कोरोनाको कहर : अन्य रोगीको उपचार निजीमा
इन्द्र/खेमराज
दाङ, ६ असार । जिल्लामा कोरोना संक्रमित थपिएसँगै उपचारलाई थप प्रभावकारी बनाएर लैजाने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शनिवार जिल्लाका निजी अस्पताल सञ्चालकसँग गरेको छलफलमा कोरोनाका संक्रमित सरकारी स्वास्थ्य संस्थामा राख्ने र अन्य विरामीलाई निजी स्वास्थ्य संस्थामा राखेर उपचार गरिने समझदारी भएको हो । यो समझदारीसँगै अबदेखि दाङमा कोरोना संक्रमितलाई सरकारी स्वास्थ्य संस्थामा राखिने र अन्य रोगका विरामीलाई निजीमा राखेर उपचार सेवा प्रदान गरिने छ ।
शुक्रवारमात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सहित ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । संक्रमण पुष्टिसँगै प्रतिष्ठानले दुई दिनको लागि अस्पतालका सबै सेवा बन्द गरेको छ । शुक्रवारसम्म जिल्लामा २ सय ६० जनामा कोरोना पुष्टि भएको छ । त्योमध्ये केही कोरोना जितेर घर फर्किसकेका छन् । निजी अस्पतालसँग भएको छलफलमा कोरोना बाहेक विरामीलाई सर्वशुलभ रुपमा उपचार सेवा दिन आग्रह गरेकोमा उनीहरु त्यो सेवा दिन तयार भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
‘छलफलमा हामीले त्यो प्रस्ताव राखेको थियौँ, उहाँहरुले त्यो स्वीकार गर्नुभएको छ’–प्रमुख जिल्ला अधिकारी रिजालले भने–‘अब त्यो अनुसार नै व्यवस्थापन गरिने छ ।’ कोरोना संक्रमित संख्या बढ्ने अनुमानसँगै निजी स्वास्थ्य सस्थासँग सहकार्यको लागि छलफल राखिएको हो । ‘परीक्षणको दर बढाउने काम भएको छ, अब कोरोनाका संक्रमित पनि बढेर जाने छन, त्यो अनरुप व्यवस्थापन गर्न र अन्य रोगका विरामीको उपचारलाई सहज र सर्वशुलभ बनाउन प्रयासरत गरेका छौँ’–प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘त्यसको लागि निजी स्वास्थ्य संस्थासँग समन्वय र सहकार्य भएको हो ।’
जिल्लामा कोरोना परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या समेत बढ्दै गएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणको काम भइराखेको छ । स्वाब संकलन गरेकामध्ये अझै ३ हजार ९ सय ४३ जनाको रिपोर्ट प्रक्रियामै छ । प्रतिष्ठानमा शुक्रवारसम्म १२ हजार ९ सय ७७ जनाको स्वाब संकलन भएको छ । त्यो मध्ये ९ हजार ३४ जनाको परीक्षण सकिएको छ । परीक्षण भएकोमा ३ सय ८५ जना कोरोना पोजिट पुष्टि भएको छ भने ८ हजार ६ सय ४९ जनाको स्वाब परीक्षणमा कोरोना नेगेटिभ छ ।
प्राइभेट अस्पतालको छाता संस्था प्रदेश नं. ५ का सदस्य तथा गोरखा अस्पतालका प्रशासन प्रमुख दिनेश आचार्यले पनि कोरोना बाहेकका अन्य विरामीको उपचार निजी स्वास्थ्य संस्थामा राखेर उपचार गर्ने सहमति भएको बताए । ‘हामीले आप्mना समस्या राख्यौँ उहाँहरुले पनि राख्नु भयो, कोरोना बाहेक अन्य विरामी निजीमा राखेर सर्वशुलभ रुपमा स्वास्थ्य सेवा दिने सहमति भएको छ’–उनले भने–‘त्यो अनरुप निजीले सेवा दिने छन् ।’ कोरोना संक्रमितको उपचारको लागि जिल्लामा कोरोना विशेष अस्पताल छ । यसैगरेर पालिकाहरुले समेत आइसोलेशन सेण्टर निर्माण गरेर संक्रमितको उपचार गरिराखेका छन् । घोराहीको दक्षिण अमराई, देउखुरी क्षेत्रको राप्ती प्राविधिक शिक्षालय, बंगलाचुलीमा स्थानीय तहले आइसोलेशन सेण्टर स्थापना गरेर संक्रमितको उपचार गराउँदै आएका छन् । तर निर्माण भएका आइसोलेशन सेण्टर अपर्याप्त हुनसक्ने भन्दै अब सबै सरकारी स्वास्थ्य संस्थाहरुमा कोरोनाका संक्रमितको उपचारको व्यवस्था मिलाउन तयारी थालिएको छ ।
प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमाम कार्यरत चार जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले दुई दिनका लागि अस्पताल बन्द गर्ने निर्णय गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले बताए ।
