यसरी कोरोना भाइरस जित्यो नरैनापुरले

प्रियास्मृति ढकाल
बाँके, ६ असार । गएको जेठ २ गते नरैनापुरमा एकैपटक ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ राख्ने भन्नेमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहलाई ठूलो तनाव भयो । पालिकामा आइसोलेशन सेण्टर थिएन । कोरोना विशेष अस्पताल खजुरामा बेड भरिभराउ थियो । संक्रमितहरुलाई दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउन पनि समस्या भयो । किनकि त्यसको दुई दिन अघि बर्दियाबाट ११ वर्षीया संक्रमित बालिकालाई बेलझुण्डी लैजान लाग्दा दाङमा विरोध भएपछि उनलाई बाँकेको खजुरामै राख्नुपरेको थियो ।

आफ्नो पालिकाका संक्रिमतलाई आइसोलेशन सेण्टरमा राख्देउ भन्न उनले सिडिओदेखि प्रदेश सांसद्सम्मै हात जोड्नुप¥यो ।

संक्रमण पुष्टि भएको करिब ४८ घण्टापछि संक्रमितहरुलाई बेलझुण्डी लगियो । त्यसको दुई दिनपछि दीपेन्द्र प्रावि क्वारेन्टाइनमा एकजनाको मृत्यु भयो । पिसिआर परीक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आयो । त्यसको भोलिपल्ट एकैपटक ५९ जना कोरोना संक्रमित थपिएपछि नरैनापुर कोरोनाको ‘हटस्पट’ बन्यो । पालिका अध्यक्ष साह आत्तिए । जनप्रतिनिधि र कर्मचारी त्राही–त्राही भए । कर्मचारीहरु घरबाट निस्कन छाडे ।

कोरोना आफ्नो नियन्त्रणभन्दा बाहिर गएको र आपूmले केही गर्न नसक्ने भन्दै साहले मिडियामा हारगुहार गरे । ‘न सिडियो आए, न त एसपी’ उनी सम्झन्छन–‘यो क्षेत्रबाट निर्वाचित प्रदेश र संघीय सांसद समेत त्यति बेला कोही आएनन् ।’

भारतबाट आउने क्रम नरोकिएकाले संक्रमितको संख्या थपिने क्रम चलिरहेको थियो । जेठको दोस्रो सातासम्म संक्रमित एक सय १८ पुगे । पालिका अध्यक्ष साह भन्छन्–‘जब समस्या आफ्नो काँधमा आई पर्छ आफै जुध्नुपर्ने रहेछ ।’ जनताको सेवा गर्छु भनेर आइसकेपछि केही गर्नु पर्छ भन्ने आँट र शाहस उनले जुटाए ।

घरमा बसेका जनप्रतिनिधि र कर्मचारीहरुलाई परिचालन गरे । विद्युत र पानी नभएका क्वारेन्टानलाई व्यवस्थित गर्न कर्मचारी परिचालन गरे । कोरोनाबाट आत्तिएका जनतालाई सम्झाउँदै हिडे । लकडाउनलाई पालना गर्न स्थानीयलाई अपील गरे । सामाजिक दूरीको पूर्ण पालना गराए । सरसफाई र खानपिनमा ध्यान दिन आग्रह गरे । स्थानीय स्वास्थ्य संस्थाहरुमा पनि कर्मचारी नियमित बस्न थाले । दुईवटा एम्बुलेन्स ‘स्ट्याण्ड वाई’ राखे ।

उनी भन्छन्–‘नेपाली सेना पनि परिचालन भयो । संक्रमणको दर पनि घट्न थाल्यो ।’ आइसोलेशनबाट कोरोना भाइरस जितेर घर फर्किने क्रम पनि सुरु भयो ।’ जेठको १३ गते बाँकेका सिडिओ फेरिए । कुमारबहादुर खड्काको ठाउँमा रामबहादुर कुरुम्वाङ आए । कुरुम्वाङ सुरुमै ‘हटस्पट’ नरैनापुर पुगे । जब कि खड्का कोरोना संक्रमण फैलिएको नरैनापुरमा एक दिन पनि गएनन् । सिडिओले आपूmले गर्नसक्ने सहयोगको प्रतिबद्धता जनाए ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सँगै भएको आभाष दिलाए । उनलाई थप प्रेरणा मिल्यो । कोरोना विपदबाट हार खाएर हात उठाएका उनी खुशी हुँदै भन्छन्–‘अब कोरोनासँग कुनै डर छैन् ।’ स्वास्थ्यकर्मीको न गत्तिलो उपस्थिति न त कुनै प्रशासनिक संयन्त्रका अधिकारीको सहज उपलब्धता, न स्थानीय तहकै जनप्रतिनिधिहरू नै भेटिने । यस्तो हालतबाट गुज्रिएको नरैनापुरले यिनै समस्यालाई सुधार गरेपछि कोरोनासँग जुध्न सहज भएको त्यहाँका स्थानीय पत्रकार विनिय दीक्षित बताउँछन् ।

