ब्रह्माकुमार माधव तिमिल्सेना
सृष्टि रङ्गमञ्चमा अनेक आत्माहरू आउँछन्, परन्तु केही आत्माले मात्र उज्ज्वल चरित्रद्वारा इतिहासमा अमर स्थान प्राप्त गर्छन् । यस्ता विलक्षण विशेषताहरूका विभूतिहरू युग–युगसम्म जीवित रहन्छन् । अज्ञानरुपी अन्धकारमा भट्किएका लक्ष्यहीन यात्रीका लागि उनीहरू दीपस्तम्भ बन्छन् । उनीहरूको जीवन नै जगत् कल्याणका लागि समर्पित हुन्छ । यस्तै चिरकालदेखि स्मरण गरिंदै आइएका स्मरणीय पूजनीय वन्दनीय आत्माहरूमध्ये एक शिरोमणि, अद्वितीय परमश्रेष्ठ उदाहरण ब्रह्माकुमारीज संस्थाकी प्रथम कुशल प्रशाासिका मातेश्वरी जगदम्बा ।
यदि संसारमा आमा नहुने हो भने संसार त एउटा रुख्खा–सुख्खा मरुभूमिसमान हुनपुग्छ । जहाँ केवल निरसतामात्र रहन्छ र ममता स्नेह, त्याग, सेवाभाव अनि सहनशीलता भन्ने शब्दहरू नै रहँदैनन् । त्यसैले आमा त ती ममताकी खानी हुन् जो आपूm मरेर पनि सन्तानका निम्ति अहोरात्र खटिरहेकी हुन्छिन् । माता जननी त ती हुन् जसले ठूला–ठूला चक्रवर्ती राजाहरूदेखि लिएर कैयौं विश्वविख्यात महा–मानवहरूलाई शिक्षा र धर्मको बीज रोप्ने काम गरेकी हुन्छिन् । हे नारी तिमी आपूmलाई अबला नसम्झ किनकि तिम्रै यादगारमा कमलपुष्प निवासिनी, वीणा वादिनी, असुर संहारिणी देवीहरूलाई देखाइएको छ । अब आफ्नो अस्तित्व एवं स्वरूपलाई चिन अनि ज्ञान वीणा हातमा लिएर संसारलाई ईश्वरीय ज्ञान विद्याको मधुर झड्ढार बजाइदेऊ ।
नारी तिमी यदि ती अष्ट शक्तिधारी जगत् जननी अम्बे माँ नै नभए पनि उनैकी त सन्तान हौ । त्यसैले याद राख जसलाई कामधेनु माँ, आदिशक्ति देवी, भवानी दुर्गे तथा महिषासुर, रक्तबीज, त्रिपुरासुर आदि–आदि अनेकौं असुर संहारक नामबाट सम्बोधन गरिन्छ, जसको नाममा आपूmलाई नै समर्पण गरिन्छ तिनै जगदम्बे माँ भवानी सरस्वती जगत् जननीले आज नारी भई यसै लोकमा लाखौं ब्रह्मावत्सका माझमा रहेर पनि आपूmलाई एउटा सबलाको रूपमा उभ्याउनुभयो ।
सन् १९१९ मा अमृतसर, पञ्जावमा जन्मिएकी एक साधारण कन्या ॐ राधे आफ्नो कलाकौशल, विशेषता, गुण अनि प्रखर निर्णय शक्तिका कारण सम्पूर्ण मानवमात्रमा ज्ञानको अमृत बगाउन ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालको स्थापना कालमा विश्व सेवार्थ सम्पूर्ण जीवन भौतिकताबाट हटाएर आध्यात्मिकतामा लगाउनुभयो । उहाँ नै पछि जगत् जननी माँ भनी कहलाउनुभयो ।
