Goraksha

National Daily

जुनवेला म बगरमा उत्रेको थिएँ …

गते मलाई याद भएन, सायद भदौ महिनाको दोस्रो साता वि.सं २०४८ साल । वातावरण चर्को थियो, भदौरे गर्मी । हामी हापुर खोलाको बगरमा ग्वाला गएका थियौं । गाईवस्तु चराउन जाने म सहित मेरा गाउँका साथीहरु केशव अधिकारी, श्रीधर खत्री, बमराज भट्टराईलगायतका साथी थियौँ । साथीहरुले गर्मी छल्न खोलामा डुबुल्की मार्ने निधोसँगै खोलाको रहमा पसेँ । उनीहरुको शीतलताले मलाई लोभ्यायो ।

रह कति गहिरो छ भन्ने मलाई थाहा थिएन, तैपनि किनारामा डुबुल्की मार्दामार्दै साथीहरुछेउ पुग्दा म डुबेँ । किनकि मलाई पौडी खेल्न आउँदैनथ्यो । डुबेको थाहा पाएपछि साथीहरुले तत्काल मलाई उद्धार गरी किनारामा ल्याए । डुब्दा मैले तीनचार घुट्की पानी खाइसकेको थिएँ । किनारामा आउँदा म निस्सासिइरहेको थिएँ । पानीले पेट फुलेको थियो । साथीहरुले पेट थिचेर पानी निकालिदिएपछि मलाई केही क्षणपछि आराम महशुस भयो । थर्थरी कापेको जीउ सम्हालिन थालिसकेको थियो । लेखिदिनुुहोला मेरो सबैभन्दा अविस्मरणीय खुशी त्यही हापुर खोलाको बगर हो । जसले मलाई बचाएको थियो । साथीहरुले थाहा नपाएर म बेपत्ता भएको भए तपाईंले मलाई अहिले गोरक्षमा पनि पाउनुहुने थिएन । अनि त्यहीँ डुबाईले मलाई पौडि खेल्न पनि सिकाएको थियो । अहिले म त्यस्ता रह होउन वा स्वीमिङ पुल होउन्, जहाँ पनि पौडी खेल्नसक्ने भएको छु । म नडुबेको भए वा डुब्न डराएको भए मलाई पौडी खेल्न सिक्न निकै मुस्किल हुने थियो भन्ने मलाई लाग्छ । ती साथीहरुलाई म अझै पनि विशेष धन्यवाद दिन चाहन्छु, किनकि उहाँहरुले मलाई पुर्नजीवन दिनुभएको हो । त्यो बगरलाई मैले सम्झिरहन्छु, जसले मलाई डुबेको बेला आश्रय दिएको थियो । सायद म नदीमा बगिरहेको भए …।

त्यो त भयो मेरो पुनर्जीवन, अनि अर्को खुशीको क्षण पनि मैले यहाँलाई स्मरण गराउन चाहन्छु । राप्ती साहित्य परिषदको पुनर्जीवन । धेरै वर्षदेखि राप्ती साहित्य परिषद् सुस्ताएको थियो, अर्थात् मृतप्रायः भने पनि हुन्छ । आदरणीय साहित्यकार नारायणप्रसाद शर्मालाई विशेष स्मरण गर्न चाहन्छु, कि उहाँ र मेरो पहलमा राप्ती साहित्य परिषदले पुनर्जीवन पायो । वि.सं २०५२ साल तिरको कुरा हो । मुलुकमा वहुदलीय राजनीतिको सुरुवात भए पनि एउटा पार्टी जंगल पस्ने उद्घोष गरिसकेको थियो । त्यही बेला श्रद्धेय गुरुले राप्ती साहित्य परिषद्लाई पुनर्जीवन दिनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो । हामीले स्वीका¥यौँ । राप्ती साहित्य परिषद तदर्थ समिति गठन गर्ने निर्णय भयो । उहाँ संयोजक हुनुभयो, मैले सचिवको जिम्मेवारी पाएँ । राप्ती अञ्चलकै श्रष्टाहरु अटाउने सो परिषदको सचिवको जिम्मेवारी सम्हाल्न पाउनु मेरो लागि निकै खुशीको क्षण बन्यो । किनकि म कलिलै उमेरमा त्यो पदीय जिम्मेवारीमा पुगेको थिएँ ।

त्यसो त मैले त्यस अघि पनि सानातिना कथा कविता यहाँका स्थानीय पत्रपत्रिकामा छाप्थेँ । सानैदेखि साहित्यमा रुचि भएकाले पनि मैले धेरैजसो कविता लेख्ने, अञ्जान यात्रीका नाममा । मलाई याद छ त्यो बेला युगबोध पत्रिकामा छापिएको ‘समय’ शीर्षकको कविता । त्यो बेला लेखेको ‘समय’ शीर्षकको कविता मलाई अझै पनि याद छ । त्यसको आशय थियो, समय बलवान् छ, समयले मान्छेलाई कहाँ पु¥याउँछ भन्ने कसैलाई पत्तै हुँदैन । त्यसको कटिङ अझै पनि मेरो कोठामा सुरक्षित छ । त्योलगायत अन्य रचनाहरु छापिँदा मैले सहभाठी विद्यार्थी साथीहरुलाई लगेर देखाउँथे । मैले लेखेको कविता पत्रिकामा छापिने दिन म विहानै उठेर पत्रिका खोज्न दौडन्थेँ, पत्रिका पाएलगत्तै पत्रिका कसलाई देखाउने भन्ने मेरो पहिलो ध्यान हुन्थ्यो । ती साहित्यिक रचनाहरु पनि मेरा खुशी हुन् । जसले मलाई जिउन सिकाएका थिए, यथार्थता सिकाएका थिए । अञ्जान यात्रीका नाममा मैले कविता विधामा साहित्यमा रुचि राख्थें । मेरा रचनाहरु स्थानीय पत्रिका युगबोध, महेन्द्र वहुमुखी क्याम्पसको छहरा मुखपत्र, जमर्को भन्ने भित्तेपत्रिकालगायत स्थानीय पत्रिकामा प्रकाशित हुन्थे ।

