आस्था र भरोषा जीवनको आधार
नारायणप्रसाद श्रेष्ठ
आस्था र भारोषाबाट नै मानव जीवनले सहज गति निर्धारण गरेको हुन्छ । जीवनको उकालीओरालीमा विचलित नभइ आदर्श चिन्तनका साथ परिवार, समाज र राष्ट्रलाई समृद्धिउन्मुख बनाउन सामथ्र्य राख्न सक्दछ । संस्कृति र संस्कारको परिमार्जित सहित संरक्षण र सम्बद्र्धन गर्न सामथ्र्य राख्न सक्छ । त्यसैले जीवनमा एकअर्काप्रति भरोषा र विश्वास राख्न सक्नुपर्छ । अरुलाई आस्था र सम्मानको भावले हेर्ने बानीको विकास गर्न सक्नुपर्छ । किनकि विश्वास र भारोषाका साथ जसले अरुलाई भलो गर्ने कार्य गर्छ ऊ आफैमा गुणवान ठहरिन्छ । उसैले प्रेम र सद्भावको वीज रोप्न सक्छ । सम्बन्धमा प्रगाढता ल्याइ जीवलाई आनन्द र खुशी बनाउन सक्छ । त्यसैले जीवनले रोजेको खुशी र आनन्द प्राप्त गर्नुछ भने आनन्द नै ब्रह्म हो र ब्रह्म भनेकै विश्वास र भरोषामा टिकेको सभ्यताको पहिचान हो भन्ने सत्यलाई ग्रहण गरी जीवन र जगतको यथार्थ धरातललाई जान्न सक्नुपर्छ । यसको लागि अनुशासनपूर्वक कर्म र त्याग गर्न जान्नु पर्छ । वाह्य आवरणले सजाइएको स्वार्थपरक चिन्तनभित्र होइन अन्तरआत्माको पवित्रताले जानेको सत्यको सफल कार्यान्वयन गर्न विश्वास र भरोषालाई जीवनको सर्वोत्तम आदर्श चरित्र सम्झी कर्म र व्यवहार गर्नुपर्छ । मानवताले निर्वाह गर्ने दायित्वबोध गर्न जान्नु पर्छ ।
व्यक्रि, लोट्न, ठक्कर खान, असफल हुन सक्ला तर मानवताले कहिल्यै ठक्कर खानु हुँदैन, न त नैतिक आचरण र व्यवहारबाट मानवतामाथि प्रश्न उठ्ने कर्म गर्नुपर्छ । तसर्थ यसका लागि अनुशासित जीवनशैली अपनाइ आफ्ना विचारलाई अरुको भलाई खातिर समर्पण गर्ने अदम्य शाहसी बन्न सक्नुपर्छ । त्यसको लागि अञ्जानमा गल्ती भयो भने पनि झुक्न जान्नु पर्छ । आफूलाई सानो सम्झी अरुको उत्कृष्ट विचारलाई आत्मसात गर्न सिक्नु पर्छ । जीवनको गतिमा कसैले पनि मैले गल्ती गर्दैन, म जे गर्छु राम्रो गर्छु यस्तो अहंकारी विचार पनि प्रदर्शन गर्नु हुँदैन । विचारलाई अहंकारभित्र कुण्ठित पनि गर्नु हुँदैन । विचारलाई बन्धक बन्ने गरी कर्म गर्नु पनि हुँदैन र अरुबाट तिरस्कार हुने व्यवहार पनि गर्नु हुँदैन । जब विचार बन्धकयुक्त हुने स्थिति हुन्छ त्यसबेला मनमा तनाव उत्पन्न भई गलत दिशातर्फ मानवीय चिन्तन जागृत हुने अवस्था सिर्जना हुनसक्छ । जब विचारबन्धनबाट एकैपटक विष्फोट हुने अवस्था हुन्छ त्यसबेला मानवीय सन्तुलन गुम्नसक्ने खतरा पनि त्यत्तिकै प्रवल भएर देखापर्न सक्छ । त्यसैले यस कुराको निकै ख्याल गर्नुपर्छ । जीवनको हरेक पलमा यस्तो अवस्था आउन दिनु हुँदैन । यस्तो अवस्थालाई कहिल्यै अवमूल्यन पनि गर्नु हुँदैन । कुनै पनि समय, क्षण र कर्ममा र व्यवहारमा यस्तो अवस्था देखिन सक्छ । यसकुरामा सावधान रहन जरुरी हुन्छ । किनकि यस्तो उतारचढाव परीक्षा जीवनको हरेक क्षणमा आइरहेको हुन्छ । भौतिक जीवनमा गुरुले शिक्षा दिएर परीक्षा लिनुभएको