Goraksha

National Daily

लमही नगरको नीति तथ कार्यक्रम : रोजगारका अवसर र एक वडा एक उद्यान

गोरक्ष समाचारदाता
लमही, ६ असार । लमही नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम सावर्जनिक गरेको छ । नगर प्रमुख कुलबहादुर केसीले शुक्रवार नीति तथा कार्यक्रम सावर्जनिक गरेका हुन् । कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाएका तथा वेरोजगार व्यक्तिलाई रोजगारीका अवसर बढाउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउँदै नागरिकको जीवनस्तर सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नीति तथा कार्यक्रममा राखिएको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण विदेश तथा स्वदेशमा जागिर गुमाएका तथा बेरोजगार युवालई व्यावसायिक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

कृषि र पशुलान क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै आउँदो वर्षका धेरै कार्यक्रम कृषि र पशुपालनतर्फ केन्द्रित गरिएको छ । ‘कम समयमा तयार हुने र बढी आम्दानी दिने खालका खेतीमार्फत् विपन्नवर्ग र महिलाहरुको आयस्तर बृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने छ’–नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख केसीले भने–‘एक वडा एक पशुपालन स्रोत केन्द्र स्थापना गर्ने नीति लिइने छ ।’ कोरोना रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने योजनालाई प्राथमिकता राखेको छ । वार्षिक नीति तथा कार्यक्रममा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने, क्वारेन्टाइन व्यवस्थित बनाउने र आधारभूत आवश्यकताका वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउने विषयलाई प्राथमिकतामा राखिएको हो ।

त्यसैगरेर नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच अभिबृद्धि गर्न नगरभित्र सञ्चालन भएका स्वास्थ्य चौकीमा क्रमशः कम्तिमा एक जना एमविविएस डाक्टरबाट स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख छ । लमही अस्पताललाई थप सेवामुखी, स्रोतसाधन युक्त, दक्ष चिकित्सक र स्वस्थ्य सामग्रीको व्यवस्था गरी माइनर अप्रेशन सेवा सुरुवात गरिने, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला सेवा, सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवा, बहिरंग र अन्तरंग सेवालाई थप गुणस्तरीय बनाइने उल्लेख गरिएको छ ।

लमहीमा सर्पदंश उपचार केन्द्र सेवा सञ्चालनको लागि संघीय सरकार तथा प्रदेश सरकारको सहकार्यमा पर्याप्त औषधि, उपकरण तथा जनशक्तिको व्यवस्था गरिने, प्रदेश सरकारको सहयोगमा लमहीमा निर्माण हुन लागेको ट्रमा सेण्टरको भवन निर्माणको लागि आवश्यक सहजीकरण र समन्वय गरिने नीति लिइएको छ । आमासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी अवस्थामा पोषणयुक्त खानाको महत्व दर्शाई, पोषणयुक्त खाना खाने बानीको विकास गर्न सुत्केरी आमालाई पोषण खाद्य सामग्री हस्तान्तरण गरिने नीति लिइएको छ ।

यसैगरेर नगरपालिकाले एक वडा एक उद्यान, एक वडा एक जलाशयको अवधारणलाई अघि सारेको छ । यो अवधारणानुसार कार्यक्रम सञ्चालन गर्न सामुदायिक वन, टोल विकास संस्था तथा विद्यालयहरुसँग सहकार्य गर्दै उद्यान, नहर, पोखरी तथा पानीका मूल संरक्षण गर्न कार्यक्रम गरिने उल्लेख छ ।