आज सूर्य ग्रहण
गोरक्ष समाचारदाता
काठमाडौं, ६ असार । आज सूर्यग्रहण देखापर्ने भएको छ । सूर्यग्रहण नेपालमा विहान १०ः५५ देखि शुरु भएर अपराह्न २ः२४ बजे समाप्त हुने छ । मध्याह्न १२ः०४ बजे सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिने छ । सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।
लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवम् वाल्मीकी विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए । काठमाडौंबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ । यो ग्रहण वलय (पूरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ ।
ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उनले बताए । चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुनसक्छ ।
सूर्यग्रहण नाङ्गो आँखाले कहिल्यै पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्छ । धर्म शास्त्रानुसार सूर्यग्रहण मेष, सिंह, कन्या एवं मकर राशी भएका मानिसले मात्र हेर्न हुने समितिका सदस्य सचिव तथा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।
