लिलाधर वली
दाङ, ६ असार । घर छैन । ५ सयको कोठा भाडा । कोठामा चुलो बाल्नको लागि केही छैन । कुटेको गिट्टी विक्री भएको दिन चुलो बल्छ, होइन भने बल्लतल्ल गुजारा चल्ने गरेको छ । रोल्पा जिल्ला जुरमसिना निवासी ७१ वर्षीया रामकली परियार र ६६ वर्षीय लालबहादुर दसौदीको जीवन यस्तै कष्टमा चलेको छ ।
पाल्नका लागि सन्तानसँगै बस्नका लागि घर र खानका लागि कुनै स्रोत नहुँदा जीवन कष्टकर बनेको उनीहरुले बताए । उनीहरु केही वर्षदेखि घोराही उपमहानगरपालिका–१३ रानीजरुवामा बस्दै आएका छन् । सेवारखोलामा गिट्टी कुटेर जीविका चलाउँदै आएका उक्त बृद्ध दम्पत्तिलाई मासिक ५ सय रुपैयाँ कोठाभाडा जुटाउन समेत समस्या पर्ने गरेको छ । त्यसैमा खान र लाउनलाई समेत थप समस्या पर्ने गरेको राकमलीले बताइन् ।
‘बन्दका कारण कुटेको गिट्टी समेत नबिक्दा एक छाक खानलाई समेत समस्या परेको थियो’–उनले भनिन्–‘बन्द खुलेपछि अहिले केही सजिलो भएको छ ।’ काम गर्ने समस्यामा रहेका बृद्ध दम्पक्तिले लकडाउनको समयमा ५ किलो चालम सहयोग पाएको बताए ।
पहिलो श्रीमान् बितेपछि अन्तरजातीय विवाह गरेकी ७१ वर्षीया रामकली परियारको नागरिकता समेत छैन । नागरिकता नहुँदा सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता समेत पाउन नसकेको गुनासो गरेकी छन् । ‘नागरिकता हुनेले भत्ता बुझ्छन्, आफ्नोे त अहिलेसम्म नागरिकता समेत छैन’–७१ वर्षीय रामकलीले भनिन्–‘नागरिकता नहुँदा भत्ता आउँदैन, जसले गर्दा सकि नसकी गिट्टी कुट्ने काम गर्नुपरेको छ ।’
नागरिकताको लागि पहल गरे पनि विभिन्न वहाना बनाएर नागरिकता नबनाइदिएको राकमलीले बताइन् । ‘आपूm जस्तै अरुले भत्ता बुझ्छन्, आफ्नो त नागरिकता पनि छैन’–उनले भनिन्–‘नागरिकता नहँुदा भत्ता आउँदैन, साँझ विहान खानका लागि गिट्टी कुट्नुपरेको छ ।’ दुईवटी छोरीहरु भए पनि उनीहरु सम्पर्कमा छैनन् ।
बृद्ध दम्पत्तिलाई खाद्यान्न सहयोग
युवा व्यवसायी तथा समाजसेवी जयराम वलीले बृद्ध दम्पत्तिलाई खाद्यान्न सहयोग गरेका छन् । दंगशीरण गाउँपालिका–६ निवासी वलीले घोराही उपमहानगरपालिका–१३ रानीजरुवामा बस्दै आएका घरबारविहीन बृद्ध दम्पत्तिलाई खाद्यान्न सहयोग गरेका हुन् ।
सामाजिक सञ्जाल युटुवमा भिडियो हेरेपछि उनले शनिवार बृद्ध दम्पत्ति बस्दै आएको घोराही–१३ रानीजरुवा स्थित घरमा पुगेर एक बोरा चामल, तेल, बिस्कुटसहित नगद पैसा सहयोग गरेका हुन् । पाल्नका लागि छोराछोरी समेत नभएका घरबारविहीन बृद्ध दम्पत्ति समस्यामा परेको भिडियो युटुवमा हेरेपछि आपूmले थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले चालम, तेललगायत खाद्यान्न सहयोग गरेको बताए ।
‘बृद्ध दम्पत्तिको बस्नका लागि घर पनि नभएको र पाल्नका लागि सन्तान पनि रहेन्छन्’–वलीले भने– ‘उहाँहरु समस्यामा परेको भिडियो हेरेपछि मैले थोरै सहयोग गरौँ भनेर खाद्यान्न सहयोग गरेको हूँ ।’ उनले अहिलेको सहयोगले तत्कालका लागि समस्या समाधान हुने समेत बताए ।