गोरक्ष समाचारदाता
दाङ, ७ असार । नागरिक समाज दाङले क्वारेन्टाइनमा रहेका सबैको अनिवार्य पिसिआर परीक्षण, संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको कामलाई तीव्रता दिएर जनमानसमा रहेको त्रासको वातावरण अन्त्य गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले नागरिकका अधिकारहरुलाई सुनिश्चित गदै राज्यका निकायहरु गम्भीर हुनुपर्ने बैठकपछि जारी विज्ञीप्तमा जनाइएको छ । बैठकले संघीय संसदबाट एमसीसी समझौता पारित गर्ने सन्दर्भमा मुलुकभर राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौगोलिक, शान्तिसुरक्षा, परियोजनाको स्वामित्व र उपलब्धिको उपभोगजस्ता गहन विषयबस्तुहरूमा राजनीतिक विश्लेषक, अर्थविद, विषयगत विज्ञ, परियोजनासम्बन्धी जानकारहरूले राष्ट्रियस्तरमा उठाउँदै आएका विषयबस्तुका बारेमा नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
त्यसैगरी राष्ट्रिय सरोकारको यस्तो महत्वपूर्ण विषयमा आइतवार बसेको बैठकमा व्यापक छलफल हुँदा एमसीसी सम्झौता नेपाल र नेपालीको राष्ट्रिय हितविपरीत नहुनेगरी राष्ट्रिय एकतालाई दृष्टिगत गर्दै सर्वदलीय, सर्वपक्षीय सहमति जुटाउँर्दै उपयुक्त निकास निकाल्न नेपाल सरकारमार्फत संघीय संसदलाई आह्वान गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी पश्चिम रुकुममा विवाहसम्बन्धी विषयले घटेको जघन्य आपराधिक घटना र कैलाली जिल्लामा क्वारेन्टाइनमा भएको बलात्कारजस्तो घृणित, अमानवीय, पाशविक घटना हुनु खेदजनक रहेको पनि विज्ञप्तिमा जनाइएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर हदैसम्मको दण्डसजाय र पीडितलाई क्षतिपूर्तिसहितको न्याय प्रदान गर्ने गराउने कार्यमा सम्बद्ध सबै निकायहरू छिटोभन्दा छिटो अन्तिम टुङ्गोमा पुग्न पनि नागरिक समाज दाङले आह्वान गरेको छ ।
त्यसैगरी कोरोना संक्रमण फैलन नदिन भनेर बनाइएका क्वारेन्टाइनहरुमा देखिएका समस्याहरु तत्काल सम्बोधन गर्न, क्वारेन्टाइनहरु महिलामैत्री बनाउन, गर्भवती सुत्केरी महिला तथा बालबालिकाहरुका लागि अत्यावश्यक पर्ने सेवाको व्यवस्थापन मिलाउन आग्रह गरेको छ । सरकारको क्वारेन्टाइन सञ्चालन कार्यविधि पालना गर्न, पछिल्लोपटक भएको सर्वोच्च अदालतको आदेशसमेत ख्याल राख्दै महिलाको स्वास्थ्य, सुरक्षा र न्यायको विषयलाई अत्यावश्यक सेवाभित्र राखेर व्यवस्थापन मिलाउन स्थानीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
कोरोना महामारीसँगै मानिसहरुमा देखिएको नैराश्यता, बढ्दो आत्महत्या रोक्न क्वारेन्टाइनस्थल, स्वास्थ्य संस्था तथा समुदायमा मनोविमर्श सेवाको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय पनि बैठकले निर्णय गरेको छ । बर्षायाम शुरु भएसँगै बाढी, पहिरो, सर्पदंशलगायतका प्राकृतिक विपदहरू बढ्दै जाने भएकोले दाङ जिल्लास्थित विपद व्यवस्थान समिति र प्रत्येक स्थानीय सरकारस्तरमा गठित विपद व्यवस्थापन समितिहरू हाई एलर्ट हुर्दै अप्रत्यासितरुपमा आईपर्ने विपदको सामना गर्दै आम दाङवासीहरुले मानवीय तथा आर्थिक क्षति व्यहोर्न नपर्नेगरी आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्र्ने समय आएको भन्दै सम्बन्धित पक्षलाई पनि नागरिक समाजको बैठकले आग्रह गरेको छ ।
कुनै पनि प्राकृतिक प्रकोपबाट दाङ जिल्लावासीहरू प्रताडीत हुन नपरोस् भन्ने हेतुले जिल्ला विपद व्यवस्थान समिति र प्रत्येक स्थानीय तहका विपद व्यवस्थापन समितिहरू अहोरात्र लागि पर्नुपर्ने हुन्छ । प्राकृतिक प्रकोपबाट बच्न आम नागरिहरू आ–आफ्नो स्थानमा सुरक्षाका उपायहरू सजकतापूर्वक अवलम्बन गर्न गराउन समेत आह्वान गर्ने निर्णय गरिएको सचिव लक्ष्मी आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी बैठकले विश्व्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बचाउन नेपालको संघीय, प्रदेश, स्थानीय सरकारबाट भए गरेका कामकाजहरूलाई अझ बढी प्रभावकारी बनाउँदै लैजानुपर्ने बेला आएको अवस्थामा सबै तह गम्भीर हुन पनि आग्रह गरिएको छ ।