अमरराज आचार्य
दाङ, ७ असार । घोराही उपमहानगरपालिकाले बालबालिकाहरुका लागि वैकल्पिक माध्यमबाट कक्षा शुरु गरेको छ । लामो समयदेखि कोरोना भाइरस संक्रमण बढ्न नदिनका लागि सरकारले लकडाउनको कारण विद्यालय खुल्न नसकेपछि आइतवारबाट वैकल्पिक माध्यमको प्रयोग गरेर पढाउन थालिएको हो ।
सामुदायिक तथा संस्थागतका कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई लागि रेडियोको माध्यमबाट पढाउन थालिएको घोराही उपमहानगरका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए । उपमहानगर क्षेत्रमा रहेका रेडियो मध्यपश्चिम, रेडियो स्वर्गद्वारी, रेडियो इन्द्रेणी र रेडियो झरनाबाट कक्षा शुरु गरिएको उनले बताए । कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई दैनिक ३ घण्टा पढाउने व्यवस्था मिलाएको शिक्षा महाशाखाले जनाएको छ । पढाउनका लागि ८ जना शिक्षकको व्यवस्था गरिएको उनको भनाइ छ ।
दैनिक आधा घण्टा एउटा विषयको बारेमा विषयगत शिक्षकले पढाउने व्यवस्था मिलाइएको छ । रेडियोबाट अंग्रेजी, नेपाली, सामाजिक र विज्ञान विषयको पढाई हुने अधिकृत पौडेलले बताए । रेडियोबाट पढाउनका लागि मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्मको तालिका निर्धारण गरिएको छ । हाल यस प्रकारको कक्षा चालु आर्थिक वर्षको अन्त्यसम्म सञ्चालन हुने महाशाखाले जनाएको छ ।
‘कोरोना संक्रमण रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइन बनाउनुपरेको र यो अवस्थामा विद्यालय सञ्चालन गर्न नसकिने हुँदा रेडियोमार्फत बालबालिकालाई पढाउने व्यवस्था गरिएको हो’, अधिकृत पौडेलले भने । लामो समयसम्म विद्यालय बन्द रहँदा बालबालिकाको ध्यान अन्यत्र जाने र पढाईमा गम्भीर असर पर्ने भएका कारण रेडियो र टेलिभिजनमार्फत भए पनि विद्यार्थीहरुलाई पढाईमा असर नपुगोस् भनेर सरकारले वैकल्पिक माध्यमबाट पढाउने योजना ल्याएको हो ।
‘यसलाई प्रभावकारी बनाउनका लागि सबैको सहयोग आवश्यक छ’, अधिकृत पौडेलले भने । उपमहानगरपालिकाले सञ्चालन गरेको यस प्रकारको कार्यक्रमको उपयोग गर्ने समेत उनले आग्रह गरे । विद्यायलयहरुले बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिसकेको र घरमै रेडियो सुनेर विषयगत ज्ञान लिने अपेक्षाका साथ रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिएको महाशाखाले जनाएको छ । वैकल्पिक माध्यमबाट यसरी पढाउनका लागि करिब ९ लाख खर्च लाग्ने महाशाखाले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट पढाउनका लागि ५ लाख रुपैयाँ पठाएको शाखा अधिकृत पौडेलले बताए । अन्य खर्चको व्यवस्थापन उपमहानगरपालिकाले गर्ने भएको छ । घोराही उपमहानगरपालिकामा सामुदायिक ९८ र संस्थागत ७० वटा विद्यालयहरु रहेका छन् ।
घोराही उपमहानगरपालिकाले शुरु गरेको रेडियोको माध्यमबाट पढाउने प्रभावकारी हुन नसक्ने गुनासोसमेत गरेका छन् । जिल्लामा विभिन्न विद्यालयहरुले पनि अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गर्ने गरेका छन् । कतियले अनलाइन कक्षा प्रभावकारी नहुने गरेको गुनासोसमेत गर्ने गरेका छन् । सबै स्थानसम्म नेटको सुविधा नहुनु, अभिभावकहरुसँग प्रविधि नहुने गरेको उनीहरुको भनाइ रहेको छ । अनलाइन कक्षामा गरिब परिवारका बालबालिकाहरु सहभागी हुन नसकेको अभिभावकहरु बताउँछन् । यसले बालबालिकाहरुबीच नै विभेद हुने गरेको उनीहरु बताउँछन् ।