ब्रह्माकुमारीज संस्थाका संस्थापक दादा लेखराज(ब्रह्माबाबा)ले उहाँको नाम राधाबाट ओम् राधे राखिदिनुभयो । वाल्य अवस्थादेखि नै जगदम्बाको गौरव प्राप्त गर्ने मातेश्वरीको पुरुषार्थ उच्च कोटीको थियो । जसले आज पनि अनेकौं अध्यात्म पथका पुरुषार्थीहरूलाई प्रेरणा दिन्छ । परमात्मा शिवका महावाक्यलाई सरल वाणीद्वारा स्पष्ट गरेर कर्मबाट उर्तार्दै मातेश्वरीजीले अनेक आत्माहरूलाई पुरुषार्थको पथमा चल्न सिकाउनुभयो । आजभन्दा ८४ वर्ष पहिलाको पुरुषप्रधान समाजमा मातृशक्तिको मशाल वोकेर आद्यात्मिक क्रान्तिमा होमिइएकी मातेश्वरीजीेको ५५औ पुण्यतिथीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दे उहाँको विशेषताहरुको वर्णन गर्न सान्दर्भिक देखियो ।
जस्तो चिन्तन हुन्छ उसले त्यस्तै चित्र र चरित्र बनाउँछ,’ भन्ने उक्तिअनुसार मातेश्वरीजीमा “म शिवको आत्मिक पुत्र र ब्रह्माकी मानस पुत्री हुँ” यो चिन्तनको नशा झल्किन्थ्यो । जसका फलस्वरूप उहाँ लौकिकताभन्दा पर अलौकिक वा पारलौकिक गुण साथै हदभन्दा पर बेहदमा विचरण गर्नुहुन्थ्यो । आत्मचिन्तन वा प्रभुचिन्तनको बलद्वारा उहाँ साधारण कन्याबाट सर्वमनोकामना पूर्ण गर्ने कामधेनु बन्नुभयो । मनलाई बालकसमान स्नेह दिएर मन्मनाभवको स्थितिमा स्थित गर्नमा मम्मा प्रवीण हुनुहुन्थ्यो ।
मनलाई मुरलीधरमा लगाउन तथा मुरलीका महावाक्यहरूको मनन गरेर मखन बनाउनमा उहाँको प्रभुत्व थियो । जसकारण उहाँ ज्ञान मननमा मग्न भएर प्रभु प्रियतमको प्रेममा हराइरहनुहुन्थ्यो । ज्ञान मुरलीमा मग्नताका कारण नै यस समयको यादगार स्वरूप श्रीमद् भागवतमा राधालाई मुरली सुन्नमा पागल हुन्थिन् भनेर देखाइएको छ । जो कसैलाई शिशुवत मान्नु र निन्दा गर्नेलाई पनि मित्रवत व्यवहार गर्न सक्ने क्षमता र उर्जाशील चुम्वीय शक्ति भएकी साक्षात देवीको अनुभूति जो कोहीले पनि गर्न सक्थे ।
मातेश्वरीजीको दृष्टिमा दिव्यता थियो । उहाँको सान्निध्यमा आउनेवाला नर अथवा नारी जुनसुकै धर्म, जाति, रूप–रङ्ग र आयुका हुन् ती मानवमा निहित दिव्य आत्मालाई देख्नुहुन्थ्यो न कि नश्वर पञ्चतत्वबाट बनेको देहलाई । उहाँको दिव्य दृष्टि जसमा पनि पथ्र्याे उसको जीवन दिव्य गुणको सुगन्धले मग्मगाउँथ्यो, किनकि उहाँ आत्मिक पुष्पमा दिव्यगुणको सुगन्ध भर्नेवाला रुहानी माली हुनुहुन्थ्यो । मातेश्वरीजीमा पेचिला वा कठिन रहस्यहरूलाई सरल बनाएर सत्यताको साथ स्पष्ट गर्ने अद्भुत कला थियो ।
