जिल्लामा खानेपानीका मुहानहरु सुक्दै गएका छन् । भूमिगत जलस्रोतको अवस्था पनि अत्यन्तै कमजोर भइरहेको छ भने वनजंगल फँडाणी र चुनढुङ्गा उत्खनन्का कारण वार्षिक वर्षातको दर पनि घटिरहेको अवस्थामा छ । यस्तै पानी संकटको अवस्था टार्न नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आउँदो बैशाखभित्र कम्तिमा ४२ किलोमिटर पाइपलाइन विस्तारको अभियानमा छ । यसै सन्दर्भमा केन्द्रित रहेर वि.सं २०६८ सालमा कार्यसमिति सदस्यमा जोडिएर दुई कार्यकाल बिताइसकेका नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) सँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपाईंलाई गोरक्षको सातावार्तामा ।
-धन्यवाद तपाईं, अनि तपाईंको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक परिवारलाई, नारायणपुर खानेपानीको विषयमा केही कुरा राख्ने अवसर दिनुभएकोमा ।
दुइ कार्यकाल अध्यक्ष भइसक्नुभएको छ, अब तपाईंको नेतृत्वको समयावधि पनि सकिनै लागेको छ, के गर्दै हुनुहुन्छ, अहिले?
– हाम्रो मिसन भनेको नारायणपुरवासीलाई सहज रुपमा स्वस्थ खानेपानी उपलब्ध गराउनु हो । हाम्रो कार्यक्षेत्र भनेको घोराही उपमहानगरपालिकाका १० र ११ वडा तथा ८ र ९ का पनि केही भूभाग रहेका छन् । अहिले सबैलाई पानीको पहुँच पु¥याउनका लागि कम्तिमा ४० किलोमिटर खानेपानी पाइपलाइन विस्तार गर्दै छौँ । त्यसले पश्चिम क्षेत्रको बुकालीडाँडादेखि पुर्वमा गुर्जेखोला र उत्तरमा बरुवागाउँ धैरेनीदेखि दक्षिणमा बबई किनारासम्म हुने छन् । यसका लागि पाइप खरिद प्रक्रियालगायतका धेरै कामहरु अघि बढिसकेका छन् । त्यसपछि आफ्नो कार्यक्षेत्रमा खानेपानीको कुनै अभाव हुन पाउने छैन । यो योजना सम्पन्न भएपछि हाल जडान भएका धाराभन्दा धेरै बढी उपभोक्ताहरुलाई सहज रुपमा पानी उपलब्ध गराउने छौं । हाल नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मार्फत् करिब १० हजार उपभोक्तालाई पानी वितरण गर्दै आएका छौं । हाल २ हजार एक सय ५१ धारा जडान भइसकेका छन् ।
वि.सं २०५८ सालमा स्थापना भएको तपाईंको संस्था तपाईंको नेतृत्वमा रहिरहँदा उल्लेख्य नयाँ काम के गर्नुभयो ?
-वि.सं २०७१ सालसम्म नारायण खानेपानीको केन्द्रीय राज्य सरकारसँग पहुँच नै थिएन । त्यसै वर्ष बल्ल यहाँका राजनेताहरुको सहयोगमा नारायण खानेपानी योजनालाई रातोकिताबमा पार्न सफल भएका हौं । यसैगरी क्रमाङ्गत योजना र सहलगानीका योजनाहरु पनि सुरु भइसकेका छन् । सहलगानीका योजनाबाट ३४ सय ५० र सहलगानीका ३ हजार थप घरधुरीलाई पानी वितरण गर्न सफल हुने छौं भन्ने हाम्रो विश्वास छ । सहलगानीका योजना वि.सं २०७२ सालदेखि नै १५ करोड रुपैयाको लगानीमा सुरु भएको छ । त्यसमा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी रहेको छ । यी योजना नारायणपुर स्किम नम्बर ३ अन्तर्गत सुरु भएका हुन् ।
नयाँ योजनाका विषयमा केही बताइदिनुस् न ?
-हाल हाम्रो संस्थामार्फत् दैनिक ६ लाख लिटर खानेपानी उपलब्ध गराउँदै आएको छ । विभिन्न डिपबोरिङमार्फत् ओभरहेड ट्याङ्कीमार्फत् पानी वितरण भइरहेको छ । अब निकट भविष्यमै मार्फाडाँडा खानेपानी योजना ८ करोड रुपैयाँको लगानीमा सुरु हुँदै छ । यसैगरी प्रदेश सरकारको आर्थिक सहयोगमा अर्को खानेपानी योजना समेत स्वीकृत भइसकेको छ । त्यसले रघौरा, अर्घु, लमडरुवा, ठाँटीगाउँ, धैरेनी, डाबर, पहेलपार, माथिल्लो धैरेनीलाई पानी उपलब्ध हुने छ । यो योजनाको पनि छिट्टै सर्भेको काम सुरु हुँदै छ । यसैगरी सौंडी–बेलुवा–स्यानीगाउँमा पनि अर्को योजना सुरु हुँदै छ । यसपछि खानेपानीको समस्या थप केही वर्षलाई सहज हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं ।
जिल्लामा धेरै खानेपानी संस्थामा खानेपानीको हाहाकार हुने समस्या देखिएको छ । कतिपय योजनामा हिउँदभरि पानी न्यून हुने र वर्षातमा धमिलो पानी आउने समस्या छ, तपाईंको खानेपानीमा कुनै चुनौती देख्नुभएको छैन ?
