खोई ?
संक्रमणको जोखिम अझै बढ्यो
यसैबीच तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई पनि सहजै घरमै बस्न पाउने र सामाजिक दूरी कायम गर्ने सवालमा स्थानीय सरकार मृतप्रायः भएपछि संक्रमणको जोखिम अझै बढेर गएको छ । तर स्थानीय सरकार र स्थानीय प्रशासनको समेत यसरी आएका नागरिकहरुलाई सहजरुपमा व्यवस्थापन गर्ने भूमिका देखिएको छैन । ‘हामीलाई छवि कसरी दाङ आइपुगे भन्ने विषयमा पनि जानकारी छैन, उनीजस्तै अन्य नागरिक पनि के–कसरी भित्रिए भन्ने विषयमा अनुसन्धान र स्थलगत अनुगमन हुनेछ’, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भने ।
विदेशबाट आएका नागरिकहरुलाई विशेष निगरानीमा राख्न वडाध्यक्षकै जिम्मेवारी हुने भन्दै आफूले यो सवालमा सम्बन्धित वडाध्यक्षसंँग कुरा गर्ने पनि बताएका छन् ।
स्थानीय सरकारले भारतबाट आएका नागरिकहरुलाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने बताए पनि तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई भने सुटुक्क घरमै हाउस क्वारेन्टाइनमा बस्ने व्यवस्थापन मिलाउन लागिरहेका छन् । क्वारेन्टाइनमा राखेर समयमै स्वाव परीक्षण सम्भव नहुने तथा आर्थिक व्ययभार समेत बढ्दै गएको अवस्थामा स्थानीय सरकारले तेस्रो मुलुकबाट आएका व्यक्तिका विषयमा कुनै अर्थपूर्ण निर्णय गर्न सकेको छैन ।
पछिल्लो समयमा भारतीय नाकाबाट धेरै नागरिकहरु नेपाल आइसकेको अवस्थामा अब तेस्रो मुलुकबाट पनि दाङबासीहरु आउने क्रम शुरु भएको छ । स्थानीय तहको आँकलनमा कम्तीमा पनि १ हजार नागरिकहरु बैदेशिक रोजगारी छाडेर दाङ आइपुग्ने छन् । तर उनीहरुलाई कसरी घरसम्म ल्याउने र संक्रमण मुक्त भएको परीक्षण दिलाउने सवालमा भने स्थानीय सरकार गम्भीर भएको अवस्था छैन ।