सत्यताको अधिकारी बनेर परमात्माको नयाँ र अनौठो ज्ञानलाई पनि निस्संकोच निश्चयको साथ भन्नुहुन्थ्यो । उहाँको सत्य भनाईले दिल दिमागलाई भेद गर्दै जान्थ्यो र उनीहरूको दिमागले परमात्माको ज्ञानलाई सहजै स्वीकार गर्दथ्यो । विद्यार्थी जीवन स्वर्णिम जीवन हो । यसको जस्ताको तस्तै चित्रण मम्माको “गडली स्टुडेन्ट लाइफ”मा देखिन्थ्यो । ईश्वरीय महावाक्यको अध्ययनको समयमा उहाँ देहको सुधबुध भूलेर बस्नुहुन्थ्यो, आत्म अभिमानी स्थितिमा स्थित हुँदा हर शिक्षाको स्वरूप बन्ने तल्लीनतापूर्वक अध्ययन गरिएको ज्ञान र गुणको उहाँ मूर्तस्वरूप हुनुहुन्थ्यो । जब ज्ञान सागर शिवका लहरहरू भागीरथ ब्रह्मा मुख कमलद्वारा निस्कन्थे,त्यतिखेर एकटक स्थिरचित्त, दत्तचित्त भएर ज्ञानसागरका एक एक रत्नलाई एकाग्रतापूर्वक होलीहंस बनेर मातेश्वरी बुद्धिरूपी बाकसमा सजाएर राख्नुहुन्थ्यो । मुरली (ईश्वरीय महावाक्य) सुनेपछि वा पढेपछि केही सहारा नलिएर ब्रह्मा वत्सहरूलाई जस्ताको तस्तै सुनाउनुहुन्थ्यो ।
सृष्टिचक्रको ज्ञान होस् वा कर्मको गहन गतिको वर्णन उहाँको विवेचनमा विवेकशीलता झल्कन्थ्यो । सम्पूर्ण तर्कसंगत विवेकी प्रमाणहरूलाई प्रस्तुत गरेर परमात्मा ज्ञानमा पलभरमै श्रोतालाई निश्चय गराइदिनु, ज्ञानको कुनै पनि विषयमा संशयरहित सहज स्पष्टीकरण गर्नु मम्माको तेजस्वी सद्विवेकको चमत्कार थियो । कलियुगी तमोगुणी दुनियाँका जस्तासुकै पतित आत्मापनि मातेश्वरीजीसंग भेट्ने बित्तिकै क्षणभरमै उनीहरूको तन मनको विकारी तापबाट मुक्त भएर शीतल हुन्थे, पतित आत्मा पलभरमा नै पावन भइहाले जस्तो हुन्थ्यो तत्कालका लािग । उहाँसँग भेट गर्ने कामी, क्रोधी व्यक्ति पनि पवित्रताको अनुभव गर्न थाल्दथे । यसैले उहाँ पतित पावनी गंगा माता वा कलड्ढ मेटाउने महाकाली कहलाईनुभयो ।
हर कर्मेन्द्रिहरूलाई आत्मा राजा बनेर आत्म–नियन्त्रणमा राखेर आचरण गर्नुहुन्थ्यो । नयनबाट निर्मल दृष्टिको वर्षा,मुखबाट मधुर महावाक्यको उच्चारण, कानद्वारा प्रभुप्रिय वचनको नित्य श्रवण, हातबाट यज्ञसेवाको पूनीत कर्म वा श्वास–श्वासमा शिवको स्मृति समाहित हुन्थ्यो । शुद्ध पवित्र आचरणका कारण नै उहाँका हर अङ्गलाई नयनकमल, कर्णकमल, मुख कमल, हस्त कमल भनेर पुकारिन्छ । मातेश्वरी ज–जसका सम्बन्ध सम्पर्कमा आउनुहुन्थ्यो उनीहरूबाट गुणमात्र ग्रहण गर्नुहुन्थ्यो । चाहे व्यक्ति होस्, प्रकृति होस्, वा पन्छी होस् सबैको खुबीलाई जानेर तिनलाई आफ्नो जीवनमा उतार्नुहुन्थ्यो । हर यज्ञवत्समा लुकेका विशेषतालाई चिनेर ईश्वरीय कार्यमा लगाउनुहुन्थ्यो ।