हुन्छ भने आध्यात्मिक जीवन जसलाई आत्मसत्यको पहिचान भनी चिनिएको हुन्छ त्यो जीवनमा परीक्षा पछि ज्ञान दिएको अवस्था हुन्छ । अर्को अर्थमा भन्ने हो भने जीवनले परीक्षापछि ज्ञान प्राप्त गरेको हुन्छ । यो कुरा बुझ्न जरुरी हुन्छ । गुरु सिकाएर परीक्षा लिनुहुन्छ तर समयले परीक्षा लिएर सिकाउँछ । त्यही समय भनेकै जीवनको गति हो । त्यसैले जीवनलाई शान्ति र सद्भावपूर्ण गति दिनको लागि उदारतापूर्वक माफी दिने क्षमता राख्न सक्नुपर्छ । जीवनमा यदि केही घटना घटेको छ भने पनि तथा जसले बारम्बार मनको कुनामा बसेर अहंकारी सोच उत्पन्न गर्छ भने एवं अरुप्रति घृणा हुने वातावरण बनाउँछ भने पनि त्यो क्षण र समयलाई माफी गरिदिनु पर्छ । यदि माफ गर्न सकिन्न भने त्यसलाई भुलिदिनु पर्छ । तब मात्र आस्थाले विश्वास बढाउन सक्छ र जीवनले उत्तम गति लिन सक्छ ।
जीवनको गति त्यति सजिलो छैन जति मानिसहरुले आफूलाई सहज रुपले प्रस्तुत गर्ने जमर्को गरेको हुन्छ । जीवन भनेको संघर्ष र समस्याको चाङ पनि हो । यसलाई बुझ्नसके जीवन सहज हुन्छ अन्यथा समयले नै जीवनलाई खतम गर्न सक्छ । जीवनले अपनाएको आचरण र व्यवहारमा कुठाराघात हुन गई जीवन अँध्यारो बन्न सक्छ । विचारमा खोट लाग्न सक्छ । जब विचार र चरित्रमा दाग लाग्ने अवस्था हुन्छ तब वाह्य आवरणमा सजाइएका उज्यालो संसारमा दिउँसै रात परेको अनुभूति भई जीवन बर्बाद हुन्छ । किनकि चरित्र यस्तो दौलत हो जसलाई खरिद गर्न पनि सकिन्न तथा यो खरिद गरेर पाइने वस्तु पनि होइन । चरित्ररुपी सम्पत्ति हराउनु भनेको संसार अँध्यारो हुनु हो । चरित्र निर्माण गर्न निकै कठिन हुन्छ । धेरै संघर्ष र मिहिनेतबाट मात्र यो उपलब्ध हुन्छ । तसर्थ चरित्रलाई सत्चरित्रतार्थ गर्न अनुशासित जीवनशैलभित्र मानवता अनुकूल गरिने आदर्श, व्यवहार गरिनु पर्छ । विश्वासको जग बलियो बनाउने गरी कर्म गर्नु पर्छ । अरुको सम्मान गर्ने क्षमता राख्नु पर्छ । क्रोधलाई वशमा राखी सन्तको सत्संगबाट उपलब्ध हुने ज्ञानरुपी अमृत पिउनु पर्छ । ज्ञानरुपी अमृत पिउने क्रममा प्रेम र सद्भाव जागृत हुने असल संस्कारको संस्थागत विकास गर्दै आफूलाई समर्पण गर्ने अभ्यास पनि गर्दै जानु पर्छ । ज्ञान मात्र प्राप्त गर्ने कार्य गरियो भने पनि यसले मुक्ति र मोक्ष प्राप्त गर्ने अवस्था मात्र रहन्छ । जीवनले राखेको उद्देश्य प्राप्त गर्न प्रेमको पवित्र गंगामा बहेको ज्ञानरुपी अमृतधारा लिन सक्नु, ग्रहण गर्न सक्नु पर्छ । यसबेला मनबाट उब्जनसक्ने लोभरुपी मायालाई अग्निकुण्डमा स्वाह गर्ने सामथ्र्य राख्नु पर्छ । किनकि लोभीलाई संसार दिए पनि उसको लोभको चाहना पूरा हुन सक्दैन । न त उसले केही पाए भन्ने महशुस गर्न सक्छ न त ऊ केही पाउने आशाबाट विचलित नै हुनसक्छ । लोभले लाभ, लाभले विलाप त्यसै भनिएको होइन । जहाँ लोभ हुन्छ त्यहाँ क्षणिक लाभ त हुनसक्ला तर त्यसको परिणाम विलापमा परिणत हुनसक्छ, दुर्भाग्य