-थुप्रै चुनौतीहरु आउने सम्भावना मैले देखेको छु । मुहानहरु सुक्दै गएका छन् । वर्षातको दर घटिरहेको छ । जमिनमुनिको पानीको सतह पनि वर्षेनी घट्दै गएको छ । सबैभन्दा ठूलो चुनौती भनेको चुनढुङ्गाको उत्खनन् हो । हाम्रो उत्तरी क्षेत्रमा पर्ने महाभारत शृंखलाहरु चुनढुङ्गा उत्खनन् हो । यसलाई रोक्न मैले राज्यका निकायसँग जोडदार माग गर्दछु । यहाँ सञ्चालित दुई ठूला सिमेन्ट उद्योगहरुले अनियन्त्रित रुपमा उत्खनन् नरोके दाङ चाँडै मरुभूमीकरणतर्फ उन्मुख हुने छ । किनकि चुनढुङ्गा नै पानी संश्लेषण गर्ने मुख्य आधार हो । वर्षातको पानी पनि जोखिममै छ । किनकि परेको पानी यहीं संश्लेषण हुनुपर्ने हो, तर धेरै वर्षातको पानी बगेर जाने अवस्था रहेको छ । यी सबै चुनौतीहरुलाई टार्न उत्तरी शृंखलाका खोलाहरुमा हाइड्याम निर्माण गर्नु हो । यो विषयमा साना संस्थाबाट यो काम सम्भव छैन । संघीय सरकार नै यो विषयमा गम्भीर हुनुपर्छ । अर्को कुरा भनेको प्रदेश सरकार र स्थानीय सरकारले पनि वातावरणमैत्री योजनालाई प्राथमिकतामा राख्नु आवश्यक छ । त्यसका लागि उपयुक्त स्थानमा कृत्रिम ताल निर्माण पनि सहयोगी हुन सक्छ ।
प्रसङ्ग बदलौँ, तपाईंको क्षेत्रमा राज्यको लगानीको पानी र निजी लगानीका पानीका धाराहरु समेत वितरण भइरहेका छन् । प्रतिस्पर्धाको अवस्थामा कसरी काम गरिरहनुभएको छ ?
-पानी यस्तो वस्तु हो, जुन जहिले पनि अपुग नै हुन्छ । त्यसैले प्रतिस्पर्धा गर्नुपरेको अवस्था छैन । किनकि राज्यको लगानीमा सञ्चालित संस्थाले केही न केही सस्तो मूल्यमा पानी उपभोक्तालाई पु¥याइरहेका छौँ । अहिलेको अवस्थालाई हेर्नुहुन्छ भने हाम्रो संस्थामार्फत् १३ हजार लिटर खानेपानीको महशुल एक सय ७० मात्र निर्धारण गरेका छौं । पानीको उपलब्धता हेरेर दैनिक दुई पटक पानी वितरण हुन्छ । विहान ५ बजेदेखि १० बजेसम्म र साँझ ३ बजेदेखि ६ बजेसम्म वितरण हुन्छ । यसले उपभोत्तालाई पानी पुगेकै हामीले महशुस गरेका छौँ । यसैगरी धारा जडान सेवा शुल्क २० हजार रुपैयाँ लिने गरेका छौं । यो एभ्रेज मूल्य हो । त्यसैले उपभोक्ताको सहजताका लागि अनलाइन विलिङ सिस्टम सुरु भइसकेको छ । आइएमइबाट पनि पानीको महशुल भुक्तानी हुन्छ । अनि अर्को उपभोक्ताको गुनासो भनेको प्रशोधित र शुद्ध खानेपानी हो । त्यसका लागि पनि प्रशोधन प्लान्टको अभ्यासमा छौँ । हाल ओभरहेड ट्याङ्कीमा पानी प्रशोधन गर्ने औषधि राख्ने गरेका छौँ । हाम्रो पानीको स्रोत भनेकै भूमिगत जलस्रोत भएका कारण वर्षातमा धमिलो पानीको सम्भावना छैन । यद्यपि अर्सेनिकलगायतका कुरा आउन सक्छन्, तर हामीले सबै वोरिङको पानी प्रयोगशाला परीक्षण भएको हो । खनिजको मात्रा पनि आवश्यकताभन्दा अत्यन्तै बढी छ ।
अन्त्यमा गोरक्ष दैनिक पत्रिकामार्फत् केही भन्न चाहनुहुन्छ ?
-सबैभन्दा पहिले नारायणपुर खानेपानीका विभिन्न पक्षलाई समेटेर आम उपभोक्तामाझ केही कुरा राख्ने अवसर दिनुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक परिवारलाई विशेष धन्यवाद । अनि आम उपभोक्ताहरुलाई पनि मैले सहलगानीका योजनामा सहकार्य गर्न हार्दिक आग्रह गर्दछु । साथै संस्था नेतृत्ववर्गको मात्र होइन, आम उपभोक्ताहरुको हो । त्यसैले संस्थालाई दीर्घजीवि बनाउन आम उपभोक्ताहरुको हातेमालोको अपेक्षा गर्दछु ।