यतै डाउन, उतै डाउन फेरि यस्तो रोगै नआऊन्

मधुसूदन सुवेदी

यतिबेला सबैलाई सताएको र सबैलाई अताएको शब्द लकडाउन हो । यो लकडाउनले रोग तथा संक्रमणको भय र त्रास मात्र फैलाएन यसले समस्त जनजीवनको नीति, नियम, आचरण र दिनचर्यालाई समेत तंग, भंग र उदांगो बनाइदियो । अर्को शब्दमा भन्नुपर्दा लकडाउन, सकडाउनमा परिणत भयो । यसले दिन केही जानेन र लिन केही छाडेन । सबथोक लिएर गयो र केही थोक दिन जानेन् । सम्भवतः अब यो सबै तहबाट पाखा लाग्लाजस्तो छ । धार्मिक दृष्टिले गत २०७६ साल पुस महिनामा परेको सूर्यग्रहण फेरि यही महिनाको ७ गते परेको थियो । यसरी ६ महिनाको बीचमा दुई–दुई पटक सूर्य ग्रहण गर्नु अनिष्टकारक नै थियो ।

किनभने संसारभर सूर्यले हाँकेको हुन्छ र सूर्यले आकाशीय पिण्ड चलाएको हुन्छ । यस्तो विश्वव्यापी तेजिलो र प्रकाशिलो सूर्य कमजोर हुनु भनेको रोग संक्रमणको कारक तत्व र प्रमाण हो । किनकि सूर्यको तेजिलो प्रकाश यानी प्रचण्ड घामकै कारक कैयौ रोगका जीवाणु मर्ने गर्दछन् र मर्छन् पनि । यदि सूर्य आफैमा कमजोर रहँदा त्यसबाट मर्ने जीवाणु झनै फैलने तथा सर्ने क्रम बढेर जाने नै हो । त्यसैले पनि पहिलो सूर्यग्रहण लाग्दा चीनको बुहान प्रान्तबाट शुरु भएको यो कोरोना भाइरस पछिल्लो सूर्यग्रहण यो आषाढ महिनासम्म आइपुग्दासम्म पनि घट्न सकेन र निर्मूल हुन सकेन । जसको कारण सूर्यको अवस्था कमजोर नै थियो ।

सूर्य आकाशमा चम्किराखे पनि सूर्य पूर्वबाट उदाइरहने तापनि, सूर्य पश्चिममा अस्ताइरहे पनि सूर्यको काम पृथ्वीमा लागिरहे पनि समय र मौसमका हिसाबले ग्रिष्मऋतु चलिरहे पनि यतिबेला सूर्यमा हुनुपर्ने जुन शक्ति हो, जुन उर्जा हो, जुन राप हो, जुन ताप हो, जुन प्रकाश हो त्यो शक्ति क्षीण र कमजोर नै थियो । कमजोर सूर्यमा जीवाणु नष्ट गर्ने तागत, बल र क्षमता थिएन, त्यसैले पनि आजसम्म हामीले यो अनौठो रोगको अनौठो गतिविधि भोग्नुभयो, जान्नुप¥यो र देख्नुप¥यो । एउटा रोगकै कारण महिनौं दिनसम्म आफ्नै घरभित्र अपराधी चालामा थुनिएर बस्नुपरेको कुरालाई सम्झँदा पनि अचम्म लाग्न थाल्दछ । कस्तो समय आयो ? भन्न मन लाग्छ । हामीले हाम्रो आचरण, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा सबै भुलिसकेको अवस्था छ ।

हामीममा फलाएको आधुनिकपन पनि यसको उपज हो । आधुनिकताका नाममा हामी जति सुविधाभोगी र जति अल्छी भएका छौं त्यति नै हामीमाथि अनौठो प्राकृतिक आक्रमण हुँदैछ । हामीले औंसी भुल्यौं, पूर्णिमा भुल्यौं, संक्रान्ती भुल्यौं, तिथि भुल्यौं, बार भुल्यौं, नक्षत्र भुल्यौं, योग भुल्यौं, करण भुल्यौं, मुहूर्त भुल्यौं, बेला भुल्यौं र समय भुल्यौं । यसरी हामीले हाम्रा संस्कार भुल्दै जाँदा हाम्रा संस्कारले पनि हामीलाई रक्षा गर्न भुल्यौं । हामीले हाम्रा संस्कारलाई सम्झेको भए हाम्रो संस्कारले पनि हामीलाई रक्षा गर्न र बचाउन भुल्ने थिएन ।

