गोरक्ष समाचारदाता
दाङ, ७ असार । लगानी बोर्डले दाङका दुईवटा सिमेन्ट उद्योगको लगानी स्वीकृत गरेको छ । बोर्डको ४४औं बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । यो सँगै लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका सात परियोजना स्वीकृत गरेको हो । ६ अर्बभदा बढी लगानी भयो भने प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डले ती संस्थाको लगानी स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
बैठकले ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् परियोजना–२ का लागि ७८ अर्ब ६५ करोड, ४२।९ मेगावाटको आँखुखोला जलविद्युत् परियोजनाका लागि ६ अर्ब ३० करोड, ९७।२ मेगावाटको इसुवाखोला जलविद्युत्का लागि १३ अर्ब ५७ करोड, ५७।३ मेगावाटको म्याग्दी खोला जलविद्युतका लागि १० अर्ब ३१ करोड र १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि २८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमता सहितको १ सय २५ मेगावाटका दुई छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति पनि बैठकले दिएको छ ।