गुणैको गायन गरी ती गुणहरूमा अझ उमङ्ग उत्साह बढाई स्वयंपनि गुणसागर शिवको गुणमोतीहरूको माला धारण गरिरहनुहुन्थ्यो । मातेश्वरीजीमा विशेष गरी गम्भीरताको गुण थियो । चेहरामा स्मित हास्य भएको, आवश्यकता अनुसार नै वाणीको प्रयोग गर्न, हरकार्य सोचेर बुझेर गर्न, व्यवहारमा हतार वा उत्ताउलोपन नदेखाउन, गम्भीरतापूर्वक शान्तिसँग हर कुराको समाधान गर्नमा उहाँ सिद्धहस्त हुनुहुन्थ्यो । यही विशेषताका कारण उहाँ परिपक्व बनेर कुमारी हुँदा–हुँदै पनि सदा माता (माँ) नै देखिनुहुन्थ्यो । सबैलाई एउटा आमाको आभास हुन्थ्यो ।
उहाँ बोलचालको मर्यादाको सदा ध्यान राख्नुहुन्थ्यो । कोही आयुमा आपूmभन्दा सानै भए पनि उहाँ कुराकानी गर्दा “तँ–तँ वा तिमी–तिमी” भन्नुको सट्टा “तपाईं–तपाईं” को आदरसूचक सम्बोधनको उपयोग गर्नुहुन्थ्यो । किनकि उहाँको मान्यता थियो– देहको हिसाबले सानो होस् वा ठूलो तर उसमा विराजित आत्मा त सदा सम्माननीय हुन्छ, किनकि आदि–अनादि स्वरूप आत्मा गुणसम्पन्न हुन्छ । व्यक्तिको चाल–चलन र चेहरा नै उसको व्यक्तित्वको सही पहिचान हो । शालीन व्यक्तित्वकी धनी मम्मा सबैका बीचमा आफ्नो श्रेष्ठ चलनबाट अनौठो देखिनुहुन्थ्यो ।
सहजै सबैको ध्यान आकर्षित हुन्थ्यो । श्रेष्ठताको आदर्श व्यक्तित्व थियो । उहाँको चाल–चलन र चेहरामा सदा दिव्य गुण प्रस्फुटित भइरहन्थे । प्रजापिता ब्रह्माको मानसपुत्री हुँदा–हुँदै पनि उहाँ सदा शिवबाबालाई परमसद्गुरुको रूपमा स्वीकार्नुहुन्थ्यो । निराकार रूपमा शिवपिताको श्रीमतको अनुसरण गर्नु वा ब्रह्माबाबाको आचरणको अनुसरण गरेर साकार रूपमा उहाँको पदचापमा हिड्नु यी दुवै विधिद्वारा उहाँ सबैभन्दा पहिलो बन्नुभयो । जब–जब शिवबाबा वा ब्रह्मा बाबा स्व–उन्नति या सेवार्थ आज्ञा दिनुहुन्थ्यो,मम्मा आज्ञाकारी बालकजस्तै आदेश पालनामा सदा तत्पर रहनुहुन्थ्यो ।
चाहे रात होस् वा दिन,गर्मी होस् वा ठण्डी जुन समय जस्तोसुकै कठिन वा सरल कार्य मिलोस्, त्यसलाई ‘हुन्छ हजुर’को पाठ पक्का गर्दै तत्परतापूर्वक यज्ञसेवाको सम्मान गर्नुहुन्थ्यो । त्यसमा थोरैमात्र पनि आलस्य वा हेल्चेक््रयाईं हुन्नथ्यो । जसरी फलका कारण वृक्ष झुकेको हुन्छ, मानौं फलले झुकी–झुकी अभिवादन गर्दछ । यस्तै सद्गुणका रसदार फलले भरपूर मातेश्वरीजी नम्रतायुक्त अभिवादन गरेर हरेक दिललाई आनन्दित गराउनुहुन्थ्यो,जित्नुहुन्थ्यो । विनम्रताले भरिएको निरहंकारी अभिवादनद्वारा अतिथिमाथि अमिट छाप छोड्नुहुन्थ्यो । उनीहरूलाई पलभरमा आफ्नो बनाउनु उहाँको दिव्य अभिवादनको विशेष खुबी थियो ।