जब हामीले हाम्रो संस्कारमाथि बेखबर बन्न खोज्यौं । त्यसैको उपज हामी आज यतै डाउन, उतै डाउन र सबैतिर डाउनै डाउन देख्दैछौं र भोग्दैछौं । हामी अरु देशको तुलानामा धेरै सुरक्षित र धेरै बलिया छौं । तर जहाँसम्म आइपुग्यौं, त्यो पनि हाम्रै गल्ती तथा कमजोरीको पराकाष्ठा नै हो । यदि हामीले हामीभित्रको जनशक्तिलाई बाहिरी कुनै पनि जनशक्तिबाट सम्पर्क विच्छेद गर्न सफल भएको भए हाम्रो देश ग्रीनजोनमा अवश्य पर्ने थियो । आफूले आफैलाई नियन्त्रण गर्न नसक्दा र आफूले आफैलाई स्याहार्न नसक्दा आजको हालतमा हामी पनि आइपुग्यौं । हाम्रा अति नै निकटका छिमेकी देश चीन तथा भारतबाट हुने प्रत्यक्ष वा अप्रत्यक्ष आवत–जावतलाई पूर्णरुपले निषेध गर्न सकेको भए यहाँ कोही कसैलाई यो कोरोनाले छुने नै थिएन ।

हामी समयमा चनाखो हुन नसक्दा यो गति भोग्नुपरे पनि अबको अवस्थालाई निकै संवेदनशील बनेर, परीक्षणको दायरा फराकिलो पारेर बाहिरबाट भित्रिने जनशक्तिलाई पूर्णरुपले यसको नियम पालना गराएर संक्रमितहरुको स्वास्थ्यमा निकै ध्यान दिएर उपचार तथा रोकथाममा ध्यान दिने हो भने नेपालमा ठूलो भयावह हुनेवाला छैन । किनभने यो महिनाको १२ गतेबाट सूर्य आफैमा शक्तिशाली बन्दैछ । यसले पनि यो रोगको जीवाणुलाई कमजोर पार्नेछ । हामी नेपालीमा भएको कमजोर र शक्ति पनि अबको समयमा बृद्धि हुँदै जानेछ । यो कोरोना भाइरसको नियन्त्रणमा खटिएका जनशक्तिको पनि मनोबल उच्च हुँदै जानेछ ।

यसरी सबै तह र क्षेत्रबाट शक्तिको स्रोत बढ्दै गएपछि रोगले पक्कै पनि घुँडा टेक्ने नै छ । हामी सबैको चाहना र कामना के हो भने यनेपालमा कोरोना भित्रिने साहस गरे तापनि यसले ठूलै धनजनको क्षति गर्ने दुस्साहस अवश्य गर्ने छैन । किनभने अब सबै प्रकारले समय अनुकूल बन्दै छ । नेपालमा कोरोनाको महामारीसँगै लकडाउनको पनि निकै दुरुपयोग भएको छ । यसलाई कतिबेला डाउन गर्नुपर्ने हो र कतिबेला अफ गर्नुपर्ने हो ? त्यो पनि थाहा भएन र त्यसरी प्रयोग पनि भएन । जसको कारण खुल–डाउन हुने बेलामा लकडाउन भयो र लकडाउन हुने बेलामा खुल–डाउन भयो । हामी नेपालकिा लागि यो लकडाउन भन्ने नै देखाउनका लागि र जम्नको लागि भयो । रोगबाट बच्ने आशा र हेतुले लकडाउन भएन ।

लकडाउन भनेको के हो ? सर्वसाधारण जनतालाई चेतनाको सूचना पनि भएन । हावाका भरमा यतै डाउन, उतै डाउन भएर सबैलाई भयभीत बनाइरहेको बेला सबैले भन्ने र पुकार्ने कुरा के हो भने जुन कारण र कारकले डाउन–डाउन–डाउन भए तापनि यस्तो डाउनै डाउन बनाउने र पार्ने रोग कहिल्यै नआऊन् । आधुनिकताका नाममा छाडापनतर्फ जाँदा भोग्नुपर्ने नतिजाको बोध सर्वत्र हुन सकोस् । सबैमा ज्ञान जागोस् ।