नेकपाको निर्णय : ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिता
गोरक्ष समाचारदाता
काठमाडौं, ६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा निर्णय गरेको छ । शनिवार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरूषसँग विहे गरेर निरन्तर बसोवास गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो । नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ ।
बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए, तर अरु नेता सहमत भएनन् । कांग्रेस र मधेश केन्द्रित दलहरु नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिने वर्तमान व्यवस्थाको पक्षमा छन् । अरू दल सहमत नभए वहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको नेकपाका एक नेताले बताए । नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ ।
अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अंगीकृतबारे सहमति जुट्नसकेको थिएन । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनायो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुसँग सहमति गर्ने बताएपछि गृहमन्त्री रामबहादुर थापा (बादल) ले ५ दिन समय मागेका थिए ।