मातेश्वरीजी पुरुषार्थको सुन्दर परिभाषा प्रस्तुत गर्नुहुन्थ्यो, उहाँ सधैं भन्नुहुन्थ्यो, सच्चा पुरुषार्थी ऊ नै हो, जसले एकपटक भूल गरेर दोस्रोपटक नदोहो¥याओस् । मम्माको तीव्र पुरुषार्थी जीवनको सर्वाेच्च विशेषता थियो, उहाँ महसुसको कुरालाई तीव्रतासँग विना विलम्ब गरिहाल्नुहुन्थ्यो । एकपटक बाबाले जे कुरा भन्नुहुन्थ्यो, त्यही कुरा अर्काे पटक भन्नुपर्दैनथ्यो । उहाँको संकल्पमा हिमालयवत् अडिगता तथा दृढता थियो । उहाँको सफलतम जीवन यात्रामा दैवी गुणको धारण सम्बन्धी दृढ संकल्प शक्तिको चमत्कार दृष्टिगोचर हुन्थ्यो । स्व–परिवर्तनको कुरा होस् वा सेवाको कठोर कदम उठाउनुपर्ने होस् जबसम्म कार्य सम्पन्न हुन्नथ्यो तबसम्म दृढसंकल्प राख्नुहुन्थ्यो वा दृढतारूपी चाबीद्वारा विफलतालाई पनि सफलतामा परिवर्तन गर्नुहुन्थ्यो ।
मातेश्वरीजीको वाणी यस्तो रसिलो थियो कि बोलेको समयमा उहाँको हर बोलीमा मधुरसको अमृतधारा बर्सन्थ्यो । मृदुभाषी तथा सारगर्भित मधुरता बाँड्ने कलाकी स्वामिनी हुनुहुन्थ्यो जगदम्बा । जसले जतिसुकै कडा भूल गरेपनि ममता वात्सल्ययुक्त मधूर सावधानीपूर्ण समस्याको समाधान गर्नुहुन्थ्यो । मातेश्वरीजी सदा ज्ञानसागरको गहिराईमा डुबिरहनुहुन्थ्यो तथा गीता ज्ञानदाताको ज्ञानको गुह्य रहस्यलाई आत्मसात् गर्नमा उहाँ बराबर कोही थिएन । विलक्षण बुद्धिमत्ताद्वारा ज्ञानको हर पत्र खोल्दै ज्ञानको महिनताद्वारा हर पक्ष वा रहस्य उजागर गर्नुहुन्थ्यो जसद्वारा उहाँ विद्याकी देवी माँ सरस्वती कहलाउनुभयो ।
उहाँको मन निरन्तर प्रभु स्मृतिमा हराइरहन्थ्यो । उहाँको एकपल पनि प्रभु प्रियतमको यादविना बित्दैनथ्यो ।परमज्योति शिवमा अर्पण हुनुभएको प्रेमको सही पुतली हुनुहुन्थ्यो । उहाँको ह्दयमा वीणाले भरिएको यादको गुन्जन चलिरहन्थ्यो– ‘मेरो त एक शिवबाबा अर्काे कोही छैन ।’ उहाँको जीवन सर्वगुणको धारणाको दिव्य दर्पण थियो,जसद्वारा उहाँ सर्वगुणसम्पन्न बन्नुभयो ।बुद्धिरूपी बाकसमा ज्ञानरत्नद्वारा ज्ञान सम्पन्नता तथा व्यवहारमा सोह्र कलाले सर्वकला सम्पन्नताको स्वामिनी हुनुहुन्थ्यो । मन–वाणी–कर्ममा ज्ञान गुण शक्ति वा कलाहरूको सम्पन्नताको कारण नै उहाँ अष्टदुर्गाको अष्ट दिव्यरूप (दुर्गा, लक्ष्मी, भवानी, महाकाली, सरस्वती, जगदम्बा, सन्तोषी, उमा) मा सजाउने पुज्ने गरिन्छ । रात होस् वा दिन जबजब ब्रह्मा बाबा सेवाको आदेश दिनुहुन्थ्यो तब–तब अथक बनेर त्यसलाई त्यही क्षणमा पूर्ण गर्नुहुन्थ्यो ।
विश्रामको समयमा पनि कोही उहाँसँग भेट्न आए भने स्वयंको आरामको पर्वाह नगरी उनीहरूसँग भेट गर्नुहुन्थ्यो । उनीहरूलाई स्नेह सम्मान दिएर उनीहरूको आत्मिक सेवा गर्नुहुन्थ्यो । मम्माको लेन देनमा शुद्धता देखिन्थ्यो । मनसा वाचा कर्मणा कहिल्यै पनि कुनै विकारी तत्व स्थूल वा सूक्ष्मरूपी खराबी देखिदैनथ्यो । जसरी जालीबाट जललाई छानेर नै पात्रमा भरिन्छ, यस्तै दिव्य बुद्धिको चाल्नीमा छानेर हर कुरालाई लिने वा दिने गर्नुहुन्थ्यो । उहाँको ज्ञानदानमा पनि अहम् वा संशयको अस्वच्छता हुँदैनथ्यो यहाँका यिनै विशेषताहरूले हरेका साधक साधिकाहरुमा तीव्र पुरुषार्थी बन्ने प्रेरणा दिन्छन् ।