करिब साढे दुई दशकसम्म विद्युत नपुगेको ठाउँमा अहिले विद्युत पुग्यो । विद्युत पुगे लगत्तै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकी र नमुना प्रावि मोतीपुरमा सुविधा सम्पन्न आइसोलेशन सेण्टर स्थापना गरिएको छ । चिकित्सकविहीन पालिकामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) पढेका डा सागर पन्त खटिएका छन् ।

सदरमुकाम नेपालगञ्जदेखि करिब ४० किलोमिटर पूर्वमा रहेको नरैनापुरमा अहिले मिडियाहरुको उपस्थिति पनि भइरहेको छ । नरैनापुरको विषयमा समाचार लेख्दा पुष्टिकरण गराउनै असहज हुन्थ्यो । किनकि मिडियाकर्मीको उपस्थिति नै न्यून हुन्थ्यो । अक्सर अरुले भनेकै भरमा समाचार बाहिर आउँथ्यो । अध्यक्ष साह भन्छन्–‘मिडियाले धेरै सपोर्ट ग¥यो, धेरै मिडिया स्थलगत रुपमै आएर अवस्था बुझ्नुभएको छ, नरैनापुरमा फैलिएको संक्रमण नियन्त्रणका लागि सरोकारवालालाई घचघच्याउन मिडियाले गरेको योगदान बिर्सिन सक्दैन ।’

जेठको अन्तिम सातासम्म आइपुग्दा नरैनापुर कोरोनाबाट मुक्त भइसकेको छ । यो अवधिमा पालिकाले करिब एक करोड रकम खर्च गरिसकेको पालिका अध्यक्ष साह बताउँछन् । उनी भन्छन्–‘पालिकाको करिब एक करोड खर्च भएको छ । प्रदेश सरकारले १० लाख बजेट पठाएको थियो । क्वारेन्टाइनमा बसेकाहरुलाई खाना, खाजा र बस्नलाई पालिका आफैले सहयोग गरेकाले खर्च अझै बढ्नसक्छ ।’ संक्रमित सबै निको भएर घर फर्किसकेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ भन्छन्–‘नरैनापुरको खिल निकाल्न सफल भयौँ ।’

नरैनापुर गाउँपालिका–५ मटेहियाका रामधन यादवलाई अब कोरोना भाइरस सामान्य जस्तै लागिसकेको छ । ‘कोरोनासँग भाग्न सकिने अवस्था छैन’–उनले भने–‘कोरोनासँगै बाँच्नुपर्छ तर उच्च सावधानी र सतकर्ता चाहिँ अपनाउनु पर्छ ।’ उनको भनाइले नै पुष्टि गर्छ नरैनापुरमा अब कोरोनाको त्रास छैन ।

विज्ञहरु भन्छन्–‘कोरोनाको महामारी अन्त्य नहुँदासम्म सावधानी अपनाउनुको विकल्प देखिँदैन ।’ बाँके जिल्लामा रहेर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे पालिकामा भित्रिने नयाँ व्यक्तिहरुलाई व्यवस्थित क्वारेन्टाइनमा राख्ने र लक्षण देखिएका विरामीलाई तत्काल आइसोलेट गरियो भने मात्र नरैनापुरले कोरोनाको जोखिम झेल्नु नपर्ने बताउँछन् । साबुन पानीले हात धुने, गुणस्तरीय सेनिटाइजरको प्रयोग गर्ने, माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने, सामाजिक दूरीको पालना गर्ने हो भने धेरै हदसम्म कोरोना भाइरसबाट जोगिन सकिने उनको सुझाव छ ।

फ्रिडम फोरमसंगको सहकार्यमा ।