त्यसो त भूकम्पले छेतविच्छेद भएका विद्यालयहरुको पुनर्निर्माण हुँदाको क्षण पनि मेरो अविस्मरणीय खुशीको क्षण हो । महाभूकम्प २०७२ मा हामी सिन्धुपाल्चोकमा थियौं । मैले मर्सिकोर नामको गैरसरकारी संस्थामा काम गर्थें । जुन संस्थाले विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ । भहाभूकम्प २०७२ को ठूलो प्रभाव सिन्धुपाल्चोकलाई पारेको थियो । गोरखा जिल्लाको वारपाक इपिसेण्टर भएको भनिए पनि सिन्धुपाल्चोकका पहाडी वस्तीहरुमा भूकम्पको ठूलो प्रभाव परेको थियो । सयौं घरहरु भत्केका थिए । धेरै नागरिकले ज्यान समेत गुमाएका थिए । यसैबेला धेरै विद्यालयहरु छेतविच्छेद भएर माटोमुनि पुरिएका थिए । त्यो बेला म संस्थाको जिल्ला संयोजकको भूमिकामा थिएँ । हाम्रो पहलमा तथा जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको सहयोगमा हामीले विद्यालय जान नपाएका नानीहरुलाई स्कूल पठाउन विद्यालय पुनर्निर्माण गरेका थियौँ । हामीले सिन्धुपाल्चोकको दुर्गम वस्ती घोर्थली, कर्थली, राम्चे र मानेसोरामा गरी ४ वटा विद्यालयको पुनर्निर्माण गरी भवन हस्तान्तरण गर्दा विद्यालयमा उपस्थित नानीहरु यति खुशी भएका थिए कि मानौं उनीहरुले गुमेको विद्यालय फेरि पाएको अनुभूति गरिरहेका थिए । फेरि पढ्ने रहर पलाएर आएको थियो, उनीहरुमा । ती सानासाना विद्यार्थीहरु पनि मेरा खुशी हुन् । उनीहरुलाई पनि मैले कहिल्यै भुल्न सक्दैन । किनकि विद्यालय पुनर्निर्माणपछि उनीहरुको अनुहार यति उज्यालो थियो कि त्यो परिकल्पना गर्न सकिँदैनथ्यो । विद्यालय पुनर्निर्माणको काम गरेका थियौं, मर्सिकोर मार्फत् । सो काम मेरो नेतृत्वमा भएको थियो । हामीले त्यहाँ चार वटा विद्यालयको पुनर्निर्माण गरेका थियौं ।

माथि उल्लेखित खुशीका क्षणहरु हुन् मर्सिकोर नेपाल सल्यान जिल्ला शाखा संयोजक गिरिराज अधिकारीका । जन्मथलो घोराही उपमहानगरपालिका—९ अस्पारा, कर्मथलो सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र सल्यान । तेघराको नरदेवी माविबाट प्राथमिक शिक्षा पाएका अधिकारीले घोराहीको भरतपुरस्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयबाट हाई स्कूल उत्तीर्ण गरे । राजधानीको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण अधिकारी विभिन्न मानसम्मानले पुरस्कृत पनि भएका छन् । बुबा खुशल अधिकारी र आमा विजया अधिकारीका जेठा सन्तानका रुपमा जन्मिएका अधिकारी सामुदायिक वन उपभोक्ता समूहमा वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी क्षेत्रमा समेत काम गरिसकेका छन् । आयमूलक कृषिदेखि विकासमा युवा संलग्नता अभियान नेपालमा संलग्न अधिकारी अध्ययनका क्रममा राजधानीमा रहँदा साहित्यप्रेमी विद्यार्थी समूहको सचिव तथा दाङ विद्यार्थी समिति कीर्तिपुरको संयोजक समेत बनेका थिए । दाङ विद्यार्थी समितिबाट उत्कृष्ट अध्यक्षको सम्मान पाएका अधिकारी युवा अभियानबाट पनि उत्कृष्ट युवा अभियन्ताका रुपमा सम्मानित भएका थिए ।

भन्छन् खुशी मिहिनेतको प्रतिफल हो । सामाजिक सेवा भावना हो अनि आत्मसन्तुष्टि पनि हो । अभावबीचमा पनि खुशी लुकेको हुन्छ, त्यसलाई चरित्रले चिर्नुपर्दछ, आत्माले ग्रहण गर्न सक्नुपर्दछ । पैसा खुशी हुन सक्दैन, किनकि पैसाभित्र पनि दुःख लुकेको हुन्छ । पैसा एउटा साधन मात्र हो, साध्य होइन । त्यसैले श्रमबाट मिल्ने सन्तुष्टि नै मेरो विचारमा खुशी हो ।

अधिकारी मार्सिकोर नेपाल सल्यानका संयोजक तथा सामाजिक अभियन्ता हुन् ।