हुनसक्छ । लोभीलाई सय देऊ हजार चाहन्छ, हजार देऊ लाख चाहन्छ र लाख देऊ करोडको चाहना राख्छ । लोभीको भाँडो उभिण्डो त्यसै भनिएको होइन । त्यसैले जीवनको यथार्थ सत्यसँग पहिचान हुने किसिमले आस्था र भारोषालाई आफ्नो सत्य गन्तव्य सम्झी परिचय गराउने गरी होइन पहिचान हुने गरी कर्म र व्यवहार गर्न जान्नु पर्छ । परिचय र पहिचान देख्दामा एउटै जस्तै देखिए पनि यसमा निकै अन्तर पाइन्छ । परिचय भनेको बाटोमा हिड्दै गर्दा अपरिचित व्यक्तिको नाम, ठेगानाबाट परिचय हुनु हो । जसलाई भुल्न पनि सकिन्छ । तर पहिचान यस्तो चिनजान हो, छाप हो जसलाई भुल्न सकिँदैन । मानिसको परिचय उसको नामबाट हुनसक्छ । पहिचान उसको कर्म र व्यवहारबाट स्थापित हुनसक्छ । यो कुरालाई भुल्नु हुँदैन र जीवनलाई मान, सम्मान र प्रतिष्ठामा होइन कर्ममा जोड्न सक्नु पर्छ ।
अहिलेको वर्तमानलाई हेर्ने हो भने मानिसलाई धनसम्पत्तिले बढी प्रभाव पारिरहेको छ । धन छ त सबै छ, इज्जत, प्रतिष्ठा सबै छ भन्दै धनले मानिसलाई आफूनुकूल कार्य गराइरहेको अवस्था छ । तर सोचौं वास्तवमा के जीवनलाई दौलतले पहिचान गराउन उपयुक्त छ त ? जीवनलाई धनसम्पत्तिबाट पहिचान गराउन कति उपयुक्त ? एकछितन घोरिएर सोचौं । धन त केवल जीवनको आवश्यकतालाई परिपूर्ति गर्ने साधन मात्र हो, साध्य होइन । यसको पछाडि आवश्यकताभन्दा बढी भागदौड गर्नु त्यत्ति उपयुक्त पनि होइन । किनकि यसले कुनै पनि बेला धोका दिन सक्छ । धनलाई त मानिसले प्रयोग गर्ने हो । त्यो पनि आवश्यकताको लागि मात्र, नाम र प्रतिष्ठाको लागि होइन । यदि धनसम्पत्तिलाई दान गरिन्छ भने नामको लागि होइन पुण्यको लागि गर्ने गर्नुपर्छ । जसरी कर्म अरुको भलाई खातिर गरिन्छ तब मात्र जीवनको पहिचान अरुको सेवाबाट प्रभावित भएको हुन्छ । त्यसैले धनसम्पत्तिलाई लौकिक शरीरले आफ्नो आवश्यकताको लागि प्रयोग गर्ने हो । धनसम्पत्तिबाट लौकीक शरीर, जसले जीवन र जगतको कल्याण खातिर विचार समर्पण गरेको हुन्छ, त्यसको लागि प्रयोग गर्नु हुँदैन । यो कुरा बुझ्न जरुरी हुन्छ । यसको लागि आफूलाई पारदर्शी ऐना बनाउन सक्नु पर्छ । जसरी सीसा झुठ बोल्दैन, उसले जस्तो छ उस्तै देखाउँछ । त्यसरी नै जीवन पनि पारदर्शी ऐना बनेर हरेक पलमा आफूलाई आस्था र विश्वासको धरोहर बनाउन जान्नु पर्छ । दामको पछाडि नाम जोडियो भने यसले उन्मात ल्याउन सक्छ । उन्मातले अहंकार जन्माउँछ । अहंकारले घमण्डी, इष्र्या र स्वार्थी बनाउँछ । जुन कुराले जीवन र जगतलाई अँध्यारो बनाउन सक्छ । यस कुराको सबैले हेक्का राख्न जरुरी हुन्छ । अहंकारले मानिसलाई कुनै न कुनै दिन अवश्य पतन गराउन सक्छ । जीवनको उद्देश्य र गतिमा सुस्त चाल हुनसक्छ । त्यसैले सत्य चाल चल्न सिक्नु पर्छ । जीवनलाई सौदाको हिसाबले होइन, प्रेम र सद्भावको कसिलो डोरीले आस्था र भारोषाका साथ गतिशील बनाउनु पर्छ । तबमात्र जीवनले सफलता हासिल गर्छ । वर्तमान यही खोजिरहेछ ।