ओम् राधेको खुबी, विशेषता, बाबाप्रतिको अगाध स्नेह अटुट निष्ठा, अटल निश्चय एवम् यज्ञप्रतिको निस्वार्थ सेवा र पवित्र भावलाई देखेर स्वयम् ज्ञानसागर शिवपिताले “यज्ञमाता जगदम्बा सरस्वती मम्मा” को उपमा दिनुमयो । बाबाले उच्चारण गरेका महावाक्यलाई जीवनमा धारण गरी हर आत्मालाई ज्ञानको स्पष्ट राज सुनाउनुहुन्थ्यो । ज्ञानसागरको सम्पूर्ण ज्ञानलाई आपूmमा समाहित गरेर मम्मा पनि ज्ञानकी देवी सरस्वतीको नामले संसारमा चिनिनुभयो । शिवमा नै समर्पित माँ हरपल ज्योतिबिन्दु स्वरूप परमात्माको यादमा सदा हराइरहनुहुन्थ्यो ।
उहाँका ती शीतल दृष्टिले चिन्ता अनि तनावग्रस्त मानवलाई शीतलताको अनुभूति गराउँथ्यो । मम्माको अगाडि जोसुकै आए पनि नतमस्तक हुन्थे । विरोधी पनि मम्माको चरणमा पर्दथे । यस्ता कैयौं उदाहरणहरू हामीले सुनेका छौं । दादी हृदयमोहिनीजी भन्नुहुन्छ– यज्ञमा कैयौं पटक विरोधीहरूले अनेक कुराहरूको विरोध गरे तर मम्माको उपस्थिति र दर्शनमात्रले पनि ती विरोधीहरू पानी–पानी हुन्थ्ये र सहयोगी बन्दथे । शिवशक्ति सेनाकी प्रमुख नायिका मातेश्वरी जगदम्बाले यस सृष्टिरूपी रङ्गमञ्चमा अनौठो एवं विचित्र भूमिका खेल्नुभयो । उहाँको विशेषता र चरित्रको वर्णन गर्दा आज जोसुकै पनि आश्चर्यचकित हुन्छन् । उहाँको तपस्या क्षमता र पवित्रताको शक्तिको कारण ॐ मण्डलीको एउटा सानो समूह आज ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको रुपमा संयुक्त राष्ट्र तथा अन्य विश्वव्यापी निकायसँग आवद्ध हुदै विश्वको १४४ भन्दावढी देशमा सेवाप्रदान गरिरहेको छ ।
यस्ती साधनाप्रिया, पवित्रताकी खानी मम्मालाई केवल ब्रह्माकुमारीज परिवारका आत्माहरुले मात्र नभई कैयौं भक्त–आत्माहरूले पनि स्मरण गरिरहेका छन् । प्रभु प्रिया माँ जगदम्बे जसले कर्मभोगलाई योगबलद्वारा विजय प्राप्त गरी २४ जुन १९६५ का दिन ४६ वर्षको उमेरमा करिव पुरानो देहलाई त्याग गरी सम्पूर्णता प्राप्त गर्नुभयो । अतः हे महातपस्विनी, जगत्कल्याणी माँ जगदम्बे हजुरलाई प्रणाम ! योगीहरुमा सव महान, दिव्यगुणकी खानी एवं महावरदायिनी माँ तुझे सलाम !!
(लेखक डिभिजन वन कार्यालय, दाङ्गका अधिकृत एवं ब्रह्माकुमारीज संस्थासँग आवद्ध एक आद्यात्मिक अभियन्ता हुन् ।)