फोहर गर्ने व्यक्तिको सूचना दिनेलाई पुरस्कार
बालाराम खड्का
तुलसीपुर, ६ असार । बजारको फोहर बाढीले बगाएर किसानको खेतबारीमा पु¥याउने समस्या रोक्न तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको नयाँ आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले फोहर गर्ने व्यक्तिको फोटो र भिडियो सहितको विवरण राखी जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने बताए ।
फोहर गर्ने व्यक्तिलाई आवश्यक कारवाही गरिनुका साथै फोहर गर्नेले मोहर तिर्नु पर्दछ भन्ने अवधारणा लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । टोल विकास संस्थालाई आफ्नो टोल आफै सफा राखौँ अभियानमा सहभागी गराउँदै ग्रिन तुलसीपुर, क्लिन तुलसीपुरलाई नगरका सबै क्षेत्रमा विस्तार गरिने बेवारिसे लाश र मरेका चौपायाहरुको तत्काल व्यवस्थापन गरिने नीति कार्यक्रमले बोलेको छ । फोहरमैला संकलन तथा सरसफाईमा खटिने कर्मचारीहरुको स्वास्थ्य परीक्षणलगायत अन्य सुरक्षा मापदण्ड अपनाइने र सरसफाई तथा फोहरमैला व्यवस्थापमा टोल विकास संस्था, निजी क्षेत्र, सहकारी र समुदायमा सहकार्य गरिने छ ।
यसैगरी उपमहानगरपालिकामा स्थायी ल्याण्डफिल साइट नहुँदा विभिन्न समयमा फोहर व्यवस्थापनमा आउने समस्यालाई समाधान गर्न नगरको फोहरलाई दीर्घकालीन व्यवस्थापन गर्न स्थायी ल्याण्डफिल साइटको व्यवस्था गरिने नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ । केही वर्ष पहिले उपमहानगरपालिकाले स्थायी ल्याण्डफिल साइटको लागि भन्दै तुलसीपुर–१३ फूलबारीमा जग्गा समेत खरिद गरेको थियो । सो जग्गा भने हालसम्म प्रयोगमा आउनसकेको छैन । फोहरलाई सेग्रिगेशन गरी दिगो आय आर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड, कार्यविधि तयार गरी निजी वा सहकारी क्षेत्रसँगको सहकार्यमा कार्य गरिने उल्लेख छ ।
हाल बजारमा फोहर संकलनका लागि डष्टविन नहुँदा बजारका विभिन्न स्थानमा जहाँ पायो त्यहीँ फोहर फाल्ने गरिएको छ । फोहरको वर्गीकरण नहुँदा उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा सबै किसिमको फोहर एकै ठाउँमा संकलन गर्ने गरिएको छ । दिसाजन्य फोहर व्यवस्थापनका लागि आवश्यक कार्य गरिने र ढल विकासका लागि संघ तथा प्रदेश सरकारसँग सहकार्य गरिने नीति उपमहागरले अघि सारेको छ ।
यसैगरी बजारमा प्लास्टिक झोलामा कडाई गरेको उपमहानगरपालिकाले नगर क्षेत्रभित्र २० माइक्रोनभन्दा कमको प्लास्टिक झोला प्रयोगमा निषेध गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस अघि सो अभियान अन्तर्गत विभिन्न समयमा अनुगमन तथा प्लास्टिक झोला निषेध गर्ने भन्दै उपमहानगरपालिकाले कडाई गरे पनि त्यसको कार्यान्वयन हुनसकेको छैन ।
